सेती फाइनान्सको साधारणसभा चैत ३० गते, कहिलेदेखि बुक क्लोज?

काठमाडौं । सेती फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत २१ गतेदेखि ३० गतेसम्म कम्पनीको बुक क्लोज रहने छ । उक्त सभामा कम्पनीले सेयरधनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको सञ्चालक समितिको निर्णयलाई पारित गर्दैछ । कम्पनीले ५७ लाख १० हजार रुपैयाँ बराबरको बोनस वितरण पश्चात कायम हुने पूँजीमा सो मात्राको हकप्रद निष्कासन गर्न लागेको बताएको छ । हाल कम्पनीको पूँजी १५ करोड ८६ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी १६ करोड ४३ लाख रुपैयाँ हुनेछ । त्यसपछि १५० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ४१ करोड ८ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १७९ रुपैयाँमा कारोबार भइरहेको छ ।

वैशाख १५ भित्र शाखा विस्तार गर्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तोकिएको मापदण्ड पूरा गरेर शाखा विस्तार गरी संचालन गर्न ब्रोकरलाई निर्देशन दिएको छ । नेप्सेले सेयर दलाललाई विस्तारित शाखा संचालनमा ल्याउनल निर्देशन दिएको छ । नेप्सेका अनुसार अनुमति पाएका कम्पनीले उक्त मितिभित्र स्थापना गर्न नसक्ने भएमा अन्य ईच्छुक सदस्य दलाल कम्पनीहरुलाई शाखा विस्तार स्थापनाका लागि अवसर दिईने छ । नेप्सेले पुँजीबजार विस्तारका लागि मुलुकको विभिन्न भागहरुबाट लगानीकर्ताहरुलाई उनीहरुको बचत परिचालन गर्न सक्षम बनाउनुका साथै दोश्रो बजार पहुँचलाई सहज बनाउने उद्देश्यले विस्तारित शाखा संचालन गर्न निर्देशन दिएको हो । हालसम्म ४१ वटा सदस्य दलालहरुबाट विस्तार तथा संचालन गर्न स्वेच्छिक रुपमा आवेदन प्राप्त भएको नेप्सेले जनाएको छ ।

नेप्सेले पार गर्यो १४०० विन्दु, एक अर्ब २६ करोडको सेयर कारोबार, बीमा ५६६ अंक माथी

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्से परिसूचकले १४०० विन्दु पार गरेको छ । सो दिन परिसूचक ४२ दशमलब १९ अंकले उकालो लागेर १४२४ दशमलब ३८ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा ४२ अंकले बढेको छ । आइतबार नेप्से २४ अंकले बढेर १३८२ अंकमा रहेको अडेको थियो । बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । सो दिन मात्र एक अर्ब २६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा ५८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबारको बजारमा १४० कम्पनीको २५ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार उत्पादन मूलक समूह बाहेक कारोबार भएका अन्य समूहको परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५६६ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रो, विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ७६, ४४, ३९, २९ र १८ अंकले बढेका छन् । उत्पादन मूलक समूहको परिसूचक भने ५ दशमलब १२ अंकले घटेको छ ।