पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा पल्लभी लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा निष्कासन कम्पनीका प्रबन्ध निर्देशक अरुण वियानीको उपस्थित रहेको थियो । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमानियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।

मौद्रिक नीतिको समीक्षापछि चम्कियो सेयर बजार, १८६ कम्पनीको मूल्य बढ्दा साढे ११ अर्बको कारोबार

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१५ अंकले बढेर २८१५ बिन्दुमा पुगेको छ । आज १८६ कम्पनीको मूल्य बढ्दा ५२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३०० कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ७६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४६ करोड, सिङगटी हाइड्रो इनर्जीको २४ करोड र कुमारी बैंकको २० करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबार सेयर बजारका सबै सेक्टर बढेका छन् । बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशतले बढेको छ । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशतले बढेको छ । मौद्रिक नीतिको समीक्षाले सेयर बजारका लागि खासै सन्तोषजनक नीति नल्याए पनि सेयर लगानीकर्ता खुसी हुँदा कारोबार गर्दा रकम बढेको हो । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत् असल कर्जाको कर्जा नोक्सानी अनुपातलाई १ प्रतिशत कायम गरेको थियो । यसले बैंकको आम्दानी बढ्ने धेरैको अपेक्षा छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले फागुन १५ गते कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।