त्रिशक्ति सेक्युरिटिजले ललितपुरमा खोल्यो शाखा कार्यालय
काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले आफ्नो ५औं शाखा कार्यालय ललितपुरको जावलाखेलमा आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी शुभारम्भ गरेको छ । नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पौडेलले शाखा कार्यालयको उद्घाटन गरे । उनले सेयर बजारको जोखिम तथा प्रतिफलको बारेमा प्रकाश पार्दै सुनिश्चित भई लगानी गर्नुपर्ने बताउनुको साथै नेपालमा पुँजी बजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै कुराको विकास भइरहेको जानकारी गराए । उनले हाल पुँजी बजारको विकासमा ब्रोकर कम्पनीहरूको योगदान उल्लेखनीय रहेको बताए । विशेष अतिथि वडा न. ०५ का अध्यक्ष विकाशमान श्रेष्ठले कम्पनीको प्रगतिको शुभकामना दिँदै आवश्यक सहयोगको लागि तत्पर रहेको बताए । कम्पनीले यसअघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौंडाबाट डिम्याट, टीएमएसलगायतमा सेयर कारोबारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
हिमालयन लाइफको साधारण सभाबाट १.१२ अर्ब रुपैयाँ बोनस सेयर पारित, कर सेयरधनीले तिर्नुपर्ने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँ बराबरको बोनस सेयर अनुमोदन गरेको छ । आइतबार सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले बोनस सेयर अनुमोदन गरेको हो । सभालेआर्थिक वर्ष २०७७९/८०का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँ बराबरको बोनस सेयर अनुमोदन गरेको हो । सभामा बोनस सेयरमा लाग्ने कर भने स्वयं सेयरधनीहरूले नै तिर्नुपर्ने विशेष प्रस्ताव पनि पारित भएको छ । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलवपछिको भिन्न अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत रुपमा राख्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुन आउने भएकोले वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । यसैगरी, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधनका लागि निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ । त्यस्तै, सभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै सोही वर्ष हिमालयन लाइफमा मर्ज भएको साविक गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको आव २०७९/८० को (मर्जअघिसम्मको) लेखापरीक्षक प्रतिवेदन, वासलात तथा नाफा-नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
कालिञ्चोक दर्शनले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा साविकका सेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको ६० लाख कित्ता बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालयमा आइतबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।