सेयर बजार सामान्य अंकले बढ्दा आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले कमाए १० प्रतिशत
काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । कारोबार शुरु भएको केही समय ओरालो लागेको बजार अन्तत ६.६१ अंकले बढेर ११८०.९८ अंकमा पुगेको छ । अछिल्लो दिनको तुलनामा मंगलबारको बजार ०.५६ प्रतिशतले बढेको छ । दिनभरको कारोबारमा १६० कम्पनीको १८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कुल ७ लाख ३२ हजार ७२५ कित्ता सेयर किनबेच भएको छ । सामान्य अंकले बढेको बजारमा पनि आरम्भ माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०२ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ५.३६ प्रतिशत गुमाएका छन् । बजारमा होटल र अन्य समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ५० अंकले उकालो लागेको छ ।
पोखरा फाइनान्सले ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, फाइनान्सले ८.६८७ प्रतिशत अर्थात ७ करोड ९ लाख ५२८ रुपैयाँ) नगद लाभांश दिने प्रस्ताव राखेको छ । हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने पस्ताव गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल फाइनान्सको चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ रहेको छ । सो मात्रा(अर्थात ४ करोड ८ लाख रुपैयाँ बराबर) को बोनस पछि संस्थाको चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ ।
मेरो माइक्रोफाइनान्सले २६ प्रतिशत लाभांश दिने, पुँजी ३२ करोड ८९ लाख नाघ्ने
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २६.३२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंगलबार(आज) बिहान बसेको संस्थाको ७२औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ रहेको छ ।