सेबोन र नेप्सेबीच द्वन्द्वको मारमा ब्रोकर कम्पनी, लाइसेन्स पाए तर कारोबार गर्न पाएनन्
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर कम्पनीहरुलाई धमाधम इजाजत पत्र प्रदान गरिरहेको छ । सेबोनले जेठ ८ गते ७ वटा कम्पनीलाई र जेठ २२ गते ११ वटा कम्पनीलाई गरी १८ वटा कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स दिएको हो । धितोपत्र बोर्डले पहिलो चरणमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालय ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टि विजार्ड कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल (ब्रोकर)को अनुमति दिएको थियो । बोर्डबाट अनुमति पाएको तीन सातासम्म यी कम्पनीहरुले सेयर किनबेचको काम गर्न पाएका छैनन् । यस्तै, दोस्रो चरणमा बोर्डले एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज, के.वि.एल. सेक्यूरिटिज, कलश स्टक मार्केट, मेघा स्टक मार्केट्स र नबिल सेक्युरिटिजलाई लाइसेन्स प्रदान गरेको हो । बोर्डबाट गत जेठ ८ गते अनुमति पाएका यी कम्पनीले जेठ ९ गते नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) सदस्यताका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निवेदन पेश गरेका थिए । तर, नेप्सेले ३ सातासम्म नयाँ सेयर ब्रोकरको लागि टिएमएसमा पहुँच नदिँदा व्यवसायिक कारोबार हुन नसकेको व्यवसायीहरु बताउँछन् । सेवोन र नेप्सेका उच्च अधिकारीहरुबीचको द्वन्द्व र स्वार्थ समूहहरुको प्रभावका कारण नेप्सेले नयाँ कम्पनीहरुलाई कारोबार पहुँच दिन ढिलासुस्ती गरिरहेको जानकारहरु बताउँछन् । सेबोनले नयाँ स्टक एक्स्चेञ्जलाई लाइसेन्स दिने प्रक्रिया थालेपछि नेप्से र सेबोनबीच सम्बन्धमा दरार आएको थियो । पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स प्रक्रिया भने स्थगित भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरलाई लाइसेन्स दिँदा अपनाएको विधि र प्रक्रियाहरु नेप्सेले पुरै दोहोर्याएकोले पनि समस्या सिर्जना भएको व्यवसायीहरुको गुनासो छ । लगानीकर्ताको तीन पुस्ते विवरण लिने, कालोसूचिमा नपरको प्रमाण पुनः माग्ने, कर चुक्ता प्रमाणपत्र देखि लगानीकर्ताहरुको आयको स्रोतको वितरण माग गर्ने, कम्पनीहरुको पूर्वाधार अवलोकन गर्ने, जनशक्तिको वितवरण माग गर्ने लगायत नेपाल धितोपत्र बोर्डले सम्पन्न गरेका काममा नेप्सेले पुन हात हालेकोले प्रक्रिया लम्बिदै गएको उनीहरुको भनाई छ । कम्पनीहरुले नियम अनुसारको शुल्कसहित नेप्सेमा निवेदन बुझाउने काम भैरहेको र उनीहरुको निवेदन उपर काम कारवाही भैरहेको नेप्सेका अधिकारीहरुले बताएका छन् । ‘नेप्सेले पूर्वाधार तयार पार्नका लागि समय दिएको छ । नयाँ ब्रोकर कम्पनीले पूर्वाधारको काम जति छिटो सम्पन्न गर्यो त्यति नै छिटो कारोबार गर्न पनि पाउनेछन्,’ नेप्सेका एक कर्मचारीले भने । धितोपत्र बोर्डबाट नियमावली बमोजिम लाइसेन्स वितरण प्रक्रिया सम्पन्न भएपनि नेप्सेले टेक्लिनकल पार्टहरु निरीक्षण गर्नु पर्ने उनको भनाई छ । विगतमा ब्रोकर लाइसेन्स वितरण गर्दा नेप्से स्वयमले प्रक्रिया अघि बढाउने गरेको थियो । तर, यस पटक नेप्सेको अधिकार खोसेर सेबोनले लाइसेन्स वितरण गरेको हुँदा नेप्सेले पुनः आफ्नो भूमिका खेल्न खोजेको हुन सक्ने एलिट स्टक हाउसका लगानीकर्ता दिनेश आचार्यले बताउँछन् । सेबोनले अनुमति दिइसकेपछि नेप्सेले कारोबार गर्ने प्रक्रिया मात्रै मिलाउनु पर्ने आचार्य बताउँछन् । ‘नेप्सेले पूर्वाधार निरीक्षण गरेर सदस्यता दिने भनिरहेको छ, धितोपत्र बोर्डले निरीक्षण गरेको हुँदा नेप्सेले गर्न जरुरी छैन, सबैले आफ्नो भूमिका खोजिरहेका छन्, सबै काममा म पनि संलग्न हुनुपर्छ भन्ने सोच राखेका छन्,’ उनले भने, ‘यसले व्यवसायीको लागत बढाउने मात्र हो, समय लम्बिने मात्र हो, फाइदा कसैलाई पनि छैन ।’ धितोपत्र बोर्डको कानुनी प्रक्रिया पुर्याएर लाइसेन्स दिए जस्तै नेप्सेले टेक्निकल प्रक्रिया गर्न लागेकोले केही समय ढिला भएको हुन सक्ने क्यापिटल म्याक्स सेक्युरिटिजका लगानीकर्ता अतित लाल श्रेष्ठ बताउँछन् । नयाँ ब्रोकरहरुले कारोबार थाल्न अझै १५/२० दिन लाग्न सक्ने उनको अनुमान छ । ‘सरकारी काम कस्तो हुन्छ भन्ने सबैले देखेकै छन्, तैपनि उहाँहरुले गरिरहनु भएको छ, सरकारी संस्था धितोपत्र बोर्ड जस्तै प्रभावकारी ढंगबाट नेप्सेले काम गर्न सकेको छैन,’ उनले भने । उनका अनुसार सर्भर राख्न समय लाग्छ । सर्भर जडान गरेपछि डाटाहरु राखेको मिल्यो कि मिलेन भनेर हेर्नुपर्छ । ग्राहकहरुको गुनासो नआउने गरी काम भइरहेको उनले बताए । डेमो टेस्टिङ गरेर सबै तयार भएपछि मात्रै कारोबार खुला गर्दा समस्या नहुने उनले बताए । सन सेक्युरिटिजका लगानीकर्ता कृष्ण गिरीले नेप्सेको सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेका कारण निणर्य हुन नसकेको आफूले सुनेको बताए । ‘कर्मचारीले नै टेक्निकल विषय निरीक्षण गर्ने हो, सञ्चालक समितिले स्वीकृत मात्रै दिने हो, नेप्सेले सदस्यता दिँदैन भन्न मिल्दैन तर समय लगाउन सक्छ,’ उनले भने । नेप्से स्रोतका अनुसार अध्यक्ष नभएर सदस्यता वितरण प्रक्रिया रोकिएको होइन । ‘सदस्यता दिँदा सञ्चालक समितिले पास गरिदिनुपर्छ, सञ्चालक समितिमा पुग्ने गरी उनीहरुले प्रमाणहरु दिन सकेका छैनन्, ब्रोकर कम्पनीहरुले नै प्रमाणहरु ल्याउन सकेका छैनन्, सात वटै कम्पनीले पेश गरेको कुमेन्ट पुरा आएको छैन,’ उनले भने, ‘बाँकी कागजपत्र ल्याएर आउनु भनेर लेखेर पठाएका छौं, उनीहरुले त्यो डकुमेन्ट ल्याउने क्रममा छन्, यदि नेप्सेले प्रक्रिया रोकेको छ भनेर आरोप लगाएका छन् भने के प्रक्रिया रोकेको छ भनेर म आफैं सोध्छु ।’ स्रोतका अनुसार ब्रोकर कम्पनीहरुले टेक्निकल विषयसँग सम्बन्धित कागजहरु र सर्भर, फायरप्रुफवाल, कनेक्टिभिटी, इन्टरनेटदेखि सबै कुराहरु निर्माण गरेका छैनन् । नेप्सेले दिएको चिठी अनुसार उनीहरुले पूर्वाधार तयार गर्नु पर्ने उनले बताए । ‘उहाँहरुले भटाभट डकुमेन्ट ल्याउनु भयो भने हामी नि छिट्टै एलओई दिन्छौ, त्यसपछि पूर्वाधार तयार गर्नु भयो भने सदस्यता दिन्छौं, सेबोनले जसरी काम गरेको थियो, त्यसरी नै नेप्सेले काम गरेको छ,’ उनले भने, ‘सेबोनले लाइसेन्स दिएपछि हामीले कार्यान्वयन गर्नुपर्छ, ब्रोकर लाइसेन्स दिनु बजारको माग नै हो, नियामकले दिइसकेपछि हामीले रोक्ने अधिकार छैन ।’
धितोपत्र बोर्डले पूँजी बजारसँग सम्बन्धित शैक्षिक संस्था सञ्चालन गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकास र विस्तारका लागि क्यापिटल मार्केट ईन्स्टिच्युट सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले वित्तीय साक्षरता प्रदान गर्नका लागि शैक्षिक संस्था सञ्चालन गर्ने बताएका हुन् । ‘कर्मचारीको क्षमता वृद्धि विकास गर्न जरुरी छ, आगामी वर्ष पनि कर्मचारीको सेवा सुविधा अझै वृद्धि गर्नु पर्नेछ, वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट ईन्स्टिच्युट संचालन गर्ने तयारी छ, अर्थमन्त्रीज्यूले यसमा सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गरेको छुँ,’ उनले भने, ‘धितोपत्र बोर्डलाई पेपर लेस बनाउन डिजिटल प्रणालीलाई जोड दिइएको छ ।’ लगानीकर्ताको विश्वास कायम गर्न नियामक निकायलाई बलियो संस्थाका रुपमा उभ्याउने उनले बताए । अध्यक्ष हमालले अबको दुई महिनाभित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउने बताए । ‘बैंकका सहायक कम्पनीसहित १८ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन्, अहिले ६८ वटा ब्रोकर संख्या पुगेको छ, अबको २ वर्ष भित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउनेछन्,’ उनले भने । एक वर्षको अवधिमा उल्लेख्य काम गरेको भएपनि सोचेअनुरुप हुन नसकेको उनले बताए । साथै, डेढ लाखभन्दा बढी वैदेशिक रोजगारमा रहेका नेपाली पूँजी बजारमा आवद्ध भएको उनको भनाइ छ । वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिएपछि डेढ लाखभन्दा बढी आवद्ध भएका छन्, वैदेशिक रोजगारमा रहेका नेपालीहरु पनि पूँजी बजारमा आवद्ध हुने क्रम जारी छ, रेमिट्यान्स पनि उल्लेख्य बढेको छ,’ उनले भने । प्राइभेट इक्वीटी र भेन्चर क्यापिटललाई छिट्टै कार्यान्वनमा आउने उनको भनाइ छ । जसले स्टार्टअपले बिना धितो कर्जा पाउने प्ल्याटफर्मको सुरुवात हुने उनले बताए ।
अर्थमन्त्री भन्छन् : बैंकमा भन्दा सेयरमा लगानी गर्नु फाइदा, ठूलाले चलखेल गरे
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकमाभन्दा सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुने बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बचतकर्ताले बैंकमा पैसा राख्नुभन्दा सेयर बजारमा लगानी गर्दा फाइदा हुने बताएका हुन् । सेयर बजारलाई स्वस्थ्य बनाउन नेपाल राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ छ । ‘आम लगानीकर्ताको बैंकमा भन्दा सेयर बजारमा लगानी गर्दा अलिकति फाइदा हुन्छ की भनेर लगानी गरेका हुन्छन्, लगानीकर्ताहरुले पेट कटाएर (खाना नखाई) आम्दानी हुन्छ भनेर लगानी गरेका हुन्छन्,’ उनले भने, ‘सेयर बजार आम लगानीकर्ताको लागि हुनु पर्छ, बजारको विकासका लागि पनि राष्ट्र बैंकले पनि भूमिका निर्वाह गर्नु पर्छ ।’ उनले सेयर बजार प्रतिको विश्वास कम गराउने काम आफूहरुबाट नहुने बताए । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको भएपनि सीमित व्यक्तिहरुले चलखेल गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार रियल सेक्टरका उद्योगहरुलाई सेयर बजारमा ल्याउन जरुरी छ । ‘सीमित व्यक्तिहरुले बजारमा चलखेल गर्ने र उनीहरुको स्वार्थ अनुसार नै बजार तलमाथि भईरहेको छ, यसलाई तत्काल रोक्नु पर्छ,’ उनले भने, ‘बजारमा धेरै सक्रिय र बिज्ञ लगानीकर्ताहरुले सबै लगानीकर्तालाई करको दायरमा ल्याउँछ भनेर करका बिषयमा गलत प्रचार गरे, करको गलत ब्याख्या गरेर सीमित ब्यक्तिहरुले फाइदा लिए ।’ उनले ५६ लाख लगानीकर्तालाई देखाएर सीमित व्यक्तिले फाइदा लिने काम बन्द हुनु पर्ने धारणा राखे । अर्थमन्त्री डा. महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताए । उनका अनुसार सेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण रहेकाले बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ‘पुँजी बजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी हो, उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्ने छ र अझ उचाइमा पुर्याउने छ,’ उनले भने । सेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने उनले बताए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउन होइन । यस विषयमा सीमित गानीकर्ताहरुले गलत हल्ला चलाएको उनको भनाइ छ । ‘सेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न हुँदैन, पूँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरुको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी हो,’ उनले भने ।