रञ्जीत आचार्य कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डको अन्तर्राष्ट्रिय जुरीमा मनोनित
काठमाडौं । प्रिज्मा एड्भर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन् । कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपालीको प्रतिनिधित्व हुनु समग्र नेपालका लागि ऐतिहासिक उपलब्धि मानिएको छ । सन् २०१० मा स्थापना भई अष्ट्रियाको भियना शहरमा मुख्यालय रहेको उक्त अवार्ड प्रत्येक वर्ष फ्रान्सको कान्स शहरमा आयोजना गरिन्छ । विश्व चलचित्र उद्योगको प्रमुख केन्द्रका रूपमा परिचित कान्समा हुने यो अन्तर्राष्ट्रिय महोत्सवले कर्पोरेट फिल्म, अनलाइन मिडिया उत्पादन, वृत्तचित्र तथा प्रतिवेदन निर्माणमा विश्वस्तरीय मापदण्ड स्थापित गर्दै आएको छ । यस महोत्सवको निर्णायक मण्डलमा विगतमा ओस्कार र एमी अवार्ड विजेताहरू समेत सहभागी भइसकेका छन् । प्रतियोगितामा प्रदान गरिने गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफीहरू कर्पोरेट फिल्म क्षेत्रका उत्कृष्ट सम्मानका रूपमा लिइन्छन् । सन् २०२६ को १७औँ संस्करणमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश गरिनेछ भने विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, ग्राहक संस्था, प्रसारण संस्था तथा विद्यार्थीहरूको सहभागिता रहनेछ । ३५ वर्षभन्दा बढी अनुभव भएका आचार्य नेपालका प्रभावशाली विज्ञापन तथा सञ्चार विज्ञमध्ये एक हुन् । उनको नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले ‘कृति अवार्ड’ मा लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि जित्दै नेपालकै सर्वाधिक पुरस्कार प्राप्त स्वतन्त्र विज्ञापन एजेन्सीका रूपमा पहिचान बनाएको छ । उनले सञ्चालन गरेका चर्चित अभियानहरूमध्ये कोका–कोला नेपालको ‘मन खोलौँ कोकसँग’ तथा ‘मेरो मोबाइल’ लाई ‘एनसेल’ मा पुनः ब्रान्डिङ गर्ने अभियान विशेष रूपमा चर्चित छन् । विशेषगरी, एनसेल पुनः ब्रान्डिङका क्रममा नेपालको इतिहासमै पहिलो पटक पत्रिकाको मास्टहेडलाई बैजनी (पर्पल) रंगमा रूपान्तरण गरिएको थियो । उनका ‘मुटु चाहिन्छ मुटु’, ‘मुड चेन्ज तुरुन्तै’, ‘चिसो भनेकै कोका–कोला’ जस्ता नाराहरू नेपाली समाजमा लोकप्रिय छन् । अन्तर्राष्ट्रिय स्तरमा आचार्यले सन् २००० मा अमेरिकाबाट बेल रिङ्गर अवार्ड, २००७ मा एड क्लब मुम्बईबाट एबी अवार्ड तथा हालै सिंगापुरमा ब्रान्डलरिएट बेस्ट ब्रान्ड्स अवार्ड २०२५ प्राप्त गरेका छन् । आचार्यले आफ्नो मनोनयनप्रति प्रतिक्रिया दिँदै भनेका छन्, 'सिर्जनशीलताका लागि कुनै सीमारेखा वा पासपोर्ट हुँदैन । उत्कृष्ट कथाले सधैं विश्वमञ्च पाउँछ । यो मेरो मात्र होइन, हरेक नेपाली सिर्जनशील व्यक्तिको उपलब्धि हो ।' यस मनोनयनले पहिलो पटक नेपाली सिर्जनशील व्यक्तित्वलाई विश्वस्तरीय दृश्य मिडिया मूल्याङ्कनको उच्च तहमा पुर्याएको छ । जुरी सदस्यका रूपमा आचार्यले विश्वभरबाट प्राप्त प्रविष्टिहरूको मूल्याङ्कन गर्नेछन् र दक्षिण एसियाली कथा–वाचन शैलीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछन् । यो उपलब्धि नेपाली विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि गौरवको विषय मात्र नभई नेपालको सिर्जनशीलताको अन्तर्राष्ट्रिय पहिचानको संकेतका रूपमा लिइएको छ ।
शैलुङ–सुनापति क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्य बनाउने अध्ययन सम्पन्न
