साढे ११ करोडको हकप्रद सेयर जारी गर्दै युनाइटेड फाइनान्स

काठमाडौं, १३ असार । युनाइटेड फाइनान्स लिमिटेडले साढे ११ करोड मुल्य बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चार कित्ता साधारण सेयर बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंया मुल्य अंकित ११ लाख ५९ हजार ८ सय ३६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । यो हकप्रद सेयर असार ३० गतेबाट निष्काशन आरम्भ हुनेछ भने भदौ १ गते निष्काशन बन्द हुनेछ । ४६ करोड ३९ लाख चुक्ता पुँजी रहेको युनाइटेड फाइनान्सले पुँजी वृद्धिको योजना अनुसार हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरको निष्काशकमा नविल इन्भेष्टमेन्ट बैंकिङलाई तोकिएको छ । युनाइटेड फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ७ करोड नाफा कमाएको थियो । कम्पनीको प्रति सेयर नेटवर्थ १४० रुपैंयाँ २१ पैसा रहेको छ भने प्रति सेयर आम्दानी २१ रुपैंयाँ ३८ पैसा रहेको छ ।

दिब्यश्वरी हाइड्रो पावरको ३ करोड ९६ लाखको सेयरका लागि आवेदन खुल्यो

काठमाडौं, ६ असार । दिव्यश्वरी हाइड्रो पावर लिमिटेडको तीन करोड ९६ लाख रुपैंयाँ बराबरको साधारण सेयरका लागि आवेदन खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैंयाँ मुल्य अंकित तीन करोड ९६ लाख रुपैंयाँ बराबरको सेयर निष्काशन गरेको हो । सो मात्रामा साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कम्पनीको प्रस्तावलाई नेपाल धितो पत्र बोर्डले जेठ ३२ गते स्विकृति दिएको थियो । दिब्यश्वरीले असार १३ गतेदेखि २७ गतेसम्मका लागि सेयर आवेदन खुल्ला गरेको हो । एस क्यापिटल मार्फत सेयरको आवेदन दिन सकिनेछ । दिब्यश्वरीले संखुवासभा जिल्लामा ४ मेगावाटको सबखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले केहि समय पहिले मात्रै आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर जारी गरेको थियो ।

यस्ता छन् सेयर बजार बढ्नुका कारण

काठमाडौं, १ असार । पछिल्लो केहि दिनदेखि नेप्सेले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । कारोबार रकम दुई अर्ब नाघ्ने देखि नेप्से परिसूचक समेत दैनिक नयाँ उचाईमा पुगिरहेको छ । आइतबारदेखि बुधबारसम्ममा नेप्से परिसूचक ५२ अंकले बढेको छ भने ७ अर्ब २५ करोडको कारोबार भैसकेको छ । अर्थतन्त्र खुम्चिएर शुन्य दशमलब ७७ प्रतिशतको वृद्धिदरमा सिमित हुँदा पनि बजार निरन्तर उकालो लागेपछि सेयर बजारका जानकारहरुकै मत पनि बाझिन थालेको छ । नियामक निकाय नेपाल धितो पत्र बोर्डले लगानी कर्ता सचेत हुनुपर्ने बताएको छ भने नेप्सेले बजार बढ्नुलाई स्वभाविक मानेको छ । सेयर बजार विश्लेषक पनि बजार बढ्नुलाई अस्वभाविक मान्दैनन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सह प्रवक्ता मुराहरी पराजुली भन्छन–‘बजारमा जोखिम मापनको आधार के हो ? कति बढ्यो भने जोखिम मान्ने ? त्यसकारण बजारलाई जोखिम उन्मुख भन्न मिल्दैन् ।’ उनले अहिले सेयर बजार खुम्चिनु पर्ने कुनै कारण नरहेको बताउँदै भने–सिडिएसले कारोबारलाई सहज बनाएको छ, तरलता बढेकाले सस्तो ब्याजदरमा ऋण लिएर लगानी कर्ता सेयर बजारमा आएका छन्, आत्तिनु पर्ने अवस्था छैन् ।उता, नियामक निकायका रुपमा रहेको धितो पत्र बोर्डले भने लगानी कर्ता सचेत हुनु पर्ने बताउन थालेको छ । ‘बजार बढ्नु राम्रो हो तर सेयर बजारका लगानी कर्ता जहिल्यै सचेत हुनु पर्छ, अहिले त बजार निरन्तर बढिरहेको छ, त्यसकारण पनि लगानी कर्ताले बिशेष ध्यान पुर्याउनु पर्छ’, बोर्डका प्रवक्ता निरज गिरिले भने । बजारमा बढेको तरलता, सिडिएस प्रबिधीले ल्याएको सहजताले सेयर बजार बढेको तथ्य भने गिरि पनि स्विकार गर्छन् । बैंक तथा वित्तिय क्षेत्रको परफरमेन्स सन्तोषजनक रहेको तथा रेमिटेन्स आप्रवाह नघटेकाले सेयर बजार बढेको पनि उनले बताए । बजार विश्लेषक रविन्द्र भट्टराई पनि सेयर बजार बढ्नुलाई स्वभाविक नै मान्छन् । उनको विश्लेषणमा यो परफरमेन्स पुस मार्केट नभएर डिमाण्ड पुल मार्केट हो । त्यसकारण पनि बजार दैनिक बढिरहेको उनको निष्कर्ष छ । सेयरको मुल्य बढेका कारण पुराना लगानी कर्ता आकर्षित भएको र त्यसले नयाँलाई समेत बजारमा तानेको भट्टराई बताउँछन् । बुधबार मात्रै बजार ६ दशमलब ३२ अंकले बढेर नेप्से परिसूचक १६२० दशमलब ५७ अंकमा पुगेको छ । यो दिन १३५ कम्पनीको १७ लाख ९२ हजार कित्ता सेयर एक अर्ब ३९ करोडमा कारोबार भएको हो ।