१३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

प्रकाश सिलवाल काठमाडौं ।  सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी रहे पनि मुलुकका १३ हजार ७३६ सामुदायिक विद्यालयमा अझै सयभन्दा कम विद्यार्थी रहेको पाइएको छ ।       शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘शैक्षिक सूचना, २०८२’ मा कूल सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढीमा एक सयभन्दा कम विद्यार्थी देखिएका छन् । सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको यो सङ्ख्या कूल सामुदायिक विद्यालय २७ हजार १० को ५० दशमलव ८६ प्रतिशत हो । मन्त्रालयका अनुसार १०० देखि ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय १० हजार ८६९, ५०१ देखि एक हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक हजार ६७०, एक हजार एकदेखि एक हजार ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ४६७ रहेको छ । एक हजार ५०१ देखि दुई हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय १४० र दुई हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या मात्र १२८ रहेको छ । हाल मुलुकभर ३५ हजार ९५१ कूल विद्यालयमध्ये एक हजार ८७ परम्परागत र २५ हजार ६२३ सामुदायिक विद्यालय छन् । यसमध्ये आठ हजार ९४१ संस्थागत (निजी विद्यालय) छन् । सबै विद्यालयमा गरेर कूल ७० लाख ४० हजार ८२५ विद्यार्थी छन् । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी नौ सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयमा रूपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरि मै सबैभन्दा बढी आठ हजार २३९ विद्यार्थी छन् । रूपन्देहीकै तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माविमा सात हजार १२०, बुटवल उपमहानगरपालिकाकै कान्ति माविमा छ हजार ३४ र नवीन औद्योगिक कदरबहादुर रीता माविमा पाँच हजार ३४० विद्यार्थी रहेका छन् । रूपन्देहीपछि काठमाडौंमा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय छन् । काठमाडौं महानगरपालिकाको ज्ञानोदय माविमा चार हजार ७४६ र विश्वनिकेतन माविमा चार हजार ३०१ विद्यार्थी रहेको छन् । धनुषाको विदेह नगरपालिकाको जनता नमुना माविमा छ हजार दुई सय ६६, मोरङको सुन्दरहरैचा नगरपालिकाको सुकुना माविमा चार हजार छ सय ४२,  भक्तपुर नगरपालिकाको वागिश्वरी माविमा चार हजार १८५ र कपिलवस्तुको शिवराज नगरपालिकाको नेपाल आदर्श माविमा चार हजार ११४ विद्यार्थी रहेका छन् । अर्थ मन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण, २०८२/८३ मा भने पछिल्लो समयमा विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको जनाइएको छ । सरकारले स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा विद्यालय समायोजना (मर्ज) को नीतिलाई अघि बढाइरहेको छ । हालसम्म ६६२ सामुदायिक विद्यालय मर्ज भइसकेका छन् । चालु आर्थिक वर्षका लागि विद्यालय समायोजन गर्न रु ४५ करोड प्रोत्साहन रकम विनियोजन गरिएको छ ।       