श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समिति निर्णयअनुसार सभा काठमाडौं बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा २ बजे देखि सुरु हुनेछ । सभाले सर्वसाधारणका लागि छुट्याइएको आईपीओ निष्कासन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिएको हो । कम्पनीको यो सेयर चैत ८ गतेसम्म सेयर कायम गर्ने सेयरधनीहरूले मात्र प्राप्त गरेका हुन् । उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको पनि क्रमशः डिम्याट खातामा बोनस सेयर जम्मा गराइने कम्पनीले जनाएको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरूलाई भने कम्पनीले सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । साथै, कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लिन बाँकी बोनस सेयर र नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी लिन आउन समेत आग्रह गरिएको छ ।

राजधानी बाहिरको सेयर बजार, ठूला लगानीकर्ताको रोजाइमा परेन

काठमाडौं । मोफसलका ठूला लगानीकर्ताको रोजाइमा सेयर बजार नपरेको देखिएको छ । सरकारले देशव्यापी रूपमा सेयर बजारको विस्तार गर्ने योजना बनाएर प्रादेशिकरूपमा ब्रोकर कम्पनी खोल्न अनुमति दिएपनि राजधानी बाहिर अर्थात् मोफसलका ठूला लगानीकर्तामा सेयर बजारप्रतिको उत्साह नदेखिएको हो । विगतका दिनहरूमा उपत्यकामा मात्रै सीमित ब्रोकर कम्पनीहरू अहिले विभिन्न प्रदेशमा स्थापना भएर सेवा दिइरहेका छन् । देशभरका लगानीकर्तालाई समेटेर सरल तरिकाले सेवा दिने उद्देश्यका साथ खोलिएका ब्रोकर कम्पनीका शाखाहरूले सोचे अनुसारको नतिजा दिन सकेका छैनन् । ‘बजारमा एक किसिमको मन्दी छ, जसको प्रभाव सेयर बजारमा पनि परेको छ, जुन रणनीति र योजनाका साथ हामीले प्रदेशमा शाखा खोलेका थियौं, त्यो अनुरुपको नतिजा हाँसिल गर्न सकेका छैनौं,’ क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिजको विराटनगर शाखाका एक अधिकारीले भने । मोफसलका ठूला लगानीकर्ताको आकर्षण नभएको ती अधिकारीको भनाइ छ । ब्रोकर कम्पनीहरूमा हाल सबै कारोबार अनलाइनबाट नै हुने गरेको छ । जसका कारण ठूला लगानीकर्ताहरू शाखामार्फत् कारोबार गर्नेभन्दा पनि अनलाइनमार्फत् मुख्य कार्यालयअन्तर्गत नै रहेर कारोबार गरिरहेका हुने ती अधिकारीको भनाइ छ । प्रादेशिक कार्यालयमा साना तथा मझौला लगानीकर्ता मात्रै आउने गरेको उनको भनाइ छ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को लागि बजेट प्रस्तुत गर्दै नेप्सेको पुर्नसंरचना गर्ने घोषणा गरेका छन् । नेप्सेमा विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने विभिन्न ८ वटा लगानीकर्ता संघले संयुक्त रुपमा सुझाव समेत दिएका थिए । त्यस्तै धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण र सीडीएससीको संरचनागत सुधार गरिने विषय समेत बजेटमा समावेश गरिएको छ । बजेटमा निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा पुँजी बजारमा सूचीकरण गरिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले पुँजी बजारको दायरा फराकिलो हुने लागानीकर्ताको विश्वास छ । यद्यपि बजेटमा समावेश भएका कतिपय विषयहरू कार्यान्वयनमा आउन भने वर्षौं लाग्ने गरेको छ । विराटनगरका एक ब्रोकरका अनुसार बजेटअघि शाखामार्फत् साढे ५ करोडको हाराहारीमा दैनिक कारोबार हुँदै आएकोमा हाल साढे ३ करोडको हाराहारीमा कायम भएको छ । त्यस्तै, झापास्थित एक ब्रोकर कम्पनीले पनि घट्दो बजारमा लगानीकर्ताको आकर्षण नभएको बताए । सेयर बजारका विषयमा बुझ्ने जान्न चाहेको भएपनि लगानी गरेर सेयर बजारमा खेल्ने लगानीकर्ता भने कमै रहेको उनको भनाइ छ । लगानीकर्ताहरूबाट आएको गुनासो फोनबाट, कार्यलयमा बोलाएर प्रत्यक्ष रुपमा वा केन्द्रसँगको सहकार्यमा सम्बोधन गर्दै आएको उनको भनाइ छ । झापामा हाल ४ वटा ब्रोकरहरू छन् । यद्यपि ती चारवटै ब्रोकरहरूसँग नाम चलेका