काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो १ करोड ७० लाख बढीका उपकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)लाई प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । अस्पतालको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री र प्रविधिमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको हो । अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उपकरण हस्तान्तरण गरेकी हुन् ।  महानगरले उपलब्ध गराएका उपकरणमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै उपचारका लागि रकम जम्मा गर्न सकिने सुविधासहितका १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन छन् भने रिपोर्ट, परीक्षण तथा उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि प्रदान गरिएको छ ।    

६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पाको जीवितै उद्धार, ह्याम्स अस्पतालमा उपचार हुँदै

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रबाट गत ६ दिनदेखि बेपत्ता भएका हिमाल आरोहण गाइड दावा शेर्पाको जीवितै उद्धार गरी काठमाडौं ल्याइएको छ ।  गम्भीर बिरामी अवस्थामा फेला परेका शेर्पाको हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बिहीबार सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले उनलाई खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविर (बेस क्याम्प) तर्फ घस्रिँदै आइरहेको अवस्थामा फेला पारेका हुन् ।  फेला पर्नासाथ उनलाई तत्काल अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो । सगरमाथाको तेस्रो शिविर (क्याम्प ३) आसपासको क्षेत्रबाट आधार शिविर फर्किने क्रममा गाइड शेर्पा एकाएक बेपत्ता भएका थिए । उनको खोजीका लागि पर्वतारोहण टोली र हेलिकप्टर समेत परिचालन गरिए पनि लामो समयसम्म उनको स्थिति पत्ता लाग्न सकेको थिएन । ६ दिनसम्मको प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद बिहीबार उनी आइसफल क्षेत्रमा घस्रिँदै गरेको अवस्थामा फेला परेपछि उद्धार टोलीले उनलाई तत्काल आधार शिविर पुर्‍याएको थियो । लामो समय हिउँमा बिताएका कारण शेर्पाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको जनाइएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार अत्यधिक चिसोका कारण उनको हात र खुट्टा हिउँले खाएको छ ।  हाल ह्याम्स अस्पतालका चिकित्सकहरूको विशेष निगरानीमा उनको उपचार कार्य अगाडि बढाइएको छ ।

क्वेस्टको आम्दानी २.९० अर्ब, डेढ सय करोडमा नयाँ कारखाना बन्दै

काठमाडौं । क्वेस्ट फार्मास्युटिकल्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा १ अर्ब ३७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ९० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १.७१ प्रतिशत अर्थात् ४ करोड ९० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ८५ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  त्यसैगरी, कम्पनीले आव २०७९/८० मा २ अर्ब ५४ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ३२ करोड ३० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ९५ करोड रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ८० करोड १४ लाख रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ३० करोड ४१ लाख रुपैयाँ, आव २०७३/७४ मा १ अर्ब १९ करोड ४५ लाख रुपैयाँ र आव २०७२/७३ मा ९४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  सन् १९९९ मा स्थापना भएको क्वेस्ट फार्मास्युटिकल्स औषधि उत्पादन गर्ने कम्पनी हो । कम्पनीले रिभर्स इन्जिनियरिङ प्रविधिको प्रयोग गर्दै विभिन्न औषधिहरू उत्पादन गर्दै आएको छ । सन् २००१ मा कम्पनीले आफ्नो पहिलो औषधि ‘एमलोड-एमलोडिपिन बेसिलेट’ हृदयसम्बन्धी रोग उपचारका लागि बजारमा ल्याएको थियो । त्यसयता कम्पनीले हृदयरोग, मधुमेह, छाला रोग तथा कोलेस्ट्रोल नियन्त्रणसम्बन्धी औषधि उत्पादन गर्दै आएको छ । हाल कम्पनीले २५ भन्दा बढी औषधि समूहअन्तर्गत १०० भन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेको छ । विशेषगरी मधुमेह र हृदयरोग उपचारसम्बन्धी औषधि उत्पादनमा कम्पनी देशका प्रमुख स्वदेशी उत्पादकमध्ये एक मानिन्छ । सन् २०२६ जनवरी मध्यसम्मको विवरणअनुसार कम्पनीको सेयर १५ जना व्यक्तिबीच बाँडिएको छ । जसमध्ये उमेश लाल श्रेष्ठ, पृथ्वी राज भण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद वर्माको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी सेयर कम्पनीका निर्देशकहरूको परिवार तथा व्यावसायिक साझेदारहरूको स्वामित्वमा रहेको छ । क्वेस्टले प्रत्यक्ष रूपमा करिब ७ सय जनालाई रोजगारी दिइरहेको छ । कम्पनीसँग दुई सुपर डिस्ट्रीब्युटरमार्फत सञ्चालित सुदृढ वितरण सञ्जाल रहेको छ, जसले देशभर औषधिको सहज आपूर्ति सुनिश्चित गरेको छ । दीर्घकालीन रोगसम्बन्धी औषधि कम्पनीको प्रमुख आम्दानी स्रोत रहँदै आएको छ । कम्पनीका अनुसार पछिल्ला ४-५ वर्षमा यस्ता औषधिबाट कुल आम्दानीको औसत ५५ प्रतिशत हिस्सा प्राप्त भएको छ ।  कम्पनीले भक्तपुरको खारीपाटीमा डेढ सय करोड लगानीमा अनुसन्धान तथा विकास केन्द्र निर्माण गरिरहेको छ । कम्पनीका अनुसार यो विस्तार योजना नवप्रवर्तन तथा उत्पादन विविधीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो । जसबाट अरू नयाँ औषधीहरू पनि बजारमा ल्याउने योजना छ । कम्पनीका अनुसार नेपालको औषधि बजार पछिल्ला वर्षहरूमा वार्षिक १० देखि १५ प्रतिशतको दरले विस्तार भइरहेको छ । यद्यपि, स्वदेशी औषधि उद्योग अत्यन्त प्रतिस्पर्धात्मक रहेको छ । हाल नेपालमा ५० भन्दा बढी औषधि उत्पादक कम्पनी सञ्चालनमा छन् । उद्योगमा क्षमता विस्तार भइरहेका कारण आगामी दिनमा प्रतिस्पर्धा थप तीव्र हुने तथा मूल्य र नाफा मार्जिनमा दबाब पर्न सक्ने कम्पनीको भनाइ छ । त्यसैगरी, औषधि आयातमा कम अवरोध भएकाले विशेषगरी ठूलो उत्पादन क्षमता भएका भारतीय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न स्वदेशी उत्पादकहरूलाई चुनौती रहेको कम्पनीले जनाएको छ । कम्पनी आफ्ना अधिकांश कच्चा पदार्थ, सक्रिय औषधीय तत्व तथा प्याकेजिङ सामग्रीका लागि आयातमै निर्भर छ। यसले आपूर्ति शृङ्खला अवरुद्ध हुने जोखिम बढाएको कम्पनीको भनाइ छ । यस्तै, सन् २०२६ नोभेम्बरदेखि नेपाल ‘अल्पविकसित मुलुक’को सूचीबाट स्तरोन्नति हुने सम्भावनासँगै हाल प्राप्त केही नियामकीय सुविधाहरू घट्न सक्ने जोखिम पनि देखिएको छ । यद्यपि, उक्त स्तरोन्नतिको समयसीमा थप लम्बिन सक्ने सम्भावना रहे पनि दीर्घकालीन रूपमा कम्पनीहरूले आफ्नो सञ्चालन क्षमता थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब ५३ करोड २० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ८० करोड २० लाख रुपैयाँ दीर्घकालीन र ७३ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । यसअघि कम्पनीको कुल ऋण १ अर्ब ५७ करोड ९० लाख रुपैयाँ रहेको थियो ।