काठमाडौं । रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ पर्यटकीय पदमार्ग (ट्रेल) विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चारदिने स्थलगत अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘दुहु(सुनापति डाँडा(शैलुङ ट्रेल’ अध्ययन भ्रमणले रामेछाप र दोलखाका विभिन्न सम्भावनायुक्त पर्यटकीय स्थलहरूको वस्तुस्थिति, पहुँच, पूर्वाधार अवस्था तथा पर्यटन विकासका अवसरहरूको विस्तृत अवलोकन गरिएको टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीले जानकारी दिएका छन् । अध्ययन टोलीले काठमाडौंबाट यात्रा सुरु गर्दै सिन्धुलीस्थित प्रसिद्ध धार्मिकस्थल कुशेश्वर महादेव मन्दिर हुँदै रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरूको स्थलगत अध्ययन गरेको थियो । भ्रमणका क्रममा सुनापति क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदा, आकर्षक चिया बगान, लखपतिमाने डाँडा लगायतका सम्भावनायुक्त गन्तव्यहरूको अध्ययन तथा अवलोकन गरिएको थियो । त्यसैगरी, हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र सानो शैलुङ र दुई जिल्ला दोलखा र रामेछापको सीमाक्षेत्रमा रहेको प्रसिद्ध ठुलो शैलुङको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व तथा पर्यटन सम्भावनाबारे पनि विस्तृत अध्ययन गरिएको छ । समुद्री सतहबाट तीन हजारभन्दा बढी उचाइमा रहेको शैलुङ क्षेत्र प्राकृतिक दृश्यावलोकन, धार्मिक पर्यटन, पदयात्रा तथा साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा परिचित छ । अध्ययन भ्रमणका क्रममा सुनापति गाउँपालिकाको लामागाउँमा स्थानीयले मौलिक संस्कृति झल्किने धिमे बाजा, तामाङ समुदायको डम्फु नृत्य तथा सांस्कृतिक झाँकीसहित अध्ययन भ्रमण टोलीलाई स्वागत गरेका थिए । यसले स्थानीय समुदाय पर्यटन विकासप्रति उत्साहित र सकारात्मक रहेको सन्देश दिएको अध्ययन टोलीको निष्कर्ष छ । सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले गाउँपालिकाले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अगाडि बढाइरहेको बताउँदै पर्यटन पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन तथा स्थानीय संस्कृतिको संरक्षणका लागि विशेष प्राथमिकता दिइएको जानकारी गराएका हुन् । उनले नेपाल पर्यटन बोर्डको यस पहलले रामेछाप र दोलाखा जिल्लाकै पर्यटन विकासलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारी, रोविन रेग्मी र प्रदीप गैरेले पर्यटन विकाससँगै वातावरणीय संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना तथा ऐतिहासिक स्थलहरूको संरक्षणलाई समान महत्व दिनुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहररुले दिगो पर्यटन विकासका लागि संरक्षण र विकासलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताउँदै यसबाट स्थानीय समुदायको आयआर्जन र जीवनस्तरमा समेत सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे । यसका लागि समुदाय र सरकारको साझा पहल आवश्यक रहेको पनि उनीहरुको भनाई थियो । पछिल्लो समय काठमाडौंबाट छोटो दूरी र सहज पहुँचका कारण शैलुङ क्षेत्र आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित छ । स्थानीय होटल व्यवसायी धावा लामाका अनुसार हाल शैलुङ क्षेत्रमा मासिक तीनदेखि चार हजारसम्म पर्यटक पुग्ने गरेका छन् । होमस्टे सेवा, स्थानीय परिकार, सांस्कृतिक अनुभव र प्राकृतिक सौन्दर्यले पर्यटकको बसाइ अवधि बढाउन मद्दत गरिरहेको उनको भनाइ छ । नेपाल पर्यटन बोर्डको पहलमा गरिएको यस अध्ययन भ्रमणले रामेछाप र दोलखालाई जोड्ने नयाँ पर्यटकीय पदमार्गको औपचारिक विकास, पूर्वाधार विस्तार तथा पर्यटन प्रवर्द्धनका आगामी कार्यक्रम निर्माणमा टेवा पुग्‍ने अपेक्षा गरिएको छ ।
तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ । हालसम्म २० वटा विद्यालय र १० वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भइसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी र टोल विकास संस्थामा आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उनले बताए । 'हामीले अभियानकै रूपमा सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ । जेठ महिनामा अभियानका धेरै विद्यार्थी र नागरिकलाई मानसिक स्वास्थ्यबारे जानकारी दिएका छौँ', रावलले भने, 'विद्यालय तथा समुदायमा कार्यक्रम गर्दा मानसिक समस्या भएकाहरू खुलेर परामर्श तथा उपचारका लागि आउने वातावरण बनिरहेको छ ।' मनमा गुम्सिएका कुरा व्यक्त गर्न नपाउँदा र विविध समस्याले तनाव बढ्दा मानिसलाई मानसिक स्वास्थ्य समस्या हुने भएकाले पालिकाले प्राथमिकता दिएर काम गरिरहेको शाखा प्रमुख रावलले बताए । 'मानसिक समस्याका कारण आत्महत्याका घटना बढ्दै गएका छन् । कतिपयले विविध मानसिक समस्या भोगिरहेको विषष सार्वजनिक भइरहेकै छ । त्यसैले मनोसेवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता महसुस गरेका हौँ । अभियानका क्रममा विद्यार्थीका भावनात्मक परिवर्तन बुझ्न, पढाइ, अभाव, पारिवारिक र सामाजिक वातावरणले हुने तनाव व्यवस्थापन गर्न सहयोग पुगेको छ', उनी भन्छन्, 'कार्यक्रममा कतिपय बालबालिकाले मनका कुरा खोल्नुभयो, केही बालबालिका भक्कानिएर रोएर मन हल्का गर्नुभयो । हामीले उनीहरुलाई आवश्यक परामर्शका लागि निरन्तर सम्पर्कमा ल्याएका छौँ ।' बालबालिकाको शैक्षिक विकासका लागि पनि मानसिक स्वास्थ्यमा लगानी बढाउनुपर्ने विद्यार्थीको माग छ । 'हामीले धेरै कुरा अभिभावक तथा शिक्षकलाई भन्न सक्दैनौँ', बालिका सन्ध्या चौधरीले भनिन्, 'पढाइमा पनि अभिभावकको अपेक्षाअनुसार गर्न सकिएको हुँदैन । परिवार, साथीभाइ र समाजसँग राम्रो सम्बन्ध बनाउन सकिरहेका छैनौँ । यस्तो बेला हामीलाई धेरै तनाव छ । त्यसैले नगरपालिकाको कार्यक्रमबाट लाभान्वित भएका छौँ ।' पालिकामा यसै वर्षबाट प्रदेश सरकार, सिएमसी नेपाल नामक संस्था र पालिकाको सहकार्यमा सङ्क्रमणकालीन न्यायका लागि मनोसेवा सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत सशस्त्र द्वन्द्वका समयमा पीडित तथा प्रभावित परिवारको मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने भनिएको छ । मानसिक स्वास्थ्य सेवाका लागि टीकापुर नगरपालिकामा दुई जना परामर्शदाता छन् । मनोसामाजिक परामर्शकर्ता मीना कुँवरले सामी कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएका र उनीहरूका परिवारका सदस्यलाई परामर्श दिने गरेकी छन् । सहरी स्वास्थ्य केन्द्र विजयनगरमा कार्यरत स्वास्थ्यकर्मी उषा भुसालले पनि मनोपरामर्श दिने गरेको छ भने टीकापुर अस्पतालमा सातामा तीन दिन चिकित्सकको सेवा उपलब्ध छ । टीकापुरका दुई स्वास्थ्य संस्था विजयनगर र नारायणपुरबाट मानसिक समस्या भएकालाई १२ किसिमको औषधि निःशुल्क रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ । सहरी स्वास्थ्य केन्द्र विजयनगरका इञ्चार्ज उषा भुसालले कार्यक्रम गर्दा धेरै बालबालिकाले खुलेर आफ्नो समस्या भन्न थालेका र समुदायस्तरमा नागरिक पनि मानसिक स्वास्थ्यबारे सचेत हुँदै गएका बताइन् । 'मानिसको आत्मविश्वास कम भएमा पनि मानसिक समस्या बढ्दै जान्छ । चिन्ता, तनाव, निराशाजस्ता समस्याका सङ्केत चिन्न र समयमै सहयोग खोज्न नागरिकलाई हौसला दिनुपर्छ', उनले भनिन्, 'मानसिक स्वास्थ्य ठीक भएमा जोखिमपूर्ण व्यवहारजस्तै लागुऔषधको सेवन, हिंसा तथा हानिकारण गतिविधि घट्छन् । मानिस स्वस्थ भए मात्र समाज स्वस्थ हुन्छ । त्यसैले पनि हामीले सचेतनालाई प्राथमिकता दिएका छौँ ।' मनोसामाजिक परामर्शकता मीना कुँवर समुदायमा मानसिक समस्याका थुप्रै समस्या रहेकाले उपचार तथा परामर्शमा आउन पनि कार्यक्रम आवश्यक रहेको बताउँसछन् । वैदेशिक रोजगारी, आर्थिक समस्या, अभाव, एक्लोपन, आपसी बेमेलजस्ता कारणले थरिथरिका समस्या देखिएकाले कतिपयलाई परामर्श सेवा, उपचारलगायतको खाँचो रहेको उनको भनाइ छ । कुँवरले भनिन्, 'मानसिक स्वास्थ्य सबैका लागि महत्त्वपूर्ण छ । मानसिक स्वास्थ्य ठीक नभएमा मानिसले छोटो समयमा गलत निर्णय लिनसक्ने र जसले ठूलो क्षति हुनसक्ने भएकाले मानसिक स्वास्थ्यलाई नागरिकले पनि प्राथमिकता दिनुपर्छ ।' रासस