नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर जारी गर्नेछ । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनस्को हकप्रद सेयमार आवेदन दिन पाउनेछ । कम्पनीको हकप्रदमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा क्षेत्रिय कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले सेयरमा आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।  

फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्ड बिक्री खुला गर्दै सानिमा क्यापिटल

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाको ४ करोड इकाई बिक्री खुल्ला गर्नेछ । जसमध्ये १ करोड ३० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंक, २० लाख इकाई सानिमा क्यापिटल र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिनेछ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना हो । लगानीकर्ताहरूले कम्पनीको फण्डमा न्यूनतम १ सयदेखि ४० लाख इकाईसम्म आवेदन दिन पाउने छन् । फण्डको इकाईमा फागुन ११ गतेसम्म आवेदन दिन सकिन्छ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा फागुन २० गतेसम्म आवेदन खुला रहनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले फण्डको इकाईमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कोष प्रबद्र्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले आज माघ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन पाउने छन् । कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।