आज ११ अर्ब बढीको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडाैं । साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले वृद्धि भएको छ । आज ४.९८ अंकले बजार बढ्दा ११ अर्ब बढीको कारोबार भएको छ । यस दिन २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको हो । आज १४५ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन । आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक र २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट लागेको छ । यस दिन उन्नति सहकारी लघुवित्त, स्वाभिमान लाघुवित्तको सेयर मूल्य समान १० प्रतिशतका दरले वृद्धि भएको छ भने अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । समृद्धि फाइनान्स र गुरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब पुग्यो
काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब पुगेको छ । कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार बढेर १ अर्ब पुगेको हो । खुल्लामुखी सामूहिक लगानी कोष योजना रहेको उक्त फण्ड २० करोड रुपैयाँबाट सुरु भएको थियाे । कम्पनीले विसं २०७८ असार १६ गते उक्त फण्ड जारी गरेको थियो । यस योजनाअन्तर्गतको व्यवस्थित लगानी योजनामा हाल करिब १९ हजार इकाईधनीहरू आवद्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत असोजसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) ११.३० रुपैयाँ रहेको छ । व्यवस्थित लगानी योजनामा लाभांश पुनःलगानी हुने, सजिलै खरिद/बिक्री हुने, इकाईको खरिद तथा बिक्री खुद सम्पत्ति मूल्यमा हुने जस्ता विशेषताहरू रहेका छन् । लगानीकर्ताहरूले क्यापिटलका सम्पर्क कार्यालय विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा र नेपालगञ्ज, सिद्धार्थ बैंकका शाखा कार्यालय र अनलाइनबाट पनि खरिद बिक्री गर्न सक्नेछन् ।
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साता आइतबारदेखि शुक्रबार (कात्तिक १० गतेदेखि कात्तिक ३० गते) सम्म नेप्सेमा समाज लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल ल्युब आयलको बोनस सेयर सूचीकृत भएको हो । समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको २८ हजार ५ सय कित्ता, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको २ लाख ५० हजार कित्ता र नेपाल ल्युब आयलको २५ प्रतिशत बोनस बापतको १ लाख २२ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।