भगवती हाइड्रोले सिधैं बैंक खातामा पठायो लाभांश, नआए के गर्ने ?
काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीहरूको बैंक खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको असोज १६ गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले पारित गरेको लाभांश सिधैँ सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको जनाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट सेयरधनीहरूलाई १०.७३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा असोज २१ ग्तेदेखि आईपीएस मार्फत् जम्मा गरेको जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिएको कम्पनीले जनाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न कम्पनीले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने कम्पनीले जनाएको छ ।
आज सेयरधनी बने अपि पावरको लाभांश पाइने
काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली कात्तिक २ गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०८१/८१ को खुद नाफाबाट चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजारको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत कर प्रायोजनका लागि नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । यसअघि ९ प्रतिशत वोनस सेयर र ०.४७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगले अपि पावरले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो । आयोगको निर्देशन अनुसार लाभांश परिमार्जनसँगै साधारण सभा आह्वान गरेको हो । लाभांश पारित गर्न कात्तिक १९ गते होटल क्रिष्टल पशुपति गौशाला, काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा शतप्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना र दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यस्तै सभामा सेयरधनीहरुबाट १ जना महिला, १ जना स्वतन्त्रसहित ५ जना सञ्चालकको निर्वाचन हुनेछ ।
१७ प्रतिशत लाभांश बाँड्ने एनएमबिको घोषणा
काठमाडौं । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते दिउसो ४ बजे होलिडे इन एक्सप्रेस नक्साल काठमाडौंमा १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको ६० हजार ९१५ रुपैयाँ पनि पारित गर्नेछ ।