७५.७४ प्रतिशत लाभांश बाँड्ने सानिमाको घोषणा

काठमाडौं । हाइड्रोपावर कम्पनी सानिमा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य सञ्चित नाफाबाट सेयरधनीहरूका नाममा कायम सेयरबापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी चुक्ता पुँजीको करसहित ७५.७४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक १४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौंमा प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित तीन जना सञ्चालकको नियुक्ति तथा निर्वाचन गर्ने, सञ्चालक समितिको सिफारिस बमोजिम एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सञ्चालक समितिको बैठक भत्ता निर्धारण कम्पनीको सभाले गर्नेछ । यस्तै, आईपीओ निष्काशन गर्ने र आईपीओबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेक्सजेनको साधारणसभा सम्पन्न, सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

  काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । शनिबार बसेकाे कम्पनीकाे साताैं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पास गर्दै लाभांश घोषणा गरेकाे हाे । सभामा कम्पनीकाे नाम परिवर्तन गरी नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटी सोलुसन्स प्रालि राख्ने निर्णय भएको अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिए । कम्पनीले भविष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको कामसमेत गर्ने योजना बनाएको छ । त्यसैले पुँजी वृद्धि र समान प्रकृतिका कम्पनीहरू मर्जर गर्ने निर्णय गरेको छ । साथै सोही सभाले आगामी चार वर्षका लागि देवेन्द्रप्रताप शाह, रमेशकुमार भट्टराई, बलराम विष्ट, अजयकुमार मिश्र र शिवराज (माधव) दवाडीलाई सञ्चालकमा निर्विरोध मनोनयन गरेको छ । सञ्चालकको मनोनयनपछि सभामा नै सञ्चालकहरूले एक मतले अध्यक्षमा देवेन्द्रप्रताप शाहलाई र रमेशकुमार भट्टराईलाई प्रबन्ध सञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको थियो ।

सेयर बजारमा हरियाली, उकालो लाग्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन पुँजी बजारमा हरियाली छाएको छ । दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१५ प्रतिशत अर्थात् ५६.०९ अंकले बढेको हो । गत साता बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २ हजार ५९७.४९ अंकमा बन्द भएको थियो । नेपालीहरूको महानपर्व दशैंको लागि खर्च नजिकै आएकाले सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन् । आजसम्म सेयर कारोबार गरेमा दशैं अगाडि नै नगद रकम पाइने भएकाले बजार बढेको उनीहरूको भनाइ छ । साथै विगतमा पनि दशैंको समयमा सेयर बजार बढ्ने गरेको इतिहास रहेको उनले बताए । नेप्सेका अनुसार आज ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६९ हजार ८६० पटक खरिदबिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बुधबारका दिन ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह २.२० प्रतिशत, विकास बैंक समूह २.२२ प्रतिशत, फाइनान्स समूह ६.३० प्रतिशत, होटल तथा पर्यटन समूह १.७१ प्रतिशत, जलविद्युत समूह २.७३ प्रतिशत, लगानी समूह १.९९ प्रतिशत, जीवन बीमा समूह १.३४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ३.१२ प्रतिशत, लघुवित्त समूह १.४७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१८ प्रतिशत, निर्जीवन बीमा समूह १.४९ प्रतिशत, अन्य समूह १.६२ प्रतिशत र व्यापार समूह ०.९० प्रतिशत बढेको छ । आइतबार न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३०.५० रुपैयाँ बढेर ३३५.६० रुपैयाँ पुगेको छ । यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.७६ प्रतिशत, इस्टर्न हाइड्रोपावर कम्पनीको ९.६८ प्रतिशत, गुडविल फाइनान्सको ९.२७ प्रतिशत र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ८.१४ प्रतिशतले सेयर मूल्य बढेको छ । आइतबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २५ करोड ५७ लाख रुपैयाँ, नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड १३ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर १४ करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।