भूगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको आईपीओमा आज आवेदन दिने अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन ८ गतेदेखि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानियहरुका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख (नौमुले द्वारी ३ बाहेक)का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म लगानीकर्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिँदा प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क लाग्नेछ ।
२२ अंकले बढ्यो सेयर बजार, युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट
काठमाडौं । सोमबार सेयर बजार २२.६५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार बढेर १९४९.०६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज पनि युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको प्रति सेयर मूल्य १७६.४० रुपैयाँले बढेर अन्तिम मूल्य १९४१ रुपैयाँ कायम भएको छ । आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरधनीले प्रतिसेयर ५१ रुपैयाँ गुमाएका हुन् । कम्पनीको सोमबारको अन्तिम सेयर मूल्य ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, नेप्सेको अनुसार आज सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्सले ७ करोड ६३ लाख रुपैयाँको गरेको छ ।
सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सकिन्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतना मुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृति रहेको बताए । उनले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने दाबी गरे । गभर्नर अधिकारी मानिसहरुसँग भएको रकम बचत नगरे पनि खर्च हुने भएको भन्दै बचत गर्न अनिवार्य रहेको बताउँछन् । ‘राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट कमजोर छ,’ उनले भने । त्यस्तै, गनर्भर अधिकारीले सेयरमा लगानी गर्नुपनि बचत भएको भन्दै सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताए । उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताए । आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस् भन्ने नारासहित सोमवारदेखि ग्लोबल मनी विक–२०२३ शुरु भएको छ । ग्लोवल मनी विकको यो एघारौं संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका कामु रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारीलगायतको उपस्थिति थियो । चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामुलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोवल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् । यसैगरी, निजी विद्यालयका छाता सङ्गठनलाई समेत विद्यालयस्तरमा वित्तीय चेतनामुलक कार्यक्रम सञ्चालनको निम्ति अनुरोध गरिएको छ । यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच बिस्तार भई स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।