५ करोडमा बन्दै ‘पोखरा घर’, पर्यटन सूचना केन्द्रदेखि आर्ट ग्यालरीसम्म एउटै भवनमा
गण्डकी । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माणाधीन उक्त भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरको भवन तथा अन्य पूर्वाधार शाखाका प्रमुख इन्जिनियर लक्ष्मीप्रसाद गौतमले इलेक्ट्रिकलतर्फको मात्र काम बाँकी रहेको बताए । दुई वर्षअघि निर्माण थालिएको ‘पोखरा घर’ छिट्टै सञ्चालनमा ल्याउने तयारी छ । भूमिगत पार्किङसहितको उक्त भवनमा कोसेली घर, एकीकृत सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरीलगायत रहने जनाइएको छ । 'पहिलो तलामा कोसेली घर सञ्चालनका लागि ठेक्का आह्वानसमेत भइसकेको छ', इन्जिनियर गौतमले भने, 'पोखराको स्थानीय उत्पादन र सामग्री कोसेली घरमा रहनेछन् ।' पहिलो तलामै एकीकृत सूचना केन्द्रसमेत रहनेछ । जहाँ पोखराको पर्यटनसँग सम्बन्धित समग्र क्षेत्रका सूचना उपलब्ध हुने जनाइएको छ । दोस्रो तलामा सार्वजनिक पुस्तकालय रहनेछ । यसअघि महेन्द्रपुलमा रहेको पोखरा सार्वजनिक पुस्तकालय अबदेखि ‘पोखरा घर’बाट सञ्चालन हुने भएको हो । तेस्रो तलामा आर्ट ग्यालरी रहनेछ । सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर गौतमले जानकारी दिए । ‘पोखरा घर’ पर्यटकका लागि गन्तव्यस्थल बन्ने विश्वास लिइएको छ । पाँच करोड एक लाख ४६ हजार रुपैयाँ लागतमा बनेको यस अपाङ्गमैत्री भवनमा लिफ्टकोसमेत सुविधा रहने जनाइएको छ । ‘पोखरा घर’लाई परम्परागत वास्तुकलासहित आधुनिक प्रविधि र सामग्रीको प्रयोग गरेर निर्माण गरिएको छ । यसअघि महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी पनि अबदेखि ‘पोखरा घर’बाट सञ्चालन हुने महानगरले जनाएको छ ।
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ । धेरैजसो सेवा निःशुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या परेको हो । आर्थिक अभावका कारण निवृत्त भएका कर्मचारीले उपदान पाउन सकेका छैनन् । अस्पतालले निःशुल्क शय्या, बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको छ भने शय्या अभाव हुँदै गएपछि विस्तार गरेको छ । देशको क्यान्सर उपचारको केन्द्र रहेको यस अस्पतालमा सरकारी निकायहरूबाट भुक्तानी पाउन नसक्दा आर्थिक समस्या परेको हो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार सरकारका विभिन्न निकायबाट अस्पताललाई ४१ करोड ६७ लाख ५० हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । यसमध्ये सबैभन्दा बढी स्वास्थ्य बिमा बोर्डबाट २५ करोड ८८ लाख रुपैयाँ, सङ्घीय सरकारको विपन्न उपचारबापत १२ करोड ६७ लाख रुपैयाँ, विपन्नअन्तर्गत बागमती प्रदेशको ६२ लाख २५ हजार रुपैयाँ, लुम्बिनी प्रदेशको ९९ लाख १८ हजार र गण्डकी प्रदेशको १५ लाख नौ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी छ । भुक्तानी नपाउँदा अस्पतालले तिर्नुपर्ने दायित्व पनि बाँकी रहेको छ । कार्यकारी निर्देशक डा पौडेलका अनुसार स्पतालले तलब भत्ता, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषसहित नियमित मर्मतसम्हारलगायत विभिन्न निकायलाई भुक्तान गर्नुपर्ने १९ करोड १७ लाख १५ हजार रुपैयाँ बाँकी छ । यसबाहेक फार्मेसीमा औषधि खरिद गरेको नौ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । चालु आर्थिक वर्षमा निवृत्त भएका १८ जना कर्मचारीको चार करोड ५७ लाख रुपैयाँ उपदान रकम अस्पतालले भुक्तानी गर्न सकेको छैन । अस्पतालको मौज्दात खातामा आठ करोड २८ लाख रुपैयाँ रहेको छ । जुन रकम तलब र कर्मचारीको