घोराही सिमेन्टले ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । जस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजेदेखि होटल पौवा, घोराही–१५ दाङमा हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
सूर्यज्योति लाइफ बन्यो जीवन बीमामा सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गरेकाे छ । कम्पनीको १७ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आव २०८०/८१ को लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) एक अर्ब २३ लाख बढी नगद लाभांश वितरण गरिने जनाइएको छ । सभाले कम्पनीको आव २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आव २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण निर्णयहरू गरेको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवन बीमामध्ये सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी बनेको छ ।
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कोषको सञ्चालक समितिले गत आर्थिक वर्ष २०८०/०८१ को आम्दानीबाट लगानीकर्ताहरूलाई १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले घोषणा गरको हो । उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।