कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र एलआईसीको हकप्रदमा आवेदन दिन पाउने

काठमाडाैँ । कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालकाे हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद निष्कासनका लागि कार्तिक ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले ८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको छ । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम हकप्रद निष्कासनको तयारी थालेका हुन् । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको हकमा २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको हकमा ५ अर्ब चुक्ता पुँजी पु्र्याउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि कम्पनीहरु हकप्रदका लागि तातिएका हुन् । एलआईसी नेपालको हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । अब २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ हकप्रदबाट थपिँदा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ लाख रुपैयाँ हुन जान्छ । अर्थात, हकप्रद जारी पश्चात प्राधिकरणले तोके अनुसार कम्पनीको चाक्ता पुँजी पुग्छ ।

दशैँ पछिको पहिलो कारोबारः बजार ३१ अंकले बढ्यो, २ कम्पनीको मूल्यमा सकरात्मक सर्किट

काठमाडाैँ । दशैँ पछिको पहिलो कारोबार भएको दिन आज मंगलबार सेयर बजार परिसूचन नेप्से १.१७ प्रतिशतले वृद्धि भएको छ । आज ३१.४८ अंकले वृद्धि भएर नेप्से परिसूचक २ हजार ६ सय ९९.६६ बिन्दुमा रोकिएको छ । यस दिन ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेचबाट ३ अर्ब ६ करोड २३ लाख बढीको कारोबार भएको छ । आज २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटाको मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यसैगरी, मल्टिपर्पाेज फाइनान्स, समृद्धि फाइनान्स र एनआईबीएल समृद्धि फण्ड २ को सेयर मूल्य क्रमशः ९.३२, ६.८४ र ६.७४ प्रतिशतले वृद्धि भएको छ । यस दिन मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र एनआरआईसी इन्फ्राइस्टक्चर डेभलपमेन्ट कम्पनीको कारोबार सर्वाधिक भएको छ ।

भारतीय सेयर बजार इतिहासमै ठूलो आईपीओ, हुण्डाईले तोड्यो एलआईसीको रेकर्ड

काठमाडौं । हुण्डाई मोटर्सको सहायक कम्पनी हुण्डाई मोटर्स इन्डीयाले प्राथमिक सेयर निष्काशन (आईपीओ) खुला गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले आज अक्टोवर १५ तारिखदेखि करिब ३ खर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ खुल्ला गरेको हो । हुण्डाई मोटर्स इन्डीयाको आईपीओ भारतीय सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो दाबी गरिएको छ । साथै कम्पनीको आईपीओ एशियाकै ठूला आईपीओहरूको सूचीमा समेत रहेको बताइएको छ । यसअघि भारतमा सबैभन्दा ठूला आईपीओ ल्याएको रेकर्ड लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)को नाममा थियो । एलआईसी इण्डीयाले दुई वर्षअघि अर्थात् सन २०२२ मा २ खर्ब १० अर्ब भारुको आईपीओ निष्कासन गरेको थियो । तर, एलआईसीको रेकर्ड ब्रेक गर्दै हुण्डाई मोटर्स इन्डीयाले हालसम्मकै ठूलो आईपीओ जारी गर्न लागेको हो । करिब २ दशकपछि भारतीय सेयर बजारमा अटो क्षेत्रको आईपीओ आएको बताइएको छ । जसलाई लिएर लगानीकर्ता निकै उत्साहित बनेका छन् । कम्पनीले २ खर्ब ७८ अर्ब ७९ करोड १६ लाख भारुको १४ करोड २१ लाख ९४ हजार ७ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता १ हजार ८६५ रुपैयाँदेखि १ हजार ९६० रुपैयाँ तोकिएको छ । हुण्डाई इन्डियाले आईपीओमार्फत् आफ्नो १७.५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । जसमध्ये क्यूआईपीका लागि ५० प्रतिशत, एनआईआईका लागि १५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि २५ प्रतिशत सेयर छुट्याइएको छ । साथै कम्पनीका कर्मचारीका लागि ७ लाख ७८ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम ७ कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । सो आधारमा कम्पनीको आईपीओ खरिद गर्न कम्तीमा १३ हजार ७२० रुपैयाँ लगानी गर्नुपर्ने देखिन्छ । हुन्डाई इन्डियाका कर्मचारीलाई भने प्रतिकित्ता १८६ रुपैयाँ छुट दिइएको छ । उक्त आईपीओका लागि अक्टोवर १७ तारिखसम्म आवेदन दिन सकिने बताइएको छ ।