एनआरएन इन्फ्रास्ट्रक्चरले हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले सेयरधनीहरूलाई १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। आइतबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आव २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्कासनको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडद्वारा गरिने छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २०६९/०५/३१ गते दर्ता भई जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगायतका विभिन्न परियोजनाहरूमा लगानी गर्दै आएको छ ।

कामना बैंकले ९ प्रतिशत लाभांशसहित ३५ करोडको अग्राधिकार सेयर जारी गर्ने

काठमाडाैं । कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रुपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । अग्राधिकार सेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । उक्त निष्काशनसम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) दिनेश थकाली र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । बैंकको पूरक पूँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९ प्रतिशत लाभांश दर भएको (असञ्चिति) अग्राधिकार सेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन र उक्त सेयरहरू परिपत्र विधिबाट निष्काशन गरिने जनाइएको छ ।

सेयर बजारमा ९ अर्बको कारोबार, ४ वटा कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो करोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१८ कम्पनीको १ करोड ५७ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । सप्तकोशीको ३९ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड, सिन्धु विकास बैंकको २९ करोड र सीइडीबी होल्डिङकाे २५ करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ । आज उपकार लघुवित्त र माथिल्लो मैलुन खोला जदविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, ४ वटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ । बोटर्लस नेपाल बालाजु, एनआइसी एसिया डिभेन्चर, डोटी पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।