सेयर बजार राताम्मे, दुई हजारको बिन्दुबाट झर्यो नेप्से परिसूचक

काठमाडौं । विगत चार दिनदेखि यता सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजारको बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पौने तीन अर्बको कारोबार भएको बजारमा मंगलबार भने २ अर्ब १० करोडमा सीमित भएको छ । ३१२ वटा स्क्रीप्स कारोबार भएको बजारमा सबैभन्दा बढी गोर्खाज फाइनान्सको सेयर किनबेच भएको छ । फाइनान्सको मंगलबार मात्रै १७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि करिब १० प्रतिशत अर्थात ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ९०५ रुपैयाँ पुगेको छ । घटेको बजारमा गोर्खाज फाइनान्ससहित एसबिएलको ऋणपत्रमा सर्किट लागेको छ । १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिथान ११५५ रुपैयाँ पुगेको छ । बजारमा रुरु जलविद्युत परियोजनाको भने सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५६०.७० रुपैयाँमा झरेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् ।

प्रभु केबलकारले आईपीओ जारी गर्ने, अघि बढाउँदै थप तीन परियोजना

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजमले सार्वजनिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारीका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्न कम्पनीले शिलबन्दी बोलपत्र माग गरेको छ । बैशाख ४ गते एक सूचना जारी गर्दै कम्पनीले योग्य कम्पनी तथा संस्थाहरुलाई ४५ कार्यदिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो । उक्त मूल्य बिक्री प्रबन्धकले नै प्रस्ताव गर्ने छ । कम्पनी ऐन २०६३ द्धारा सार्वजनिक कम्पनीको रुपमा स्थापना भएको कम्पनीले केबलकार परियोजना र पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको छ । हाल कम्पनीले विभिन्न तीन वटा केबलकार परियोजनालाई अघि बढाएको छ । कम्पनीले रुपन्देहीमा सिद्धार्थ केबलकार, रामेछापमा खाँडादेवी केबलकार र सिन्धुलीमा सिद्धबाबा केबलकारको परियोजनामा काम गरिरहेको छ । जसमध्ये रुपन्देहीको सिद्धार्थ केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ भने बाँकी दुई परियोजनाको काम शुरुवाती चरणमा रहेको कम्पनीले जानकारी गराएको छ । प्रभु ग्रुप र कम्पनीका सहायक कम्पनी प्रभु केबलकारको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । जसमा प्रभु होल्डिङ एण्ड हाइड्रो डभेलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, प्रभु जलविद्युत विकासको ९.८ प्रतिशत र प्रभु उर्जा कृषि प्राधिकरण विकासको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । आईपीओ जारी पश्चात कम्पनीको कम्तिमा ७० प्रतिशत सेयर प्रभु सेयर र कम्पनीको हुने छ । साथै, यस कम्पनीले आफ्ना सेयरधनीहरुलाई संस्थागत सुशासन सुनिश्चित गर्न र आफ्ना लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिन निरन्तर काम गरिरहेको छ । काठमाडौंको तिनकुनेमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीमा प्रभु ग्रुप र कम्पनीका प्रतिनिधिमात्र सञ्चालक छन् । अध्यक्षमा भोज कुमार खड्का, सञ्चालकमा इञ्जिनियर धुव्रकुमार पोखरेल, लक्ष्मी पौडेल, रमेशप्रसाद सापकोटा, आरती थापा र कम्पनी सचिवमा सुजेन्द्र कुमार ठकुरी रहेका छन् । इञ्जिनियर पोखरेल स्वतन्त्र सञ्चालक हुन् भने अन्य सञ्चालकहरु प्रभु ग्रुप र कम्पनीका प्रतिनिधिहरु हुन् ।

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ । प्रस्तावित ४.७५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४१ करोड नाघ्ने छ ।