बिदाका दिन पनि कक्षा १२ को नतिजा तयारीमा बोर्ड, असार १० को ‘डेडलाइन’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आगामी असार १० गतेभित्र सार्वजनिक गर्ने गरी तीव्र तयारी गरिरहेको छ । नतिजा प्रकाशनको पूर्वसन्धामा गरिने प्राविधिक र प्रशासनिक कार्यहरू अहिले द्रुत गतिमा भइरहेका छन्। बोर्डका अनुसार यस वर्ष देशभरका ४८ वटा तोकिएका केन्द्रहरूमा कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गरिएको थियो । उक्त उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको सम्पूर्ण कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ । विद्यार्थीहरूको भविष्य र शैक्षिक क्यालेन्डरलाई मध्यनजर गर्दै सकेसम्म छिटो नतिजा प्रकाशन गर्ने उद्देश्य बोर्डले लिएको छ । यसका लागि कार्यालय समयबाहेक बिदाका दिनहरूमा समेत बिहान र बेलुका अतिरिक्त समय काम भइरहेको बोर्डले जनाएको छ । अहिले परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीहरूले प्राप्त गरेको अंक प्रणालीमा प्रविष्टि ९डाटा इन्ट्री० गर्ने तथा कोडिङ(डीकोडिङ गर्ने प्राविधिक कार्य भइरहेको छ । नतिजा तयारीका सबै प्रक्रियाहरू पूर्वनिर्धारित कार्यतालिका र योजना अनुरूप नै अगाडि बढिरहेका छन् । कुनै प्राविधिक अवरोध नआएमा आगामी असार १० गतेभित्रै कक्षा १२ को नतिजा विद्यार्थीहरूको हातमा पुग्ने विश्वास बोर्डले दिलाएको छ ।
मौलिक उत्पादनलाई विश्व बजारमा पुर्याउन उन्नति र मेरियट बिजनेस काउन्सिलबीच साझेदारी
काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित हस्तकला (ह्याण्डीक्राफ्ट) लाई अन्तर्राष्ट्रिय आतिथ्य (हस्पिटालिटी) बजारसँग जोड्ने उद्देश्यका साथ उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको एक विशेष पहल हो, जसले नेपाली परम्परागत सीप र हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने कार्य गर्दै आएको छ । राजधानीमा आयोजित एक विशेष समारोहका बीच चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका तर्फबाट किरण एन्डीकोटले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो हस्ताक्षर समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटलगायत दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो । यस सहकार्यको मुख्य उद्देश्य नेपाली हस्तकला, महिला उद्यमी तथा समुदायमा आधारित उत्पादक समूहहरूले उत्पादन गरेका स्थानीय सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु हो । सम्झौताअनुसार मेरियट र यससँग आबद्ध होटलहरूमा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शन तथा प्रयोग गर्ने सम्भावनाहरूको खोजी गरिनेछ । यस पहलले नेपाली मौलिक हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा स्थापित गर्न मद्दत गर्नुका साथै स्थानीय समुदायका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । सहकार्य अन्तर्गत उन्नतिले आफ्नो प्रिमियम ब्राण्ड ‘सिया’मार्फत होटल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास तथा छनोट गर्नेछ । यसका साथै योग्य हस्तकला निर्माता र महिला नेतृत्वमा सञ्चालित उद्यमहरूको पहिचान तथा परिचालन गर्ने, उत्पादनको गुणस्तर र मौलिकता सुनिश्चित गर्ने, ब्राण्डिङ गर्ने, प्रवद्र्धनका लागि स्टोरीटेलिङ (कथा प्रस्तुतीकरण) गर्ने तथा यसबाट परेको सकारात्मक प्रभावको मूल्याङ्कन गर्ने कार्य पनि उन्नतिले नै गर्नेछ । अर्कोतर्फ मेरियटले आफ्ना होटलहरूलाई आवश्यक पर्ने उत्पादनसम्बन्धी मार्गदर्शन प्रदान गर्नेछ । छनोट गरिएका नेपाली उत्पादनहरूलाई आफ्ना होटलहरूमा प्रदर्शन तथा प्रवद्र्धन गर्ने सम्भावनाको खोजी गर्नुका साथै होटल सञ्चालकहरूसँग ती सामग्रीहरूलाई होटल सञ्चालन सामग्री तथा उपकरणमा समावेश गर्ने विषयमा छलफल र सहजीकरण गर्ने भूमिका मेरियटले खेल्नेछ । हस्ताक्षर समारोहमा बोल्दै चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरीले नेपालसँग समृद्ध