मन्त्रालयमा तहको शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले विद्यालय समायोजनका कार्यक्रम सञ्चालन भइरहेको र समायोजनको मापदण्डलाई परिमार्जनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय मागिएको जानकारी दिए ।   'विद्यालय तहको सञ्चालन र व्यवस्थापन संविधानत : स्थानीय सरकारको हो । हामीले स्थानीय तहलाई दुई पटकसम्म पत्राचार गरेर समायोजनको विवरण माग गरेका छौँ', प्रवक्ता पराजुलीले भने, 'हामीले विद्यार्थी सङ्ख्या कम भएको अवस्थालाई मात्रै हेरेर पनि हुँदैन । कुनै विद्यालयमा कुनै वर्ष विद्यार्थी कम हुन सक्छन्, हामीले निःशुल्क र अनिवार्य शिक्षाको दायित्वलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सम्बन्धित स्थानीय तहले आफ्नो शैक्षिक योजना अनुसार विद्यालय सुधार वा समायोजन गर्न सक्छन् ।’' प्रधानाध्यक सङ्घ नेपाल (पान) का अध्यक्ष सुदाम गौतमले सामुदायिक शिक्षाको सुधारका लागि राष्ट्रिय नीति र योजना बनाएर रूपान्तरणमा लाग्नुपर्ने बताए । कतिपय विद्यालयमा स्रोत साधनको अभावका विद्यार्थी भर्ना हुने स्थिति नभएकाले सरकारले स्रोत साधन र लगानीको निश्चित मापदण्ड बनाउनुपर्ने उनको सुझाव छ । 'कतिपय विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकसित गर्नुपर्छ । विद्यालयको निश्चित मापदण्ड बनाएर शिक्षक, समुदाय र अभिभावकलाई जिम्मेवार बनाउनुपर्छ', अध्यक्ष गौतमले भने, 'विद्यालयका लागि शिक्षक दरबन्दी छिटो मिलान गर्नुपर्छ । त्यति गर्दा पनि भए भने समायोजन वा अन्य विकल्पमा जानुपर्छ ।'       आगामी आर्थिक वर्षका बजेटमा नेपाल सरकारले गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि मुलुकभरका सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकताको ‘म्यापिङ’ गर्न रु एक अर्ब विनियोजन गरेको छ । रासस 

​​​​​​​अब पोखराबाटै सिधै दुबई उडान

काठमाडौं । अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै दुबईको लागि दैनिक उडान हुने भएको छ । फ्लाई दुबईले एक सूचना जारी गर्दै दैनिक उडान गर्ने घोषणा गरेको हो  ।  फ्लाई दुबईका अनुसार आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुवई रुटमा दैनिक उडान सञ्चालन हुन लागेको हो ।  नयाँ उडानले नेपालको दोस्रो ठूलो सहर तथा पर्यटन राजधानी पोखरालाई मध्यपूर्वसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोड्ने अपेक्षा गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित व्यावसायिक उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको हो ।  अनुमतिअनुसार ‘बोइङ ७३७’ विमान प्रत्येक दिन बिहान ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे दुबईका लागि उड्नेछ । हाल फ्लाई दुबईले काठमाडौं–दुबई सिधा उडान सञ्चालन गर्दै आएको छ । पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न सहर हो । अब अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना खुलेको छ । यसअघि विमानस्थलबाट चीन, भुटानलगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए ।  