१ अर्बको कुमारी सबल योजना आजदेखि बिक्री खुला
काठमाडौं । कुमारी क्यापिटलले आज माघ २८ गतेदेखि कुमारी सबल योजना नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन १ अर्ब रुपैयाँको १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटल, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पर्याप्त आवेदन परेन भने फागुन १३ गतेसम्म आवेदन समय लम्बिनेछ । लगानीकर्ताहरूले फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन सक्ने छन् । फण्डको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
महुली लघुवित्तले लाभांश नदिने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
सन सेक्युरिटिजले युनिग्लोब स्कुलका विद्यार्थीलाई सेयरबजारको ज्ञान दिने
काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता भएको छ । वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि दुई कम्पनीबीच शुक्रबार एक सम्झौता भएको हो । सन नलेज पार्टनरशिप कार्यक्रम अन्तरगत भएको उक्त सम्झौतामा सन सेक्युरिटिज प्रालिले युनिग्लोब कलेज अन्तरगत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ । यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानी सँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ । सम्झौता अन्तरगत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । साथै कलेजसँगको समन्वयमा १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयुक्र्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्ने कम्पनीले जनाएकाे छ । सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मीले हस्ताक्षर गरेका थिए भने सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा बोल्दै सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले कम्पनीको कार्यक्रमल विद्यालय तहबाटै विद्यार्थीहरुलाई नेपालको सेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोशिश गरेको र यस्तो किसिमको कार्यक्रमले भविष्यमा पूँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने बताए । उनले उक्त कार्यक्रमले दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरु वृद्धि हुने तथा यसले समग्र पूँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।