वा ठूला लगानीकर्ताहरूले भने कारोबार गर्ने नगरेको उनले जानकारी दिए । ‘हामीसँग ठूलो लगानीकर्ता हुनुहुन्न, यहाँका केही सेयर बजारको विषयमा बुझेकाहरू केन्द्रबाटै कारोबार गर्नुहुन्छ, यहाँका अधिकांश ठूला व्यवसायीलाई सेयर बजारको विषयमा खासै चासो छैन, हामी साना तथा मझौला लगानीकर्तालाई ध्यानमा राखेर काम गरिरहेका छौं,’ ती अधिकारीले भने । झापा काठमाडौंको तुलानामा सानो सहर भएकोले लगानीकर्तासँगको सम्बन्ध पारिवारिक जस्तै हुने उनी बताउँछन् । झापामा रहेको ४ वटै ब्रोकरहरूले विभिन्न समयमा सचेतना कार्यक्रमहरू पनि गर्दै आएका छन् । उनी भन्छन्, ‘झापामा ४ वटा ब्रोकर कम्पनी छन्, सबैले वर्षमा कम्तिमा २/३ वटा सम्म कार्यक्रहरू गरिरहेको हुन्छौं, लगानी नगरे पनि जान्न बुझ्न खोज्ने भने धेरै हुन्छन् ।भने धेरै हुन्छन् ।’ झापामा डिम्याट खाता भएका प्रायः सबैले आईपीओ भर्ने गरेका छन् भने ट्रेडिङको काम भने केही सीमित व्यक्तिहरूले मात्रै गर्ने गरेको उनको अनुभव छ । ‘मार्केट कहिले बढ्छ ? कुनमा लगानी गरौं ? भन्दै बुझ्न आउनेहरू धेरै हुनुहुन्छ,’ उनी भन्छन्, ‘लगानी गरेर कारोबार गर्ने भने सीमित छन् ।’ आफ्नो शाखामार्फत् दैनिक ३ देखि ४ करोड रुपैयाँसम्मको कारोबार हुने गरेको उनको भनाइ छ । त्यस्तै, हेटौंडास्थित एक ब्रोकर कम्पनीका प्रतिनिधि भने राजधानी र राजधानी बाहिरको सेयर बजारमा खासै फरक नभएको बताउँछन् । कारोबार सबै अनलाइन मार्फत् हुने भएकोले राजधानी बाहिर र राजधानी भनेर फरक महसुस नभएको उनको भनाइ छ । ‘हामीले कारोबारको रकम समयमा नै भुक्तानी गरेका हुन्छौं, अन्य केही सामान्य गुनासोहरू पनि तत्काल सम्बोधन गरिरहेका हुन्छौं, यसलाई लगानीकर्तालाई सहज नै भएको छ,’ उनले भने । त्यस्तै बुटवलस्थित एक ब्रोकर कम्पनीका प्रतिनिधि राजधानी बाहिरको सेयर बजार भिन्न किसिमको रहेको अनुभव सुनाउँछन् । ‘राजधानीबाट कारोबार गर्ने लगानीकर्ताले धेरै कुरा बुझेको हुन्छन्, मोफसलमा धेरै बुझाउनु पर्ने हुन्छ, विश्वासमा ल्याएर कारोबार बनाउनेसम्मका पुर्याउनुपर्छ,’ उनी भन्छन्, हामी लगानीकर्तासँग प्रतक्ष्य जोडिएर काम गर्छौं, उहाँहरू कार्यालयमा आएर सबैकुरा बुझेपछि मात्रै कारोबार गर्नुहुन्छ ।’ मोफसलका लगानीकर्तामा विश्वासको कमी रहेको उनी बताउँछन् । उनी पनि ठूला लगानीकर्ता मोफसलबाट जोडिने नगरेको उनको भनाइ छ । ब्रोकर कम्पनीको शाखा खोल्नका लागि धेरै लगानी चाहिने भएकोले धेरै ब्रोकर कम्पनी उपत्यका बाहिर जान नसकेको धितोपत्र ब्रोकर एशोसिएनका अध्यक्ष सागर ढकाल बताउँछन् । ‘अहिलेको व्यवस्था अनुसार लागत धान्न सक्दैन, त्यसैले यो मोडालिटीलाई परिवर्तन गर्नुपर्छ,’ उनी भन्छन् । यो मोडालिटीलाई परिवर्तन गरेर एजेन्सी मोडलमा जानुपर्ने धारणा उनी राख्छन् । उपत्यका बाहिर सेयर बजारको बारेमा बुझेर लगानी गर्ने परिपाटी कम रहेको उनी बताउँछन् । विद्यालय तहबाट नै पुँजी बजारको बारेमा पढाउन आवश्यक रहेको उनको भनाइ छ । कोरोनाअघि करिब ३÷४ लाख मात्रै डिम्याट (टिएमएस) खाता थिए । कोरोनापछि हाल ६२ लाख डिम्याट खाता पुगिसका छन् भने कम्तिमा २०÷२२ लाख टिएमएस खाता सक्रिय छन् । देशको विभिन्न स्थानमा र ठूला सहरहरूमा थुप्रै उद्यगी तथा व्यवसायीहरू छन् । तर, उनीहरूले सेयर बजार के हो भन्नेबारे नबुझेको ढकाल बताउँछन् । ‘म नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरममा पनि छु, त्यस कारण पनि देशभरिका उद्योगी व्यवसायीहरूसँग भेटघाट हुन्छ, उहाँहरूले उद्योग चलाइरहनु भएको छ । तर, सेयर बजार के हो भन्ने थाहा नै छैन,’ उनी भन्छन्,’ जिल्लागत हिसाबमा यो झन धेरै पाएँ । उपत्यका बाहिर सर्वसाधारण मात्रै नभएर निजी क्षेत्रका उद्यमी व्यवसायीहरूमा समेत पुँजी बजारबारे सचेतनाको कमी रहेको उनको भनाइ छ । सेयर बजारबारे प्रयाप्त ज्ञान नभएकै कारण ठूला लगानीकर्ताहरू उपत्यका बाहिरबाट कमै संख्यामा रहेको उनी बताउँछन् ।