नेप्से ४१ अंकले उक्लियो, परिसूचक १३१६ अंकमा, ५२ करोडको सेयर कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक ४१ दशमलब ८३ अंकले उकालो लागेर १३१६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकमा पनि सुधार आएको छ । मंगलबारको तुलनामा बुधबार करिब १२  करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबार जम्मा ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार १४१ कम्पनीको १६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ । हरियाली छाएको बुधबारको बजारमा करिब १८ वटा कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । जसमा तीन वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने कम्पनीका लगानीकर्ताले ९ प्रतिशत कमाएका छन् । सो दिन एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा माइ हाइड्रो र नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बजारमा उत्पादमूलक समूह बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक हरिया भएका छन् । सो दिन बीमा, हाइड्रो, होटल र विकास बैंक समूहको परिसूचक क्रमशः ३८५, ६६, ४९ र ४३ अंकले उकालो लागेका छन् । त्यस्तै, बैंकिङ्, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ३७, १२ र २ अंकले वृद्धि भएका छन् । उत्पादमूलक समूहको परिसूचक भने सामान्य ५ अंकले ओरालो लागेको छ ।

माउण्ट मकालुले ५० प्रतिशत हकप्रद निष्कासन गर्दै, फागुन २५ गते साधारणसभा

काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले सेयरधनीलाई ५० प्रतिशत हकप्रद दिने भएको छ । साथै, बैंकले आगामी फागुन २५ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सो प्रयोजनको लागि फागुन १२ देखि २५ गते सम्म बैंकको बुक क्लोज हुने बैंकले जनाएको छ ।

लगानीकर्ताले कारोबार अनलाइनमार्फत हेर्न पाउने

काठमाडौ‌ । अब सेयर लगानीकर्ताले आफ्नो खाताको विवरण अनलाइनमार्फत हेर्न पाउँने भएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रीय निक्षेप सेवा र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योटको दोस्रोपटक संशोधित नियमावली २०७३मा यस्तो व्यवस्था गरिएको हो । नेपाल धितोपत्र बोर्डले गत माघ २७ गते गरेको निर्णयअनुसार उक्त संशोधन नियमावली मंगलबारदेखि कार्यान्वयनमा आएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले बताए । उनका अनुसार अब सेयर लगानीकताले कारोबारको लागि जहाँबाट डिम्याट खाता खेलको हुन, त्याहाँ वार्षिक शुल्क तिरेपछि अनलाइनमार्फत कारोबार हेर्न पाउँनेछन् । अभियान दैनिकबाट ।