सामान्य अंकले बढ्यो नेप्से, ६ कम्पनीको सेयरमा सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य अंककाे वृद्धि भएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ६. ७० अंकले बढेर २,७६६ को विन्दुमा अडिएकाे छ । बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरिमा ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब २० करोडको सेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको सेयर कारोबार हुँदा निफ्राले ९२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार गर्याे । बिहीबार सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस दिन कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु, सर्वोत्तम र सोनाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, कुथेली बुकरी स्मल हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाए । यस दिन सबैभन्दा धेरै गुमाउनेमा एनआरएनका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

सेयर बजार अर्थतन्त्रको हिस्सा हो, अर्थतन्त्र हाँकेको होइन : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि अर्थतन्त्र भने नहाँकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले सेयर बजारले देशको अर्थतन्त्र नहाँकेको बताएका हुन् । सेयर बजारले देशको अर्थतन्त्र नै हाँकेको हो भन्ने भाष्य सिर्जना गरिएको उनको भनाइ छ । अहिले बनेको सरकारका कारण लगानीकर्तामा उत्साह छाएको र बजार बढेको बजारलाई स्थायी बनाईराख्नु पर्ने उनको भनाइ छ । ‘सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि हाँकेको होइन । बजारमा चलखेल भइरहेको छ, त्यसलाई नियामक निकाय र सञ्चालकहरूले गम्भीरताका साथ लिनुपर्छ, बजारभित्र म्यानुपुलेसन नहुने सुनिश्चितता भए मात्र बजार प्रभावकारी रूपमा अघि बढ्छ,’ उनले भने । केही कम्पनीको सेयर मूल्य बढ्दा त्यो स्वभाविक नरहेको उनको भनाइ छ । सम्बन्धित कम्पनीको अध्ययन गरेर होसियारीपूर्वक लगानी गर्न उनले लगानीकर्ताहरूलाई उनले सुझाए । सेबोनले स्वच्छ अभ्यास भएनभएको बारे निरन्तर निगरानी गर्नुपर्ने र लगानीकर्ताको पुँजी फस्नबाट जोगाउनुपर्ने उनको धारणा छ । ‘कतिपय लगानीकर्ताले विरोध गरे, इन्साइडर ट्रेडिङ भएको छ कि छैन, म्यानु्पुलेट भएको छ छैन निगरानी गर्नुपर्छ, आम लगानीकर्ताको लगानी नडुबोस् भन्ने आशय हो,’ उनले भने । साथै, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया के कति कारणले रोकिइको हो भने डा.महतले प्रश्न गरेका छन् ।

इन्द्रेणी मसरुम फर्मले आईपीओ निष्कासन गर्ने

काठमाडौं । इन्द्रेणी मसरुम फर्मले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले मकपवानपुरको थाहा नगरपालिका– १ स्थित चिल्ताङमा केही वर्षदेखि व्यावसायिकरूपमा च्याउ उत्पादन गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याएर गुणस्तरिय च्याउ उत्पादन गर्ने उद्देश्यका साथ काम गर्दै आइरहेको बताएको छ । नेपालमा छरिएर रहेको कृषि व्यवसायअन्तर्गत च्याउ उत्पादनमा रहेको अवसर र चुनौतीहरूलाई एकीकृत गरी संस्थागत व्यवस्थापनको माध्यमबाट मर्यादित र प्रतिस्पर्धी बनाई युवाहरूको आकर्षणको केन्द्रविन्दु बनाउन र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यअनुसार काम तथा सोसँग सम्बन्धित क्रियाकलापहरू गरिरहेको कम्पनीले जनाएको छ । हाल व्यावसायिकरूपमा ५ प्रजातिको च्याउ खेती भइरहेको छ । गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयष्टर, गानोडर्मा तीमध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ, जसले देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको छ । उक्त बजारलाई मध्यनजर गर्दै यसबाट स्वास्थ्यलाई हुन सक्ने असंख्य लाभ तथा आर्थिक लाभसमेत लिन सक्ने भएकाले गोब्रे च्याउ उत्पादन गर्न कम्पनी स्थापित भएको थियो । हाल यस संस्थाले विभिन्न व्यावसायिक क्षेत्रका सेयरधनीहरूबाट १४ करोड लगानी जम्मा गरी चित्लाङ्गको १९ रोपनी जग्गामा ११ वटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी प्रत्येक दिन ६०० केजी गोब्रे च्याउ उत्पादन गर्दै आइरहेको छ । बजारमा हुने प्रतिदिन १५ हजार केजीको माग आपूर्तिमा सहजता पुग्ने गरी उत्पादन वृद्धि गर्न सर्वसाधारणहरूको तर्फबाट सहभागिता बढाउन रहेको कम्पनीको भनाइ छ। निकट भविष्यमा यस कम्पनीले सेयर निष्कासन गरी सोबाट प्राप्त हुने रकमबाट मकवानपुरको हेटौंडाबाट पनि व्यावसायिक रूपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्नुका साथै कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बीउ र सामाग्री बिक्री केन्द्र खोलि बिक्री गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सूप उत्पादन गर्ने लक्ष्य कम्पनीको छ। चित्लाङ र हेटौडाबाट उत्पादन सुरु भएपश्चात दैनिक २ हजार ५ सय केजीभन्दा माथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने दाबी कम्पनीको छ।