धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको अन्तर्वार्ता आज, कार्की, चापागाईं र अधिकारीले के गर्लान ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि तीन जनाको अन्तर्वार्ता आज मंसिर ९ गते हुँदैछ । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनासँग व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिने भएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई आज बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाइएको छ । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो । त्यसअघि बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको थियो । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ ।

इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्राबधान

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो सेयरदोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यसप्रकारको प्रबन्ध गरेको हो । गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् । सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको सेयरमा आवेदन दिनसक्ने प्रबन्ध गरिएको उनले जानकारी दिए । त्यसरी बिक्री गरिने सेयरमा आवेदन दिन सकिने न्यूनतम सीमा भने एक हजार कित्ता रहेको छ । सेयर खरिद गर्न चाहने गैरआवासीय नेपाली नागरिकले आफ्नो परिचयपत्र वा स्थायी लेखा नम्बर पेस गर्नुपर्नेछ । त्यस्तो कम्पनीको संस्थापकवा सर्वसाधारणका रुपमा लगानी गर्न सक्नेछन् । सेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्थागरेबमोजिम हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र निष्काशन गर्दा सेयरको प्रत्याभूतिसम्बन्धी व्यवस्था भने लागू हुने छैन । गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानीको अवसर उपलब्ध गराउन सरकार र बोर्डको उच्च प्राथमिकता रहेको प्रवक्ता डा अधिकारीको भनाइ छ ।

संयुक्त लगानीको कम्पनीमा हजार कित्ताभन्दा कम सेयर भर्न नपाइने, यस्तो छ सेबोनको नयाँ व्यवस्था

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरेको छ । बोर्डले निर्देशिका संशोधन गर्दै संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने सेयरको सीमा एक हजारभन्दा बढी कायम गरेको छ । ‘संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने सेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी हो । सेबोनका प्रवक्ता नवराज अधिकारीले अन्य कम्पनीको सेयरको सीमा एथावत रहेपनि गैर आवासिय नेपालीहरूले लगानी गरेका कम्पनीहरुमा भने यो व्यवस्था गरेको जानकारी दिए । निर्देशिकामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासनको लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरणपत्रमा उल्लेख भए बमोजिम हुने उल्लेख गरेको छ । यस्तै, संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रति सेयर अङ्कित मूल्यको शत प्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नुपर्ने उल्लेख छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको सेयर बाडँफाँड भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न नपाइने निर्देशिकामा उल्लेख छ । तर, संस्थापक सेयरको हकमा नियमावलीको नियम ३८ को उपनियम (१) बमोजिम हुने उल्लेख छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयरधनीको हकप्रद सेयरको हक हस्तान्तरण गर्नुपर्ने भएमा गैरआवासीय नेपालीबीच मात्र हक हस्तान्तरण गर्नु पर्ने व्यवस्था गरेको छ । उपदफा (१) बमोजिम हक हस्तान्तरण गर्दा सेयरको खरिद बिक्री बन्देज अवधि (लकइन पिरियड) नसकिएको भएमा हस्तान्तरण भई जाने सेयरसमेत लकइनमा नै रहने निर्देशिकामा उल्लेख छ । [pdf id=524078]