उनले केवल हवाई सेवा थपिएको विषय नभई पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर भएको उल्लेख गरे । होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले संयुक्त अरब इमिरेट्स ९यूएई० का महामहिम राजदूतसँग पर्यटन आदान–प्रदान तथा पोखरा–यूएई सिधा उडान सञ्चालनका विषयमा भएको छलफल सकारात्मक र उपलब्धिमूलक रहेको स्मरण गरे। पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले दुबई उडानले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ० का अध्यक्ष ममता न्यौपानेले पोखरा–दुबई नियमित उडानको सुरुआतले पोखराको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण अवसर सिर्जना गरेको बताइन् । दैनिक उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवा, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रु प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडानको सुरुआतसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ ।  फ्लाई दुबईले सञ्चालन गर्ने उक्त सेवाका लागि यात्रुहले कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने जनाइएको छ ।

डा. श्यामराज रेग्मीले गरे ३३ हजार बिरामीको मुटुको शल्यक्रिया

चितवन । चिकित्सा विज्ञानको क्षेत्रमा मुटुरोगको परीक्षण तथा उपचार विधिलाई तुलनात्मक रुपमा संवेदनशील र महँगो मानिन्छ ।  विशेषगरी जनचेतना र पेसाप्रति समर्पित एवं दक्ष चिकित्सकको अभाव र महँगा उपकरणका कारण मुटुरोगको परीक्षण तथा उपचारलाई तुलनात्मक रुपमा जटिल र महँगो रुपमा लिइन्छ ।      पछिल्ला दिनमा मुटुरोगका क्षेत्रमा देखिएको जनचेतना, अहोरात्र क्रियाशील दक्ष चिकित्सक र आधुनिक उपकरणसहित सुविधासम्पन्न अस्पताल सञ्चालन भएसँगै उपचार सहज भएको छ । यसै सन्दर्भमा मुटुरोग उपचारका क्षेत्रमा काठमाडौं र चितवनमा करिब २५ वर्ष सेवा गरी उदाहरणीय व्यक्तित्व बन्न सफल प्रा. डा. श्यामराज रेग्मीले हृदयाघातको लक्षण थाहा पाउनासाथ यथासक्य छिटो अस्पताल पुगी धनजनको नोक्सानी हुनबाट जोगिन सबैसँग अनुरोध गरेका छन् ।   करिब साढे दुई दशकको आफ्नो सेवाअवधिमा करिब ३३ हजार बिरामीको मुटुको शल्यक्रिया गरी बिरामीलाई राहत दिन सफल भएकामा गर्व गर्दै प्रा. डा. रेग्मीले हरेक वर्ष मुटुको परीक्षण गर्न र मुटु दुख्नासाथ ‘क्याथल्याब’ सुविधा भएको अस्पताल पुग्न पनि अनुरोध गरेका छन् ।   हाल भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा कार्यरत प्रा. डा. रेग्मीले अहिलेसम्म ३२ हजार ६६९ जनाभन्दा बढी बिरामीको मुटुको शल्यक्रिया गरी समाजमा आफूलाई एक समर्पित एवं उदाहरणीय चिकित्सकका रुपमा स्थापित भएका छन् ।       विसं २०२३ मा पर्वतमा जन्मिएका रेग्मीले काठमाडौंस्थित महारागजञ्ज क्याम्पसबाट एमबिबिएस अध्ययन पूरा गरी बङ्गलादेशको ढाकाबाट मुटुरोग विषयमा स्नातकोत्तर (एमडी) उपाधि हासिल गरेका डा. रेग्मीले अहिलेसम्म करिब ३३ हजार बिरामीको मुटुको शल्यक्रिया गरेको बताए ।     बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृृदय रोग केन्द्रबाट सेवा प्रारम्भ गरेका डा. रेग्मी हाल कार्यरत ‘सिएमसी’मा समेत गरी करिब ३३ हजार बिरामीको मुटुको शल्यक्रिया गरी उदाहरणीय चिकित्सक बन्न सफल भएका हुन् । मुटुसँग सम्बन्धित रोगको उपचारका लागि चितवनसहित आसपासका क्षेत्रमा सबैको रोजाइमा डा रेग्मी पर्न सफल भएका छन् ।     