टुरिजम डेभलपमेन्ट बैंकले १९.८ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, १३ मंसिर । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई १९.८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत वर्षको मुनाफाबाट १९.८ प्रतिशत बोनस सेयर दिने भएको निर्णय गरेको हो । कालिञ्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकलाई मर्जको हिसाब गर्दा भने बोनस दर १८.६ प्रतिशतमात्र हुने बैंकले जनाएको छ। सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण गरिने छ ।
कन्ट्री डेभलपमेन्ट बैंकको ९ प्रतिशत लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत
काठमाडौं, १२ मंसिर । कन्ट्री डेभलपमेन्ट बैंकको ८ दशमलब ८९५ प्रतिशत प्रश्तावित लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले ८ दशमलब ४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलब ४४५ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई स्वीकृति दिएको छ । उक्त राष्ट्र बैंकको स्वीकृतिलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ३३ करोड २८ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी ३६ करोड रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर २३५ रुपैयाँमा किनबेच भएको छ ।
कामना विकास बैंकले ३० प्रतिशत हकप्रद जारी गर्ने, चुक्ता पूँजी ८६ करोड रुपैयाँ पुग्ने
काठमाडौं, १२ मंसिर । कामना विकास बैंकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको मंसिर १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद वितरण पश्चात बैंकको चुक्ता पूँजी ८६ करोड रुपैयाँ पुग्ने छ । हाल बजारमा बैंकको प्रतिकित्ता सेयर ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।