गरिमा विकास बैंकको साढे ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक समूहका सेयरधनीहरूमध्ये केही सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । जसमा २ लाख ५१ हजार १५२ कित्ता र १ लाख ८ हजार १३० कित्ता गरी कुल ३ लाख ६० हजार ८२ कित्ता सेयर बिक्रीमा राखिएको हो । जसमध्ये २ लाख ५१ हजार १५२ कित्ता सेयरका लागि संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् भने १ लाख ८ हजार १३० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले पनि खरिद गर्न पाउने छन् । खरिद इच्छुकले बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

सुपरमाई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज मंसिर १६ गते अन्तिम दिन रहेको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुकक्लोज गर्दैछ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर सहित) गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते लिसरा रिसेप्सन्स नक्सालमा १०औँ वार्षिक साधारण सभा दिउँसो ४ बजे बोलाएको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेछ ।

सीईडीबी होल्डिङ्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । सीर्डडीबी होल्डिङ्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । कम्पनी सञ्चालक समितिले हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा सीईडीबी होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको १ः०५४५ अनुमातमा अर्थात १ सेयरबराबर नयाँ ०.५४५ कित्ता सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्न लागेको छ । हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव गत असोज २१ गते आयोजित वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको छ ।