सेयर कारोबार गर्न लगानीकर्ता परिपक्व छन् : सीईओ आचार्य
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले सेयर बजारका लगानीकर्ता परिपक्व रहेका बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बजारमा २० देखि ६० वर्ष उमेर समूहका लगानीकर्ता सक्रिय छन्, त्यसैले कारोबार गर्न लगानीकर्ता परिपक्व छन्, उनले भने । त्यस्तै, बजार हरियाली हुँदा डिम्याट खाता खोल्नेको संख्या बढेको बताउँदै उनले अन्य प्रदेशको तुलनामा बागमतीमा लगानीकर्ताको संख्या बढी रहेको समेत जानकारी गराए । गुणस्तरीय सेवा दिए पुँजी बजारको भविष्य उज्वल रहेको बताउँदै सीईओ आचार्यले बजारमा स्टक डिलरको संख्या अझै बढाउनुपर्ने आवश्यकता औल्याए ।
१० कित्ते नीति खारेज हुँदैन, अब दीर्घकालीन निर्णय लिन्छु : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आईपीओमा दिँदै आइएको १० कित्ता सेयरको नीति खारेज नहुने स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त नीतिमा पुनरावलोकन हुन सक्ने तर खारेज नहुने स्पष्ट पाएका हुन् । ‘आईपीओमा १० कित्ता नीतिका सकारात्मक र नकारात्मक पक्षका बारेमा अध्ययन गरिनेछ, अध्ययनले जे देखाउँछ सोही निर्णय गरिनेछ, तर यो खारेज हुँदैन, उनले भने । उनले नियामक निकायको निर्देशन बमोजिम काम गर्न पुँजीबजारका सरोकारवालाहरुलाई आग्रह गरेका छन् । पुँजी बजारसङ्ग सम्बन्धित सबै कम्पनीको सबै त्रैमासिक तथा वार्षिक रिपोर्ट समयमै पेश गर्नुपर्ने बताउँदै उनले भने- ‘हाम्रो काम गर्ने प्रणालीमा बदलाब ल्याउन जरुरी छ ।’ त्यस्तै, हालै बोर्डले लकिङ पिरियडसङ्ग सम्बन्धि जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । यसले लगानीकर्तालाई सहज हुनेछ । यसअघि सेयर बजारका लगानीकर्ताहरु पुँजी बजारको सूचनाबाट बञ्चित भएका बताउँदै अध्यक्ष हमालले अब लकिङ पिरियड अवधिको बारेमा जानकारी दिएपछि लगानीकर्ता सजग हुने र यो व्यवस्थाले बजारमा कति भोलुम हुन्छ भन्ने जानकारी गराउने समेत उनले बताए । त्यस्तै, आफ्नो कार्यकालमा विभिन्न व्यवस्थामा पुनरावलोकन भएको बताउँदै अध्यक्ष हमालले आफ्नो फाइदाको लागि नभई बजारको लागि काम गरेको जिकिर गरेका छन् । आफ्नो कार्यकालमा आईपीओ, बजार संचालन गर्ने कस्टडी, सुशासन लगायतका विभिन्न ५ वटा काम गर्ने उनको लक्ष्य छ । साथै, उनले अध्यक्षबाट बिदा भएर जानु भन्दाअघि दीर्घकालीन वा महत्वपूर्ण निर्णय गर्ने बताउँदै उनले त्यसमा सबैको सहयोगको अपेक्षा गरेका छन् । बोर्डको निर्देशनअनुसार काम नगर्ने कम्पनीहरुलाई तत्काल कारबाही गर्ने मनसायमा आफू रहेको उनको भनाई छ । ‘३० वर्षको अवधिमा ८८ वटा कम्पनीलाई कारबाही गरें । एकैपटक यति धेरै कम्पनीलाई कारबाही गरेको यो पहिलो पटक हो । आगामी दिनमा पनि वित्तीय विवरण पठाउन ढिला गर्ने कम्पनी स्वतः कारबाहीमा पर्नेछन्,’ अध्यक्ष हमालले भने ।
नबिल स्टक डिलर नाफामा होइन गुणस्तरीय सेवामा फोकस हुन्छ : अध्यक्ष पौडेल
काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडलले नयाँ स्टक डिलर नाफामा मात्र केन्द्रीत नहुने बताएका छन् । बैंकको सहायक कम्पनी नबिल स्टक डिलरको उद्घाटनको क्रममा बोल्दै अध्यक्ष पौडेलले सो बताएका हुन् । ‘स्टक डिलरले नाफा कमाउन मात्रै काम गर्ने छैन, सेवामा गुणस्तर गर्नेछ,’ उनले भने । उनका अनुसार नबिल स्टक डिलरले पुँजी बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउन भूमिका निर्वाह गर्ने छ । त्यसको लागि बोर्डको साथ सहयोगको आवश्यक पर्ने उनको भनाई छ । ‘बोर्डसङ्ग हातेमालो गरेर अघि बढ्न तयार छौं, हामीलाई अफ्ट्यारो परेको बेलामा सहयोग गर्न नियामक तयार हुनुपर्छ,’ अध्यक्ष पौडेलले भने । त्यसैगरी, पुँजी बजारको दायरालाई फराकिलो बनाउन गरिएको माग विस्तारै पूर्ति हुँदै गएका छन् । ‘पुँजीबजार धेरै सेन्सेटिभ छ, सानो घटनाले पनि असर गरिरहेको छ, पोर्टफोलियो म्यानेजमेन्ट र एडभाइजरी सेवालाई प्रभावकारी बनाउनुपर्छ, आफ्नो अनुभव सुनाउँदै उनले भने मेरो अनुभव पुँजी बजारका एक्टर वा लगानीकर्तालाई सबै सूचनाको जानकारी हुनुपर्छ तर, कहिलेकाहीँ त्यो अभाव भएको देखिन्छ । त्यस्तै, उनले पुँजी बजारसङ्ग सम्बन्धित कम्पनीले स्वार्थमा लागेर नचाहिने सूचना प्रवाह नगर्न समेत उनले आग्रह गरेका छन् ।