डोल्टी पावरको सेयर मूल्यमा सकारात्मक सर्किट, न्यादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार पाँच सय ९५.६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता सेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह ०.८१, वित्त ३.४८, लगानी ०.०७, लघुवित्त ०.५२, म्युचुअल फण्ड ०.१७ र निर्जीवन बिमा  ०.४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक १.०८, होटल तथा पर्यटन १.६३, जलविद्युत् १.७६, जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४८, व्यापार ०.०१ र अन्य समूह ०.०४ प्रतिशतले बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ४९ लाख ४४ हजार सात सय १८ रुपैयाँ कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको तीन लाख पाँच हजार चार सय २१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

एनआईसी एशिया बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । योसँगै सेरधनीको हात खाली हुने भएको छ । पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।

नेपाल बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश बन्दै

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । धेरै बैंकहरुले लाभांश वितरण गर्न नसक्दा बैंकका सेयरधनीहरु सेयर बेचेर बाहिरिने क्रम बढ्दै गएको विवरणहरु प्रकाशित भईरहेका छन् । उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र त्यहाँबाट स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने बैंकले जनाएको छ ।