सेयर बजारमा ६ अर्ब बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा झरेको छ । सोमबार ५८ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसभध्ये सबैभन्दा सेयर एनआरएन इन्फ्राइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ४५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख र हिमालयन पावरको १५ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

नेपाल क्लियरिङ हाउसको वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आइतबार सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैठकले लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । साधारण सभामा प्रस्तुत प्रतिवेदन अुनसार एनसीएचएलको चुक्ता पूँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ बराबरको हुनेछ भने अधिकृत पूँजी वृद्धि गरी २ अर्ब २५ करोड पुर्‍याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धि मार्फत नेसनल पेमेन्ट स्वीच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतिका लागि प्रयोग गर्नेछ । आव २०८०/८१ मा कम्पनीबाट फर्छ्योट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएको उल्लेख छ । जसबाट कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ । सोही आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणाली मार्फत कुल १५६ खर्ब बराबरको १२ करोड ६ लाख भुक्तानी कारोबार राफसाफ भएको जनाइएको छ । बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू निर्विरोध चयन गरेको छ । वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंक लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंक लिमिटेडका प्रमुख सूचना प्रविधि सृजन मल्ल छन् ।

आइसिएफसि फाइनान्सले ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

काठमाडौं । आइसिएफसि फाइनान्सले माघ ९ गते ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको जानकारी दिएको छ । कम्पनीका अनुसार १ लाख ८० हजार कित्ता अर्थात् १८ करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट र १ लाख २० हजार कित्ता अर्थात् १२ करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याईएको १ लाख २० हजार कित्ता मध्येबाट ६ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि बिक्री गरिने छ। ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले छिटोमा माघ १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । ७ वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने कम्पनीले जनाएको छ। ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।