काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारको पछिल्लो एक वर्षको उतारचढावको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सेयर बजारको उतारचढावको विषयमा पनि बोलेको छ ।
राष्ट्र बैंकको तथ्यांकमा २०८० भदौ मसान्तमा १९६४.९२ रहेको नेप्से सूचकाङ्क २०८१ भदौ मसान्तमा २५८०.७६ कायम भएको छ । २०८१ भदौ मसान्तमा धितोपत्र बजार पँुजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ ।
२०८० भदौ मसान्तमा बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । २०८१ भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।
२०८० भदौमा सूचीकृत कम्पनीहरूको संख्या २५५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ भदौ मसान्तमा सूचीकृत ८ अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य रु.८२८ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा २ अर्ब ५४ करोड बराबरको बोनस सेयर, १ अर्ब ७२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ४७ लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल ४ अर्ब २६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको यो चालु आर्थिक वर्षको दुई महिनाको हो । दशैंपछिको पहिलो कारोबार भएको दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से १.१७ प्रतिशतले वृद्धि भएको छ । आज ३१.४८ अंकले वृद्धि भएर नेप्से परिसूचक २ हजार ६ सय ९९.६६ बिन्दुमा रोकिएको छ ।