स्वरोजगार लघुवित्त विकास बैंकको १६.६६ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर

काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले १६.६६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको निर्णय अनुसार कात्तिक ११ गतेको साधारण सभाबाट पारित गरेपछि लगानी कर्तालाई चुक्ता पुँजीको १६.६६ प्रतिशत अर्थात एक करोड ७४ लाख ९९ हजार ६ सय ८० रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बैैंकले बोनस सेयर वितरण पछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशतका दरले हकप्रद सेयर समेत निष्काशन गर्ने भएको छ । नवौं बार्षिक साधारण सभाका लागि बैंकले असोज २३ गतेदेखि बुक क्लोज गर्नेछ । असोज २३ गतेअघि सम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले बोनस सेयर तथा हकप्रद सेयर पाउनेछन् ।

नेपाल कम्युनिटी डेभलपमेन्टको १२० प्रतिशत हकप्रद सेयर असोज २६ देखि

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद सेयर असोज २६ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले चुक्ता पुँजी पुर्याउने योजना अनुसार प्रति एक कित्ता बराबर १.२ कित्ताको अनुपातमा २६ लाख ४३ हजार ५ सय ३८ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । लगानी कर्ताहरुले कात्तिक २९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकले एनआइबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शाखा, एनआइबिएल क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरास्थित चिप्लेढुंगा शाखा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट हकप्रद सेयर भर्न सकिने व्यवस्था गरिएको छ ।

माउण्ट मकालुको एक लाख ३१ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकको एक लाख ३१ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ रहेको छ । पछिल्लो समय(बुधबार) यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७३ रुपैयाँमा किनबेच भएको थियो ।