तीन महिनाको पठाउन बाँकी नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा पठाउँदा सकिने अवस्था छ । बाँकी भुक्तानी गर्न नसक्दा नियमित अस्पताल सञ्चालनमा कठिनाइ भएको उनले बताए । उपकरणको नियमित मर्मतसम्हार, अत्यावश्यक खरिद, औषधि खरिद जस्ता कामलाई नियमितता दिन अप्ठ्यारो भएको उनले बताए । अस्पतालमा मासिक तलब भत्ता मात्रै पाँच करोड रुपैयाँ हाराहारी हुने गर्दछ । यहाँ ९५ चिकित्सकसहित ७१३ जना कर्मचारी कार्यरत रहेका छन् । अस्पताल सञ्चालनका लागि सरकारले कर कोषबाट चालु आवमा २४ करोड १७ लाख रुपैयाँ आठ हजार बजेट दिएको थियो । अस्पतालमा कार्यकार चिकित्सक कर्मचारीका लागि तलब भत्तामा मात्रै वार्षिक ६० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ । अन्य अस्पतालकै आम्दानीबाट चल्ने गरेको छ । भौतिक पूर्वाधार र ठूला उपकरण खरिदका लागि सरकारले छुट्टै विभिन्न शीर्षकमा बजेट विनियोजन गर्ने गर्दछ । अस्पतालले हरेक वर्ष सेवासुविधा विस्तारसँगै आम्दानी बढाउँदै लगेको छ । पौडेलका अनुसार तीन वर्षअघि वार्षिक ४८ करोड रुपैयाँ आम्दानी गरेको अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा ५८ करोड रुपैयाँ र गत आर्थिक वर्ष २०८१/०८२ मा ७४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । बिरामीको सङ्ख्या बढेसँगै आम्दानी बढेको हो । आर्थिक वर्ष २०७९/०८० मा एक लाख ६६ हजार २००, २०८०/८१ मा एक लाख ८८ हजार ५१४ र गत आर्थिक वर्षमा दुई लाख नौ हजार ५९४ बिरामीले सेवा लिएका छन् । जसमध्ये आर्थिक वर्ष २०७९/८० मा चार हजार ९७ जनाको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा चार हजार १६५ र गत आर्थिक वर्षमा ६ हजार बढी शल्यक्रिया भएका छन् । अस्पतालमा अत्यावश्यक मानिएको सिटी गरिएको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । गत आर्थिक वर्षमा १३ हजार ४७९ जनाले सिटी गरेका छन् । यो सङ्ख्या २०८०/८१ मा १२ हजार ३९० र २०७९/८० मा १० हजार ९२० रहेको थियो । गत वर्षदेखि सुरु गरिएको मेमोग्राम ९५१ जनाले सेवा लिएका छन् । अस्पतालमा दैनिक एक हजार दुई सय हाराहारी बिरामी सेवा लिन आउने गर्दछन् । क्यान्सर बिरामीका लागि दिईने डे केयर सेवामा १३ शय्या थप गरिएको छ । यससँगै तीन वर्षअघि २० हजार ३५४ जनाले एक वर्षमा यो सेवा लिएकोमा गत आर्थिक वर्षमा २९ हजार ४२१ जनाले सेवा लिएका छन् । कार्यकारी निर्देशक पौडेल आफ्नो तेस्रो वर्ष कार्यकाल सकिनै लाग्दा न्यून बजेट र साधनस्रोतमा अधिकतम काम गर्न सफल भएको बताउँछन् । सेवा सुविधा विस्तार गरेसँगै आम्दानी बढेको भन्दै उनले सरकारी निकायबाट आउने भुक्तानी आएमा सञ्चालनमा सहजता हुने बताउँछन् । यही चैत १८ गते अस्पतालका अध्यक्ष डा विजय न्यौपानेको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ । जसका कारण अस्पतालको आर्थिक कारोबारमा समस्या भएको छ । उनले सेवाग्राहीको चाहनाअनुसार पूर्ण रूपमा काम गर्न कठिन भए पनि विगतका वर्षको तुलनामा सेवामा निकै सुधार भएको दाबी गरे । रासस
‘पर्यटन प्रवर्द्धनका लागि महोत्सव पर्यटन दौड : भारत र चीनबाट आउने पर्यटकमा वृद्धि’
