बुटवल पावरले किन बढायो एफपीओको मूल्य?
काठमाडौं । बुटवल पावर कम्पनीले जारी गर्न लागेको एफपीओको मूल्य बढाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका(धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४) बमोजिम जारी गर्न लागेको एफपीओको मूल्य बढाएको हो । कम्पनीले ४० लाख ८१ हजार कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु(एफपिओ)) निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ४१८ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ५१८ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । जुन रकम अघिल्लो निर्णय अनुसार ४८ रुपैयाँ बढी हो । यस अघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको छ ।
युनाईटेड फाइनान्सलाई २० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले यूनाईटेड फाइनान्सलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले ५ः१ अर्थात् २० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले १३ लाख ४५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १३ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, तीन कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सो दिन नेप्से ३४ दशमलब ७२ अंकले उकालो लागेर १६३६ दशमलब ३७ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ९१ करोड १६ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब ३० करोड रुपैयाँ बढी हो । मंगलबार मात्रै १४८ कम्पनीको १४ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले उकालो लागेको बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । सबैभन्दा बढी मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्था र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिका लगानीकर्ताले क्रमशः ९.९७ र ९.५७ प्रतिशत बढी कमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १७२ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ६२, बैंक, विकास बैंक र हाइड्रो समूह ३५ र अन्य समूहको परिसूचक १५ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समुहको परिसूचक भने १४ अंकले ओरालो लागेको छ । सो दिन सिभील बैंकको ७ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको हो । त्यस्तै, स्ट्याण्डार्ड चार्टर्ड बैैंकको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।