नेशनल लाइफको सेयर बेचेर बाहिरिँदै ३ संस्थापक सेयरधनी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको विभिन्न सेयरधनीहरूको ८ लाख ६४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टको १ लाख ३१ हजार ९८२ कित्ता, स्वदेशी सेक्युरीटिज एण्ड इभ्नेष्टमेन्टको १५ हजार ९४५ कित्ता गरी कूल ८ लाख ६४ हजार ५५ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर खरिदका लागि विद्यमान संस्थाप सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन पर्नेछ । यदि उक्त समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले बताएको छ ।

सिउरी न्यादीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । सिउरी न्यादी पावरले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी माघ २२ गते दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता–पत्रमा सिउरी न्यादी पावरका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । हाल अधिकृत तथा जारी पूँजी ६ अर्ब १९ करोड ६० लाख रुपैयाँ उक्त हाइड्रोपावरले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्दै छ । कम्पनीले प्रतिअंकित मूल्य एक सय रुपैयाँ दरका ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने छ । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँले बताएका छन् । ४०.२७ मेगावटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भइसकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार कम्पनीले चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।