सामान्य अंकले घट्यो नेप्से, ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार १ करोड ९१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिन्स्योरेन्सको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै, हिमालयन पावरको पार्टनरको २६ करोड, सीइनर्जी पावर डेभलपमेन्टको २२ करोड, ग्रीन डेभलपमेन्ट बैंकको २० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै, सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

सेयर बेचेर धमाधम बाहिरिँदै लघुवित्तका संस्थापक, २७.६६ करोडको सेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आशा लघुवित्त र साना किसान लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीमा राखिएको छ । तीन वटै लघुवित्तका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेर बाहिरिन लागेका हुन् । यी तीन वटा लघुवित्तका संस्थापक सेयरधनीहरूले २७ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको देखिन्छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)ले आफ्नो स्वामित्वमा रहेको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयर मूल्य ५३१ रुपैयाँ तोकिएको छ । यस आधारमा फरवार्डले लघुवित्तको १९ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । लघुवित्तको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ । कम्तिमा १ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । यस्तै, आशा लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख ५९ हजार ७२३ कित्ता सेयर बिक्रीमा राखेका छ । लघुवित्तको सेयरमा सर्वसाधारण जोकोही लगानीकर्ताले पनि आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको उक्त सेयरको मूल्य ३ सय रुपैयाँ तोकिएको छ । यस आधारमा लघुवित्तको ७ करोड ७९ लाख १६ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । यस्तै, साना किसान लघुवित्तको संस्थापक सेयरधनी साना किसान कृषि सहकारी संस्था घैलाडुबा झापाले आफ्नो स्वामित्वको २० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । उक्त मूल्यका आधारमा लघुवित्तको ६० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको देखिन्छ । खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

१४ अंकले घट्यो नेप्से, कारोबार पनि ८ अर्ब रूपैयाँमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबारको दिन अर्थात मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटी २७१५.९१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार ७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज १ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २६ करोड, हिमालयन ऊर्जा विकास कम्पनीको २५ करोड, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २१ करोड र पिपल्स हाइड्रोपावर कम्पनीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज कुनै पनि कम्पनीमा सकारात्मक सर्किट लागेको छैन । नेप्सेका अनुसार आज जलविद्युत् र अन्य समूहका कम्पनीको सेयर मात्र हरियो छन् । आज जोशी हाइड्रोपावर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा सामुदायिक लघुवित्त ८.३० प्रतिशत, मध्यभोटेकोशी ८.२५, ङादी ८.१९ प्रतिशत र उपकार लघुवित्त ८.१२ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । यसबाहेक सप्तकोशी डेभलपमेन्ट बैंक ९.९९ प्रतिशत र धौलागिरि लघुवित्त ४.७७ प्रतिशतले घटेको छ ।