‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’
काठमाडौं । दाङको तुलसीपुरलाई क्षयरोग मुक्त बनाउनका लागि ‘एआई एक्सरे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ । तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए । तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी बिरामी खोजिएको छैन । त्यो बाहेक अन्य १७ वडामा ‘एआई एक्सरे’बाट बिरामी खोजिएको उनको भनाइ छ । विभिन्न शिविरमा उक्त मेसिन प्रयोग गरेर सङ्क्रमित खोज्ने गरिएको छ । जसले चिकित्सकलाई क्षयरोग पहिचान गराउन सहज भएको छ । ‘पहिले साधारण एक्सरेबाट क्षयरोग पहिचान गर्ने गरिन्थ्यो । अहिले एआई एक्सरेबाट रोग पहिचान गर्ने गरेका छौँ, त्यसले सहज बनाएको छ,’ उनले भने । एआई एक्सरेले साधारण माइक्रोस्कपी गर्दा पनि नदेखिएको क्षयरोगको सङ्क्रमण देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । उनका अनुसार एआई एक्सरेमा सङ्क्रमण देखिएमा त्यसको पुष्टिका लागि पुनः ‘जीनएक्सपर्ट’ मेसिनमा परीक्षण गरिन्छ । यो सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको छ । ‘हामीले पहिले एआई एक्सरे मेसिनबाट हेर्छौं, त्यसपछि जीनएक्सपर्ट मेसिनमा परीक्षण गरेपछि पोजेटिभ देखिएमा उपचार सुरु गर्छौ । यसरी हामीले सङ्क्रमित पहिचान गरी उपचार गर्ने गरेका छौँ,’ शाखा प्रमुख न्यौपानेले भने । सङ्क्रमितलाई ‘डटस्’ अर्थात् प्रत्येक दिन निगरानी गरेर औषधि खुवाउने गरिएको छ । यसरी छ महिनासम्म प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने गरिएको शाखा प्रमुख न्यौपानेले बताए । तुलसीपुर उप-महानगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत यसरी क्षयरोग सङ्क्रमितको पहिचान गरि उपचार गर्ने गरिएको छ । हाल उक्त कार्यक्रम दोस्रो वर्षमा सञ्चालित छ । आर्थिक वर्ष २०८१/८२ देखि तुलसीपुरमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो । तुलसीपुर उप-महानगरपालिकाले ९७ प्रतिशत सङ्क्रमितलाई उपचार गरिसकेको प्रमुख न्यौपानेले बताए । चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा ३५५ जना सङ्क्रमित पहिचान गरिएको छ । १५ वर्ष मुनीका ३४ जना र १५ वर्ष माथिका ३२१ जनामा क्षयरोग सङ्क्रमण भएको पुष्टि भएको छ । प्रत्येक एक लाखमा २२७ जनामा क्षयरोग सङ्क्रमण देखिएको उनको भनाइ छ । हाल तुलसीपुरमा १३ डट्स केन्द्र, चार स्थानमा टीबी माइक्रोस्कपी लागु गरिएको छ ।
युवा पलायन रोक्न एआई र आईटीमा रोजगारी विस्तार अपरिहार्य: राजेन्द्र मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधि क्षेत्रलाई नेपालका आर्थिक समृद्धि, रोजगारी सिर्जना र डिजिटल रूपान्तरणका प्रमुख आधार बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । कास्कीको पोखरामा सूचना प्रविधिमा आधारित कम्पनी ‘टेक पाईला’को उद्घाटन कार्यक्रममा बोल्दै उनले विश्व तीव्र गतिमा एआई केन्द्रित अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा नेपालले पनि समयमै आवश्यक पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र नीतिगत सहयोगमा लगानी गर्न ढिला गर्न नहुने बताए । उनले नेपालसँग पर्याप्त युवा जनशक्ति र सम्भावना भए पनि उचित नीति र अवसरको अभावमा ती प्रतिभा विदेश पलायन भइरहेको उल्लेख गरे । ‘यदि नेपालले एआई पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति र नीतिगत समर्थनमा पर्याप्त लगानी गर्न सक्यो भने एआई आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा डिजिटल नेपालको निर्माणको प्रमुख आधार बन्न सक्छ,’ मल्लले भने । मल्लका अनुसार एआई