देव विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, १३ साउन । देव विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको बोर्ड बैठकले पुँजी वृद्धिको योजना अनुसार सो मात्रामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो । हकप्रद सेयर निष्काशनका लागि बैंकले साउन २० गतेदेखि २८ गतेसम्म ब्रुक क्लोज गर्ने जानकारी समेत दिएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने सम्बन्धी निर्णय पारित गराउनका लागि साउन २८ गतेका लागि बिशेष साधारण सभा समेत डाकेको छ । हाल देव विकास बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रहेको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब २२ करोड पुग्नेछ ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा होटल समूह १९५ अंकले उकालो

काठमाडौं, १२ साउन । बजारमा नेप्से परिसूचक निरन्तर बढ्ने क्रम जारी छ । मंगलबार २८ अंकले बढेको परिसूचक बुधबार पनि १४ अंकले बढेको छ । बुधबार परिसूचक १४ अंकले बढेर १८८१ अंकमा पुगेको छ । सो दिन १४८ कम्पनीको ४३ लाख ८५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ । बुधबार सबैभन्दा बढी होटल समूहको परिसूचक १९५ अंकले उकालो लागेको छ । त्यस्तै हाइड्रोपावर, विकास बैंक, बैकिङ र फाइनान्स समूहको परिसूचक क्रमशः ४५, ३३, १५ र ५ अंकले बढेका छन् । बीमा, उत्पादनमूलक र अन्य समूह भने क्रमशः २३, १३ र ७ अंकले ओरालो लागेका छन् । बजारमा ९ वटा कम्पनीको सेयर मूल्य करिब १० अंकले बढेको छ । सबैभन्दा बढी लुम्बिनी फाइनान्सको १० प्रतिशतले सेयर मूल्य बढेको छ । माउन्ट मकालु डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, तारागाँउ रिजेन्सि होटल, सिन्धु विकास बैंक, प्रोगेसिभ फाइनान्स, गुडविल फाइनान्स कम्पनी, यूनाइटेड फाइनान्स र सोल्टी होटलका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंक लि. प्रमोटर सेयरका लगानीकर्ताले साढे ९ प्रतिशत गुमाएका छन् । बजारमा नेपाल बैंकको सबैभन्दा बढी ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक र प्राइम कमर्सियल बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । अन्य कम्पनीको ७ करोड भन्दा थौरै रुपैयाँको सेयर कारोबार भएको छ ।

सेञ्चुरी बैंक लिमिटेडले १०ः३ हकप्रद सेयर निष्कासन गर्दै, साउन १८ गते बुक क्लोज

काठमाडौं, ११ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चुँक्ता पूँजीको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुँक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँको सो अनुपातमा सेयर निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि बैंकको साउन १८ गते बुक क्लोज हुने बैंकले जनाएको छ । उक्त निर्णय गत पुस २२ गते बसेको बैंकको पांचौं वार्षिक साधारणसभाले पारित गरेको थियो । बैंकका अनुसार सेयरधनीले सेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति( साउन १८) गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा भएको कारोवारबाट शेयर खरिद गर्नुपर्ने छ । त्यसपछि शेयरधनी दर्ता पुस्तिका बन्द भएको मितिले ७ (सात) कार्य दिनसम्म शेयर नामसारी तथा दाखिल खारेजका लागि आवश्यक कागजात सहित यस बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लि., काठमाडौं प्लाजा, काठमाडौंमा पेश गर्नु पर्ने बैंकले जनाएको छ । बैंकका अनुसार सो विवरणको आधारमा कायम भएका शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन पाउने छन् ।