आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पियोर इनर्जीको आईपीओ बिक्री खुला

काठमाडौं । पियोर इनर्जीले आज फागुन २० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ६० हजार कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यस्तै, कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगार रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १६ हजार कित्ता र वैदेशिक रोजारीमा रहेका नेपालीले अधिकतम ७ हजार २ सय कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा चैत ५ गतेभित्र आवेदन दिनु पर्नेछ । तर, आयोजना प्रभावित क्षेत्रलाई छुट्याएको सेयरमा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंक र लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा र कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सेयर बजारमा १४ अर्ब बढीको कारोबार, लगानीकर्ताको मनोबल बढ्दै

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा झरेको छ । आज ५१ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार १४ अर्ब २५ करोडको कारोबार भएकोमा सोमबार १४ अर्ब २८ करोडको भएकाे छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको हो । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ७३ करोड, हिमालयन डिस्टीलरीको ३६ करोड, हाइड्रो इलेक्ट्रीसीटी इन्भेस्टमेन्टको ३४ करोड र सिन्धु विकास बैंकको २७ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार बैंकिङ १.३५, विकास बैंक ०.८४, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.८८, हाइड्रोपावर १.२१, लगानी ०.२४, व्यापार ०.८४ तथा माइक्रोफाइनान्स ०.८८ प्रतिशतले घटेको छ । अन्य १.६८, निर्जीवन बीमा ०.४६, उत्पादन ०.२५, जीवन बीमा ०.७७ प्रतिशतले बढेको छ । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

ङादी ग्रुप पावरले पौने ९ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । ङादी ग्रुप पावरले पौने ९ लाख कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २० गतेदेखि फागुन २८ गतेसम्म ८ लाख ७३ हजार ६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ १४ गतेसम्म १ सय प्रतिशत अर्थात् १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ८ लाख ७३ हजार ६१ कित्ता अवितरित सेयर बिक्री गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।