केवल प्रविधि मात्र नभई भविष्यको अवसर हो, जसले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्न सक्ने क्षमता राख्छ । उनले एआई कम्प्युटर केन्द्र स्थापना गर्न सके विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा स्टार्टअप उद्यमीहरूलाई विश्वस्तरीय प्रविधि र स्रोतसाधनमा पहुँच उपलब्ध गराउन सकिने बताए । यस्ता केन्द्रले नेपालमा एआई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ। मल्लले एआई सिक्ने, प्रयोग गर्ने र नवप्रवर्तनमा सक्रिय हुने युवाहरू नै भविष्यको डिजिटल अर्थतन्त्रका नेतृत्वकर्ता हुने उल्लेख गर्दै एआई शिक्षा र अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले बढ्दो युवा विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै कक्षा १२ पछि नै स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । ‘कमाउँदै, रमाउँदै र सिक्दै करिअर बनाउने वातावरण नेपालमै बनाउनुपर्छ,’ उनले भने । अध्ययनसँगै पार्टटाइम रोजगारी, डिजिटल सीप, इन्टर्नसिप र उद्यमशीलताका अवसर विस्तार गर्न सके विदेश पलायन उल्लेख्य रूपमा घटाउन सकिने उनको भनाइ छ । मल्लले सूचना प्रविधि उद्योग, शैक्षिक संस्था र निजी क्षेत्रबीच सहकार्य बढाएर युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिए । उनका अनुसार नेपालमा प्रतिभाको कमी छैन, तर अवसर र वातावरण अभावका कारण युवाहरू विदेशिन बाध्य छन् । नेपालले एआई, डाटा विज्ञान, सफ्टवेयर विकास, डिजिटल सेवा र प्रविधिमूलक उद्यमशीलतामा केन्द्रित रणनीति अपनाउन सके निकट भविष्यमा दक्षिण एसियाकै महत्वपूर्ण डिजिटल गन्तव्यका रूपमा स्थापित हुन सक्ने मल्लको भनाइ छ।
एसइईमा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले राखु क्षेत्रमा सञ्चालित तीन सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरेका हुन् । रघुगङ्गा गाउँपालिका–२ र ३ स्थित रघुगङ्गा मावि, मुक्तिधाम मावि र ज्ञानोदय माविबाट एसइई परीक्षा २०८२ मा ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई जनही १० हजार रुपैयाँ तथा ए ग्रेड ल्याउनेलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। यस वर्ष रघुगङ्गा माविबाट ए प्लस ग्रेड ल्याउने एक जना र ए ग्रेड ल्याउने ७ जना, मुक्तिधाम माविबाट साधारण तथा प्राविधिक धारतर्फ ए प्लस ग्रेड ल्याउने ३ जना र ए ग्रेड ल्याउने ६ जना तथा ज्ञानोदय माविबाट ए ग्रेड ल्याउने एक जना विद्यार्थी पुरस्कृत भएका छन् । साथै दृष्टिविहीन दुई विद्यार्थीलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ । शाहीले ए प्लस ग्रेड ल्याउने चार जनालाई जनही १० हजार रुपैयाँ र ए ग्रेड प्राप्त १४ जना तथा २ दृष्टिविहीन गरी १६ जनालाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरेका हुन् । उनले विगत पाँच वर्षदेखि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई निरन्तर पुरस्कृत गर्दै आएक छन् । साथै, भविष्यमा ४ जीपीए ल्याउने विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेका छन् । मुक्तिधाम माविका विद्यार्थीलाई सोही विद्यालयमा तथा रघुगङ्गा मावि र ज्ञानोदय माविका विद्यार्थीलाई रघुगङ्गा मावि पिप्लेमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा तथा प्रधानाध्यापक रमेशसिंह ठकुरीले पुरस्कार वितरण गरे । सो अवसरमा कमल शाहीले आफ्ना बुबाको स्मृतिमा स्थापना गरेको ६ लाख ११ हजार रुपैयाँ राशिको ‘देवबहादुर शाही अक्षयकोष’बाट रघुगङ्गा माविका विभिन्न कक्षाका विद्यार्थीलाई समेत विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।