रुरु जलविद्युतको ४४ करोड ४४ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको लकइन अवधि आज सकिँदै छ। कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ४४ करोड कित्ता बढी सेयरको लकइन अवधि आज सकिन लागेको हो । कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर, ४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि आजदेखि सकिन लागेको हो । कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको सेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो ।
अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आईतबार एनएमबि क्यापिटल लिमिटेडको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ । कम्पनीले साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने चिफ फाइनान्सिएल अफिसर राजु पौडेलले बताएका छन् ।
सेयर बजारमा सामान्य गिरावट
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३५ अंकले ओरालो लागेर दुई हजार २३.३५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अंकले उकालो लागेर तीन सय ५८.२० मा पुगेको छ । विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता सेयर तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ रुपैयाँ मूल्यमा कारोबार भएको छ । कारोबार भएकामध्ये आज एक सय २७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । यस्तै, एक सय आठ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । साथै एनआइसी एशिया लघुवित्तको सेयर मूल्य ९.७२, डोल्टी पावर कम्पनी ९.३५, राप्ती हाइड्रोपावर ९.२३ र मिथिला लघुवित्तको सेयर मूल्य ८.७० प्रतिशत बढेको छ । आजको कारोारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै हिमालयन बैंकको सामूहिक लगानी कोष ४.४१, तेह्रथुम पावर कम्पनी ४.३८, तारागाउँ रिजेन्सी होटल ३.९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको सेयर मूल्य ३.९१ प्रतिशतले घटेको छ ।