लामिछाने पक्राउ विरुद्धको आन्दोलनले सेयर बजारमा गिरावट, ८ अर्ब बढीको कारोबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि देशभर आन्दोलन चर्किँदा त्यसको प्रभाव पुँजी बजारमा परेको छ । दशैंपछि निरन्तर उकालो लागेको पुँजी बजार आज भने भारी अंकले गिरावट आएको लगानीकर्ताहरू बताउँछन् । लामिछाने पक्राउ पर्नु पुँजी बजारसँग सम्बन्धित विषय नभएपनि लगानीकर्तामा भने त्यसको नकारात्मक प्रभाव रहेको लगानीकर्ताहरूको भनाइ छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७२ प्रतिशत अर्थात् ४७.४४ अंकले घटेर १ हजार ६९७.९१ अंकमा बन्द भएको छ । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि सेयर बजार राताम्य छाएको छ । आज दिनभरिमा ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार कित्ता सेयर ८८ हजार ७१४ पटक खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार २२६ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात् ९७.३० अंक घटेर ८७५.७० रुपैयाँमा झरेको छ । यस्तै, गुडविल फाइनान्सको ८.४१ प्रतिशत अर्थात् १००.९० रुपैयाँ घटेर १ हजार ९९ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । तर, आज १८ कम्पनीको सेयर मूल्य भने बढेको देखिन्छ । भारी अंकले गिरावट आएको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् २०९.९० रुपैयाँ बढेर २ हजार ३०८.९० रुपैयाँ पुगेको छ । यस्तै, न्यादी ग्रुप पावर कम्पनीको ९.८९ प्रतिशत अर्थात् ४७ रुपैयाँ बढेर ५२२ रुपैयाँ पुगेको छ । आज गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्याङ्क छ । आइतबार बैंकिङ समूह १.०२ प्रतिशत, विकास बैंक समूह २.३४ प्रतिशत, फाइनान्स समूह ४ प्रतिशत, होटल तथा पर्यटन समूह २.२३ प्रतिशत, जलविद्युत समूह २.१४ प्रतिशत, लगानी समूह १.८९ प्रतिशत, जीवन बीमा समूह २.४६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.०५ प्रतिशत, लघुवित्त समूह १.५२ प्रतिशत, निर्जीवन बीमा समूह १.५२ प्रतिशत, अन्य समूह १.५० प्रतिशत र व्यापार समूह १.८६ प्रतिशत घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।

समता घरेलुको एफपीओ कात्तिक १२ गतेदेखि, पुँजी ५९.९० करोड रुपैयाँ पुग्ने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर जारी गर्ने भएको हो । साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयरका लागि सर्वसाधारणका लागि एफपीओ जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् लघुवित्तको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवदिभित्र पूर्ण आवेदन नपरेमा आवेदन दिने समय कात्तिक २६ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । एफपीओ निष्काशन प्रयोजनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस सेयरपछि पुँजी एक अर्ब नाघ्दै

काठमाडाैँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको लाभांश घोषणा गरेको हो । समितिले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसैगरी, ०.५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीको हाल ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनस सेयरपछि यस लघुवित्तको पुँजी एक अर्ब नाघ्ने भएको छ । उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ ।