संखुवासभा पावरले आईपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता
काठमाडौं । संखुवासभा पावर डेभलपमेण्टले आईपीओ जारी गर्ने भएको छ । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनी र एनआईसी एशिया क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्जयालले हस्ताक्षर गरेका छन् । क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत काठमाण्डौ महानगरपालिका, पेप्सीकोला, काठमाडौंमा रजिष्ट्रार कार्यालय रहेको संखुवासभा डेभलपमेण्ट कम्पनीलाई क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित संखुवासभा पावर डेभलपमेण्टलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर आईपीओ निष्कासन गर्न एनआईसी एशिया क्यापिटल र संखुवासभा पावर डेभलपमेण्ट कम्पनीबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो । कम्पनीका अनुसार संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले जारी पूँजीको २५ प्रतिशत सेयर अर्थात १०० रूपैयाँ अंकित दरका २५,५०,००० कित्ता साधारण सेयर निकट भविष्यमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ ।
पुँजी पुर्याउन ४२ प्रतिशत हकप्रद जारी गर्दै एशियन लाइफ इन्स्योरेन्स
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजी ५ अर्ब पुर्याउन लाभांश पश्चात ४२ प्रतिशत अर्थात एक बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । माघ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि अर्थात माघ १२ गते मात्रै बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनससहित ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त ७.७५ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ कायम हुन्छ । उक्त पुँजीको ४२ प्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ ।
सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।