धितोपत्र बोर्डको अध्यक्षका लागि बहिस्कार गरेका ३ जनालाई बोलायो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ । बिहीबार बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ३ जनाको आगामी मंसिर ९ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा प्रस्तुतिकरण हुनेछ । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो । बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको थियो ।
धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो, पूर्ण कार्य गर्ने अनुमति दुई कम्पनीलाई मात्र
काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् । धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ । यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् । नेप्सेका अनुसार हालसम्म दर्ता भएकामध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्न अनुमति पाएका छन् । पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालन सेक्युरिटिज लिमिटेड रहेका छन् ।
दुई ब्रोकर संघबीच मर्जर, व्यवसायी र लगानीकर्ताको हकहितका लागि एक भएर अघि बढ्ने
काठमाडाैं । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ । हाल संचालमा रहेका स्टक ब्रोकर्श एशोसिएनका र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । उक्त सम्झौता पत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् । दुइुृ संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालमा आउने छ । पछिल्लो समय सेयर बजार देखिएको विकृति र विसंगतिलाई हटाउँदै बजारको विकाश र विस्तार गर्नका लागि दुई संस्थाहरु एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले जानकारी दिए । ‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीहरुलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको धु्रविकरण नयाँ र पुरानाबीच देखिएको थियो त्यो धु्रविकरण आजको यस ऐतिहासिक समझदारीसँगै समाप्त भएको छ,’ उनले भने, ‘यसले पक्कै पनि हाम्रो पूँजीबजारलाई र हामी यस बजारका प्रमुख साझेदार धितोपत्र व्यवसायीहरुलाई नयाँ दिशा निर्देश गर्नेछ र यस अवसरले हामीलाई हाम्रो व्यवसायिकता अभिवृद्धि गर्दै हाम्रो हक हित संरक्षणमा एकिकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ साथै अबको दिनमा संयुक्त रुपमा एउटै संस्थाको रुपमा अगाडि बढ्दै पूँजी बजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ता हित संरक्षणका लागि एक ढिंक्का भएर अघि बढन् प्रतिवद्धता व्यक्त गरे । करिब २३ वर्ष पछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायी मैत्री बनाउन मर्जर पछि एक भएको संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘अझै पनि धेरै कुराहरु जुन वर्तमान अवस्थामा हाम्रो पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक छन् त्यस किसिमका व्यवस्थाहरु समावेश भएको देखिँदैन,’ उनले भने, ‘यस्तो ऐनहरु क्रमिक रुपमा समयक्रममा निरन्तर संशोधन हुँदै जानुपर्ने हो । तर यति लामो अन्तराल पछि संशोधनमा आउँदै गर्दा पनि धेरै कुराहरु अझै समावेश गर्न छुटेको हुँदा सरोकारवाला सबैलाई यो विषयउपर आवश्यक छलफल गराई उक्त ऐनलाई अगाडि बढाउने हामीले आगामी दिनमा एकिकृत ढंगबाट पहल गर्नुपर्ने छ ।’ नेपालको पुँजी बजारमा अत्यावश्यक भइसकेको बजार पूर्वाधार, कारोबार औजार लगायतका विषयमा हामीले अगामी दिनमा ठोस रुपमा काम गर्नुपर्ने भन्दै अबका दिनमा इन्ट्रा डे कारोबार तथा सर्टसेलको व्यवस्था, इक्विटिको डेरिभेटिभ, इण्डेक्स फण्ड लगायतका लगानी औजारहरुको विकास गर्न ढिला भैसकेको बताए । साथै अक्सन मार्केट, मार्केट मेकर, सिसिपि लगायतका पूर्वाधारहरुको व्यवस्था गर्नुपर्ने हाम्रो बजारको टड्कारो आवश्यकता रहेको अध्यक्ष ढकालको भनाई छ । सो कार्यका लागि नीगित रुपमै ऐन तथा नियमावली एवं विनियमावलीमा व्यवस्था गर्नको लागि एकिृकत भई लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे । ‘हाम्रो बजारमा सेटलमेन्ट ग्यारेन्टी फण्डलाई कार्यविधि नभएकै आधारमा लामो समयदेखि सञ्चालनमा ल्याउन सकेका छैनौं भने धितोपत्र व्यवसायीहरुको मर्जर कार्यविधि बन्न सकेको छैन,’ उनले भने, ‘मार्जिन लेण्डिङ्ग लाइसेन्स पाइसकेका धितोपत्र व्यवसायी साथीहरुले अस्पष्ट नीतिका कारण र पूर्वाधार अभावका कारण अझै पनि मार्जिन लेण्डिङ्ग काम गर्न नसकिरहेको परिस्थिति छ । यी सबै विषयमा अब हामी एक भएपछि संयुक्त रुपमा काम गर्नेछौं ।’ उक्त संस्था मर्जरमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक पूर्वअध्यक्ष सन्तोषराज मैनाली हरका छन् भने सदस्यहरुमा मदन पौडेल र सुयोग अधिकारी छन् भने धितोपत्र ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यहरु सुमन कुमार मल्ल र सन्दिप विक्रम राणामा रहेका छन् ।