काठमाडौं । पोखराको लेकसाइडमा आयोजित फेवा नयाँ वर्ष महोत्सवको अवसरमा पर्यटन दौड सम्पन्न भएको छ । नयाँ वर्ष २०८१ को स्वागतार्थ आयोजित यस दौडमा स्थानीय बासिन्दा, पर्यटक र खेलाडीहरू गरी ३५ जना भन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो । दौडको मुख्य उद्देश्य पोखराको पर्यटन प्रवर्द्धन र स्वास्थ्य सचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ । महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको यस दौडमा ३ किलोमिटरको विधा समावेश गरिएको थियो । दौड खहरेबाट अम्बोटसम्म भएको थियो । यस दौडमा विश्वका विभिन्न २८ देशका पर्यटकहरूले उत्साहजनक सहभागिता पर्यटन दौड संयोजक प्रतिक पहारीले बताए । अस्ट्रेलिया, क्यानडा, युरोप, भारत र चीन लगायतका विभिन्न मुलुकबाट आएका पर्यटकहरूले यस दौडमा भाग लिएका थिए । नयाँ वर्षको अवसरमा विदेशी पाहुनाहरूलाई नेपाली संस्कृतिसँग परिचित गराउने र उनीहरूलाई अपनत्व महसुस गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको पर्यटन दौड संयोजक पहारीले जानकारी दिए । २१ औँ फेवा नयाँ वर्ष महोत्सव (स्ट्रिट फेस्टिभल) को अवसरमा आयोजित यस कार्यक्रमले पोखराको पर्यटन क्षेत्रमा ठूलो ऊर्जा थपेको छ । संयोजक पहारीका अनुसार हाल पोखराका होटलहरूमा ९० देखि ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको छ, जसले व्यवसायीहरूमा उत्साह जगाएको छ । विदेशी पर्यटकहरूलाई नेपाली परम्परा र संस्कृतिसँग जोड्ने एउटा महत्वपूर्ण कडीको रूपमा यो इभेन्ट स्थापित भएको उनले बताए । उनले भने, ‘हाम्रो मुख्य योजना विदेशीहरूलाई नेपाली नयाँ वर्षको बारेमा जानकारी दिने, उनीहरूलाई सांस्कृतिक रूपमा घुलमिल गराउने र यो उत्सव उनीहरूकै पनि हो भन्ने महशुस गराउनु हो । होटल एशोसिएशनको टिम वर्कले गर्दा हामीले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्यौँ ।’ केही समयअघिको राजनीतिक आन्दोलन र अस्थिरताका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः लयमा फर्किन थालेको नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका संयोजक मोडी लामिछानेले बताए । उनले नेपाल पर्यटन बोर्ड र स्थानीय पर्यटकीय संघसंस्थाहरूको सक्रियतामा सञ्चालित ‘टुरिजम रिभाइभल’ (पर्यटन पुनरुत्थान) कार्यक्रमहरूले पोखरामा पर्यटकको चहलपहल बढाएको बताए । उनकाअनुसार जेनजी आन्दोलनका कारण करिव डेढ महिना सुस्ताएको आन्तरिक तथा वाह्य पर्यटन अहिले सुधारोन्मुख छ । पर्यटन बोर्डले होटल संघसँग मिलेर पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्नुका साथै अन्य सम्भावित स्रोत बजारहरूमा ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गरिरहेको छ । पछिल्लो समय पश्चिम एशिया (मध्यपूर्व) मा भइरहेको द्वन्द्वका कारण नेपालको पर्यटनमा केही नकारात्मक प्रभाव देखिएको छ । विशेष गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उनले जानकारी दिए । यद्यपि, पश्चिम पर्यटक घटे पनि छिमेकी मुलुक भारत र दक्षिण–पूर्वी एशियाली मुलुकहरूबाट आउने पर्यटकको संख्यामा १५ देखि २० प्रतिशतले वृद्धि भएको छ । जसका कारण समग्र पर्यटक आगमनको तथ्याङ्क गत वर्षकै हाराहारीमा रहेको छ । पर्यटन बोर्डले अब आफ्नो ध्यान दक्षिण–पूर्वी एशिया, जापान, कोरिया र अष्ट्रेलियातर्फ केन्द्रित गरेको छ । यी क्षेत्रहरूमा पर्यटन प्रवद्र्धनका लागि भौतिक उपस्थिति जनाउने, चर्चित भ्लगरहरूलाई निम्त्याउने र अन्तर्राष्ट्रिय मिडियामार्फत नेपालको प्रचार गर्ने योजना अघि सारिएको छ । उनले भने, नेपाल आउने पश्चिमा पर्यटकहरू मुख्यतया टर्की वा मध्यपूर्वी देशहरूलाई ट्रान्जिट बनाएर आउने गर्छन् । द्वन्द्वका कारण ती क्षेत्र प्रभावित हुँदा युरोप र अमेरिकाबाट हुने आगमनमा गत वर्षको मार्चको तुलनामा यस वर्ष २० देखि २२ प्रतिशतले गिरावट आएको छ ।’ नयाँ वर्षको पहिलो दिन पोखरामा पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।