लुम्विनी जनरल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्रि प्रबन्धकमा सिबिआईएल नियुक्त
काठमाडौं । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत (१ बराबर १ को अनुपातमा) अर्थात ३९ लाख किता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले विक्रि प्रबन्धकको रुपमा सि.बि.आई.एल.क्यपिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी र सि.बि.आई.एल क्यापिटलबीच हकप्रद शेयर निष्कासन गर्ने सम्वन्धमा दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र सि.बि आई.एल क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दहालले हस्ताक्षर गरेका छन् ।
नेपाल बंगलादेश बैंकलाई ८० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल बंगलादेश बैंकले सेयरधनीलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । मंगलबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको अनमति अनुसार बैंकले ३ करोड २० लाख ९४ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ७ अर्ब २२ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँ रहेको छ ।
मंगलबारको सेयर कारोबारमा सुधार हुँदा नेप्से परिसूचक दोहोरो अंकले ओरालो
काठमाडौं । मंगलबारको नेप्सेमा सेयर कारोबारमा सुधार देखिए पनि नेप्से परिसूचक भने दोहोरो अंकले झरेको छ । परिसूचक १३ दशमलब ७२ अंकले घटेर १२९९.२९ अंकमा बन्द भएको छ । सो दिनको बजारमा ५४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा करिब २९ करोड रुपैयाँ बढी हो । बजारमा सबैभन्दा बढी नेपाल बङ्लादेश बैंकको ११ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँ रहेको छ । मंगलबार १३२ कम्पनीको १२ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबार बीमा समूहको परिसूच क ११४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ्, विकास बैंक र अन्य समूहको परिसूचक क्रमशः ५०, १३, ९ र ४ अंकले ओरालो लागेका छन् । हाइड्रो समूह ४ अंकले उकालो लागेको छ भने उत्पादनमुलक समूह स्थिर रहेको छ ।