सपोर्ट लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव बिष्णु कान्त चौधरीले जानकारी दिए ।  लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ करोड २४ लाख ४३ हजार रुपैयाँको ९.५ प्रतिशतका दरले १ करोड १६ लाख ३२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले ६ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् १ करोड २२ लाख ४४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरिएको कम्पनी सचिव चौधरीले बताए ।  उनका अनुसार उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ । 

नेप्सेको ८५ प्रतिशत लाभांश घोषणा, पुस २९ गते डाक्यो सेयरधनी भेला

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्से सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब रुपैयाँको करसहित ८५ प्रतिशतका दरले ८५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न नेप्सेले पुस २९ गते ४४औँ वार्षिक साधारण सभा नेप्से युएनआई शान्तिमार्ग, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।  नेप्सेको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, इक्विटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्नेछ ।  साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लागि महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त हुने लेखापरीक्षकलाई नेप्सेको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा निजको पारिश्रमिक र सेवा, शर्त तोक्नेछ ।  नेप्सेले आर्थिक वर्ष २०८०/८१ मा ७५ प्रतिशतका दरले ७५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ६४ प्रतिशतका दरले ६४ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा १ सय प्रतिशतका दरले १ अर्ब रुपैयाँ लाभांश वितरण गरेको थियो । 

रिलायन्स स्पिनिङ्गको आईपीओ बिक्री, कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले आज पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोष, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ ।  अब ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता कर्मचारीहरुलाई सुरक्षित राखि बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । अंकित मूल्य १ सय रुपैयाँ नै कायम रहेपनि बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्ताहरुका लागि कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।