लामो समयको प्रयासपछि रासससँगको सङ्क्षिप्त कुराकानीमा प्रा.डा. रेग्मीले प्रचारभन्दा पनि सेवाप्रति समर्पित भई काम गर्ने आदत रहेकाले ‘मिडिया’मा खासै आउन नचाहेको स्पष्ट गरे । डा. रेग्मीले भने, 'गङ्गालाल अस्पतालमा रहँदा दुई हजार ५०० भन्दा बढी जन्मजात मुटुपीडित बालबालिकाको ‘एनजिओग्राम’ गरियो ।  यसैगरी दुई हजारभन्दा बढीको मुटुको ‘भल्व’ खोल्ने र १० हजारभन्दा बढीको ‘कोरोनरी एनजिओग्राफी’ गरी सेवा प्रदान गरियो ।' बाँसबारीस्थित गङ्गाल अस्पतालमा मुटुको धमनीबाट पाइप छिराएर ‘इन्टरभेन्सन कार्डियोलोजी’ प्रविधिबाट शल्यक्रिया सुरु गरेको उनले जानकारी दिए ।     विशेषगरी काठमाडौं उपत्यका बाहिरका बिरामीको सेवालाई प्राथमिकता दिँदै २०६९ काठमाडौं छोडी भरतपुरस्थित चितवन मेडिकल कलेज ‘सिएमसी’ पुगेका डा. रेग्मीले यसबीचमा १८ हजार १६९ जनाको मुटुको शल्यक्रिया गरेको बताए ।   डा. रेग्मीको नेतृत्वमा सिमसीमा ‘एनजिओग्राफी’ ‘एनजिओप्लास्टी’, पेसमेकर राख्ने, ‘पिटिएमसी’, मुटुको पानी तान्नेलगायतका काम विशेष उपकरण र प्रविधिको सहयोगमा मुटु नचिरिकन शल्यक्रिया हुनेगरेको  अस्पताल प्रशासनले जनाएको छ ।     'अस्पतालको आकस्मिक कक्षमा आउने हृदयघात पीडित बिरामीको यथासक्य छिटो शल्यक्रिया गरी धमनी खोल्ने काम गरिन्छ । मुटु रोगका बिरामीमध्ये करिब ७० प्रतिशत बिरामीको धमनी खोल्ने काम हुन्छ ।' प्रा. डा. रेग्मीले भने, 'हृदयघातको आशङ्का छ भने यथासक्य छिटो ‘क्याथल्याब’ सुविधा भएको अस्पतालमा पुर्याउनुपर्छ । अन्तरराष्ट्रिय मान्यताअनुसार आकस्मिक कक्षमा आएका त्यस्ता बिरामीलाई ९० मिनेटभित्र ‘क्याथल्याब’मा लगेर मुटु खोल्नुपर्छ भन्ने रहेको छ ।'   छाती दुखेर बहिरङ्ग सेवामा आउने बिरामीको सबैभन्दा पहिला ‘टिएमटि (ट्रेडमिल टेष्ट)’ गरेर मुटुमा कुनै समस्या देखिए ‘एनजिओग्राफी’ गरी नसा खोली उपचार प्रक्रिया अघि बढाउँदै आएको सिएमसीमा बाहिरका अस्पतालबाट ‘रिफरल’ भएर पनि मुटुका बिरामी आउने गरेको उनले स्पष्ट गरे ।   डा. रेग्मीले भने, 'मुटुमा तीन वटा मुख्य नसा हुन्छन् । कतिवटामा कस्तो समस्याअर्थात् रोकावट छ, त्यसको यकिन गरी उपचार गरिन्छ । मुटुमा पीडा हुनासाथ अस्पताल आउने बिरामीको उपचार सहज छ । ढिलो आउँदा समस्या जटिल भई खर्च धेरै हुने र बचाउन पनि कठिन हुने भएकाले हृदयघातको लक्षण थाहा पाउनासाथ अस्पताल जान सबैसँग विनम्र अनुरोध छ ।'  विशेषगरी चुरोट, सुर्तीजन्य पदार्थ र मादकपदार्थ सेवन गर्ने व्यक्ति तथा  मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल भएका बिरामीलाई हरेक वर्ष मुटुको परीक्षण गर्न उनको सुझाव छ ।   देव्रे पट्टीको छाती दुखेमा वा कहिलेकाहीँ ग्यास्ट्रिकले जस्तो पेट दुख्ने तर ग्यास्ट्रिकको औषधिले निको नभएमा मुटुको समस्या हुनसक्ने जानकारी दिँदै डा. रेग्मीले त्यस्ता बिरामीलाई परीक्षणका लागि अस्पताल जान सुझाव दिए । उनले भने, 'सहनै नसक्ने गरी छाती दुख्यो भने पनि यथासक्य छिटो ‘क्याथल्याब’ भएको अस्पताल पुग्न अनुरोध छ, अन्यथा धनजनको नोक्सानीसहित अपुरणीय क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।' रासस