२० अंकले घट्यो सेयर बजार, ८ अर्ब बढीको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.६८ अंकले बढेर २७५१.४२ बिन्दुमा झरेको छ । आज ४४ कम्पनीको मूल्य बढ्दा १९१ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३११ कम्पनीको १ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७३ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको हो । साथै हिमालयन रिइन्स्योरेन्स कम्पनीको ७३ करोड १७ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको ३४ करोड, गार्डियन माइक्रोलाइफको ३० करोड र गलेम्दी हाइड्रोको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार अन्यबाहेक सबै सेक्टर राताम्मे रहेकाे छ । हिमालयन रिइन्स्योरेन्सको मूल्य १.१६ प्रतिशत बढ्दा अन्य समूह ०.०८ प्रतिशत हरियो रहेकाे छ । बैंकिङ ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशतले घटेकाे छ । आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
एनआईसी एसिया क्यापिटलले लञ्च गर्यो दुईवटा प्रडक्ट
काठमाडौं । एनआईसी एसिया क्यापिटलले डायस्पोरा अकाउन्ट सोलुसन र अफर फर सेल प्ल्याटफर्म योजना सार्वजनिक गरेको छ । लामो समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवा दिइरहेको क्यापिटलले सेवालाई थप परिस्कृत गर्दै दुईवटा सेवा ल्याएको हो । डायस्पोरा खाता सेवा गैर-आवासीय नेपाली तथा विदेशमा बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी तथा लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू क्यापिटलमार्फत गर्न सकिनेछ । उक्त सेवाले लगानीकर्ताहरूलाई एकीकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्नेछ । डायस्पोरा खाता सेवाअन्तर्गत स्टार्टअप आवश्यक, व्यवसाय विस्तार, बजारको पहुँच परामर्श सेवा उपलब्ध गराउनेछ । अर्थात् कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने, इक्विटी लगानी, इक्विटी/उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी, निष्काशन तथा बिक्री प्रबन्धक, आरटिए तथा आरटिएस सेवा, पुँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन गर्ने र वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ । यस्तै, पु्ँजी बजारमा सूचीकृत तथा सूचीकृ नभएका कम्पनीहरुको संस्थापक सेयर खरिद बिक्री गर्न सहज गराउने उद्धेश्यले अफर फर सेल प्ल्याटफर्म योजना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीहरूको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै कानूनी प्रकृया पुरा गर्नुपर्ने भएकाले कम्पनीले उक्त सेवा उलपब्ध गराउने भएको हो । सूचीकृत नभएका पब्लिक कम्पनीहरूको संस्थापक समूहको सेयर समेत कारोबार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरूबाट बारम्बार आउने गरेको छ । त्यसैले संस्थापक सेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यले अफर फर सेल माध्यम ल्याएको कम्पनीले जनाएको छ ।
एमबीएल इक्विटी फण्ड खरिद गर्ने समय लम्बियो, चैत ७ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एमबीएल इक्विटी फण्डमा आवेदन दिने समय लम्बिएको छ । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजनामा अब चैत ७ गतेसम्म बिक्री खुला रहनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई छुट्याएको छ । १२ वर्ष अवधि रहेको उक्त फण्डमा १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । उक्त म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर माफर्त लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन् ।