एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनआईसी एशिया क्यापिटलले नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन अनुमोदन गरेको  छ। सभामा सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी र ११ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको जानकारी दिए । उनका अनुसार आषाढ मसान्तसम्म ८ लाख डिम्याट खाता खोलिएको छ भने म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र १ वटा खुलामुखी गरी ५ योजना सञ्चालन गर्दै ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिएको छ । लगानी व्यवस्थापन सेवामा ७२० ग्राहकबाट २ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन भइरहेको छ । सेयर रजिष्ट्रार सेवाअन्तर्गत २३ कम्पनीलाई सेवा दिइरहेको क्यापिटलले हालसम्म १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको जनाएको छ । कम्पनीले यसअघि सम्म सेयरधनीलाई कुल २९० प्रतिशत बराबरको लाभांश वितरण गरिसकेको छ ।

बुङ्गल हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । बझाङको बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ । भदौ १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ६२ हजार २५० कित्ता कर्मचारी र बाँकी रहेको १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थको घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा अपरान्ह साढे ४ बजे १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गर्नेछ । कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।