नेरुडे लघुवित्तलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेरुडे लघुवित्तलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले ९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले ९ करोड रुपैयाँ मूल्य बराबरको हकप्रद जारी गर्न अनुमति दिएको हो । कम्पनीले एनसिएम मर्चेन्ट बैंकिङ्लाई बिक्री प्रबन्धक तोकेको छ । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात बैंकको पूँजी २७ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ११७३ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेप्से परिसूचक ६५ अंकले गिरावट, ११८ कम्पनीका लगानीकर्ताले गुमाए, सबै समूह राताम्मे

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक ६५ दशमलब ४४ अंकले घटेर १३०९ दशमलब ७० अंकमा झरेको छ । सो दिन कारोबार शुरु भएदेखि नै सेयर बजार निरन्तर रुपमा घटेको हो । बजारमा कारोबार भएका १२३ कम्पनी मध्ये ११८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो दिन बीमा कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । सोमबार मात्रै ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने अन्य ६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, साल्टी होटल, सगरमाथा इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल ग्रामीण विकास बैंक र सुमिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो । सोमबार जम्मा ५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमाउनेमा अरुण फाइनान्स, ओरियन्टल होटल, राष्ट्रिय बीमा कम्पनी, रिलायन्स फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सामान्य प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले ओरालो लागेको छ । होटल समूहको परिसूचक १२८ र हाइड्रोपावर समूहको परिसूचक ७३ अंकले ओरालो लागेका छन् । त्यस्तै, कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरोले अंकले ओरालो लागेका छन् । सोमबार ११ लाख २६ हजार कित्ता सेयर ५३ करोड ६६ लाख २८ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिमालयन पावरको १० लाख ६५ हजार कित्ता आइपीओ खुला, फागुन २ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको थप साधारण सेयर(आइपीओ) माघ १७ गते सोमबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आयोजना(उद्योग) प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाका बासिन्दाहरुको लागि एक सय अंकित मूल्यको १० लाख ६५ हजार ४१७ कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । कम्पनीका अनुसार कुल १० लाख ६५ हजार कित्तामध्ये ५ लाअ ३२ हजार ७०८ कित्ता सेयर लमजुङ्ग जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ्ग र अर्चलबोट गरि ६ वटा गाविसका बासिन्दाहरुका लागि र बाँकी ५ लाख ३२ हजार ७०९ कित्ता सेयर बाकी जिल्लाका सम्पूर्ण बासिन्दाहरुलाई छुट्टाइएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियूक्त गरेको छ । इच्छुक लगानीकर्ताले हिमालयन पावर पार्टनर लिमिटेड(आयोजनाको साइट कार्यालय), लमजुङ्ग जिल्लाको ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालय बेसीशहर बजार बाट आवेदन दिन सक्ने छन् । साथै, लगानीकर्ताले लमजुङ्ग जिल्लाको प्यासिफिक डेभलपमेन्ट बैंक भोटेबडार शाखा र लमजुङ्गमै रहेको कैलाश विकास बैंकको शाखाबाट आवेदन दिन पाउने छन् । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।