हस्तकला र उद्यमशीलताको परम्परा रहेको उल्लेख गर्दै त्यसले विश्वस्तरमा अझ बढी पहिचान पाउनुपर्नेमा जोड दिए । यो साझेदारीले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै समावेशी आर्थिक वृद्धिलाई टेवा पु‍र्याउने लक्ष्य राखेको छ । स्थानीय स्तरमा उत्पादित वस्तुहरूलाई विश्वव्यापी उपभोक्तासम्म पुग्ने अवसर सिर्जना गरेर यस पहलले नेपालको हस्तकला क्षेत्रलाई थप सुदृढ बनाउनुका साथै देशभर दिगो उद्यम विकासलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ । दुवै संस्थाले सामाजिक उत्तरदायित्वयुक्त व्यावसायिक अभ्यासलाई प्रवर्द्धन गर्ने, स्थानीय उत्पादकहरूलाई सशक्त बनाउने तथा नवप्रवर्तनशील साझेदारीमार्फत नेपालको विशिष्ट सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने प्रतिबद्धता समेत पुनः व्यक्त गरेका छन् ।
एनसेल डाटा सेन्टरले पायो टियर–३ अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं । एनसेल बिजनेसले ललितपुरको नख्खुस्थित आफ्नो अत्याधुनिक डाटा सेन्टरले अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको घोषणा गरेको छ । कम्पनीका अनुसार यो टीयर–३ स्तरको प्रमाणीकरणले डाटा सेन्टरको उच्च विश्वसनीयता, सुरक्षा तथा गुणस्तरीय पूर्वाधारलाई प्रमाणित गरेको छ। उक्त डाटा सेन्टर नेपालमै पहिलो पटक सरकारद्वारा सूचीकृत इन्टिग्रेटेड डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकका रूपमा पनि चिनिएको छ । यस प्रमाणीकरणले डाटा सेन्टरको संरचना र सञ्चालन ‘रेटेड–३’ मापदण्डअनुसार रहेको पुष्टि गर्दछ, जसले उच्च उपलब्धता, समानान्तर मर्मत क्षमता र प्रतिकूल अवस्थाबाट छिटो पुनःस्थापना हुन सक्ने प्रणाली सुनिश्चित गर्दछ । कम्पनीका अनुसार डाटा सेन्टर लगभग ९९.९८२ प्रतिशत उपलब्धता सुनिश्चित गर्ने गरी डिजाइन गरिएको छ, जसले मर्मत वा आकस्मिक अवस्थाहरूमा पनि सेवा अवरुद्ध हुन दिँदैन । यो प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डस्ट्री एसोसिएसनबाट अधिकृत अडिट संस्था ‘डाटा सेन्टर मिडिया एलएलपी’ ले मूल्यांकनपछि प्रदान गरेको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यसलाई कम्पनी मात्र नभई नेपालकै लागि महत्वपूर्ण उपलब्धि भएको बताए । 'नेपालबाट डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटीमा टीआईए प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,' उनले भने, 'हामी विश्वस्तरीय डिजिटल पूर्वाधारमार्फत स्थानीय व्यवसायको विस्तार र सरकारको डिजिटल रूपान्तरणमा योगदान दिन प्रतिबद्ध छौँ ।' एनसेल डाटा सेन्टरले यसअघि नै सूचना सुरक्षा र गोपनीयतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ २७००१ र २७७०१ प्राप्त गरिसकेको छ । साथै, गुणस्तर व्यवस्थापन र वातावरणीय मापदण्डअन्तर्गत आईएसओ ९००१ र १४००१ मान्यता पनि हासिल गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ प्रमाणीकरणले बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सरकारी निकायदेखि साना–ठूला व्यवसायसम्मलाई सुरक्षित र भरपर्दो डिजिटल सेवा उपलब्ध गराउने क्षमतामा थप मजबुती ल्याएको छ । यसले महत्वपूर्ण प्रणालीहरूको डाउनटाइम न्यून बनाउने, अडिट तथा कम्प्लायन्स प्रक्रिया सहज बनाउने र संवेदनशील डाटाको सुरक्षित व्यवस्थापन सुनिश्चित गर्ने बताइएको छ । रेटेड–३ डिजाइनमा आधारित यस पूर्वाधारले बलियो ब्याकअप, रिडन्डेन्सी र विपद् पुनःस्थापनाको क्षमता प्रदान गर्ने भएकाले साइबर जोखिम वा प्राकृतिक विपत्तिका अवस्थामा समेत सेवा निरन्तरता कायम राख्न मद्दत पुग्ने कम्पनीको दाबी छ । एनसेलले यस उपलब्धिले नेपालको डिजिटल रूपान्तरणलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । स्थानीय स्तरमै सुरक्षित डाटा होस्टिङ सम्भव भएसँगै डाटा सार्वभौमिकता बलियो हुने र विदेशी पूर्वाधारमा निर्भरता घट्दै नेपाल डिजिटल हबको रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।