एनएमबी बैंकले एक करोड १४ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । एनएमबी बैंक लिमिटेडले एक करोड १४ लाख १५ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत जेठ २२ गते धितोपत्र बोर्डमा निवेदन दिएर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँमा कारोबार भइरहेको छ ।

सहारा विकास बैंकको कारोबार रोक्का

काठमाडौं । आइतबार सहारा विकास बैंक लिमिटेडको कारोबार रोक्का भएको छ । सो कम्पनीलाई देवःविकास बैंक लिमिटेडले प्राप्ति गर्ने भएकाले यस बैंकको कारोबार रोक्का गरिएको हो ।

सेयर बजारमा सुधार, नेप्से २१ अंकले बढ्दा तीन अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं । यस साता सेयर बजारमा सुधार देखिएको छ । साताभरको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.३८ अंकले बढेर अन्तिम दिन १६१५.१९ अंकमा पुगेको छ । पाँच दिन खुला रहेको सेयर बजारमा तीन अर्ब ३५ करोड सात लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । जुन रकम गत साताको भन्दा १७.६४ प्रतिशत बढि हो । गत साता १५८ कम्पनीहरुको कारोबार भएको थियो । सो अवधिमा १५९ कम्पनीहरुको ५९ लाख ४३ हजार १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता कारोबार भएका प्राय सबै समूहको परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३२ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, वाणिञ्य बैंक, जलविद्युत र अन्य समूहको परिसूचक क्रमशः २७, २५, २० र १३ अंकले उकालो लागेका छन् । होटल समूह भने १२ अंकले ओरालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.०५ अंकले बढेर ३४३.१२ अंकमा आईपुगेको छ । यस साता स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३० करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी सिभील बैंक लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । सो अवधिमा बैंकको चार लाख ५२ हजार कित्ता किनबेच भएको हो ।