नेपाल धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोष नारायण श्रेष्ठ, को हुन् उनी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । अन्ततः सन्तोषनारायण श्रेष्ठले बाजी मारे । जन्मथलो स्याङ्गजाको भिरकोट नगरपालिका रहेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंमा समेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । साथै, तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा सञ्चालक समितिको अध्यक्ष समेत बनेका श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा ३ वर्ष सञ्चालक समिति सदस्य भएर काम गरेको अनुभव छ । उनी वित्तीय क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्राधिकरणमा सञ्चालक बनेका थिए । सोप एण्ड केमिकल, जलविद्युत् तथा कलेजहरूमा समेत संलग्न रहेका उनको विभिन्न जलविद्युत कम्पनीमा लगानी समेत रहेको छ । म्यानेजमेन्ट एसोसियसन नेपाल (म्यान)को आजीवन सदस्य श्रेष्ठ रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्य समेत बने । २०८० पुस २० गतेदेखि बोर्ड अध्यक्षविहीन भएपछि माघ पहिलो साता राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनोट समिति गठन भयो । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्थमन्त्री वर्षमान पुन। फागुन १६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्दा १९ जनाले आवेदन दिएका थिए । छनोट समितिले १९ जनामध्येबाट सन्तोषनारायणसहित बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं पाँच जनामा सर्टलिष्ट गरेको थियो । तर, सर्टलिस्टमा परेका ५ जनामध्ये पहिलो चरणमा सन्तोष नारायण र मुक्ति श्रेष्ठले मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ता दिए । अधिकारी, कार्की र चिरञ्जिवी चापागाईंले बहिस्कार गरे । सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्याे । तर, सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै सन्तोष नारायणले अदालत पुगेका थिए । र, अदालतले पनि उनको पक्षमा आदेश दिएपछि नियुक्ति प्रक्रिया पुनः अघि बढेको थियो । यहीबीचमा प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली प्रधानमन्त्री बने भने विष्णु पौडेल अर्थमन्त्री बने । र, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएपछि उनी छनोट समितिको समेत संयोजक बने । लामो स्थगित रहेपछि गत मंसिर ९ गते सर्टलिष्टमा परेका पाँच जना कार्की, चापागाईं र अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये कार्की र अधिकारीले मात्रै अन्तर्वार्ता दिएका थिए भने चापागाईं अनुपस्थित भए ।

आज ६ अर्ब ३४ करोड रुपैयाँ बढीको कारोबार, दुई उपसूचकबाहेक सबै हरियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । आज १५.८३ अंकले बढेर बजार २ हजार ६ सय ८३.२४ बिन्दुमा झरेको छ । आज १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको मूल्य घटेको छ । त्यसैगरी, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन १ करोड २२ लाख कित्ता सेयरको किनबेच हुँदा ६ अर्ब ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै न्यादि ग्रुप पावरको ५४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसैगरी, बेस्ट फाइनान्सको २५ करोड, नेपाल फाइनान्स लिमिटेडको २० करोड र एनआरएन इन्फ्राक्टर एन्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड बढीको सेयर कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोषबाहेक अन्य उपसूचक सबै हरियो छन् ।

मुक्तिनाथ क्यापिटलले मंसिर २० गतेदेखि म्युचुअल फण्ड बिक्री गर्ने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड–१ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक, २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि बिक्री खुला गर्नेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले मंसिर २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।