बैंकको भन्दा बढी कमाइ, पर्यटनमा तहल्का पिट्दै ओशो वर्ल्ड ट्राभल
काठमाडौं । पर्यटन क्षेत्रले एउटा लय समातेको देखिएको छ । कोरोना महाकारीका कारण सुस्त बनेको पर्यटन क्षेत्र पछिल्लो समय भने चलायनमा भइरहेको विभिन्न कम्पनीको व्यवसाय वृद्धिले देखिएको छ । काठमाडौंको ठमेलमा रहेको ओशो वल्र्ड ट्राभलले हालै सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले सन्तोषजनक आम्दानी गरेको छ । विगतका वर्षहरुको तुलनामा यस कम्पनीको आम्दानी बढ्दै गइरहेको छ । पछिल्लो पाँच वर्षको अवधिमा यस कम्पनीको सञ्चालन आम्दानी २२९ प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीले सन् २०२४ मा ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन सन् २०२० को तुलनामा २२९ प्रतिशत बढी हो । सन् २०२० मा यस कम्पनीले कुल २ अर्ब ९३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, यस कम्पनीले सन् २०२३ मा ७ अर्ब ८७ करोड ९० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा २२.८३ प्रतिशतले आम्दानी बढेको देखिएको छ । यस्तै, सन् २०२२ मा ५ अर्ब ११ करोड ४० लाखर सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी वाणिज्य बैंकको भन्दा पनि बढी हो । पछिल्लो समय वाणिज्य बैंकको सञ्चालन आम्दानी पनि औसतमा २÷३ अर्ब रुपैयाँ मात्रै हुने गरेको छ । आम्दानी बढेपनि यस कम्पनीको नाफा अनुापत भने केही घटेको देखिन्छ । पछिल्लो समय व्यावसायिक प्रतिस्पर्धाको कारण सञ्चालन नाफामा विगतको तुलनामा केही कमी आएको कम्पनीको धारणा छ । विभिन्न नीतिगत परिवर्तन, मौसमी उतारचढाव, आर्थिक मन्दी, कोरोना महामारी जस्ता संकट, भू–राजनीतिक जोखिम लगायत कारणले कम्पनीको व्यवसायमा प्रभाव परेको कम्पनीको दाबी छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यस कम्पनीले एक अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । यस कम्पनीले अन्तर्राष्ट्रि हवाइ टिकेटिङको काम गर्दै आएको छ भने टुर प्याकेज बिक्री तथा होटल सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेको छ । विदेशी पर्यटकलाई नेपाल भित्र्याउनका लागि पनि यस कम्पनीले भूमिका खेल्दै आएको छ भने उनीहरुले चाहेको टुर प्याकेज तथा सेवासुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यस कम्पनीको नेतृत्व श्यामराज थपलियाले गर्दै आएका छन् । यस कम्पनीमा उनको ९० प्रतिशत सेयर स्वामित्व छ । सन् १९९२ बाट सञ्चालित यो कम्पनी ट्राभल कम्पनीमा एउटा परिचित नाम हो । नेपालको पर्यटन सम्भावना, सरकारको पर्यटन दशक घोषणा र सरकारको पर्यटनमैत्री नीतिगत व्यवस्थाले आगामी दिनमा थप व्यवसाय विस्तार हुन सक्ने अपेक्षा कम्पनीको छ ।
मेडिकल व्यवसायी भन्छन् : बैंकको ब्याज कम हुँदा लगानी गर्नुहुन्थ्यो, सरकारले वातावरण नै बनाएन
काठमाडौं । आठौं मेडिकल तथा ल्याब एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन अफ नेपाल (केमसन) एस.डी प्रोमोको संयुक्त आयोजनामा एक्सपो सुरु भएको हो । बिहीबारदेखि सुरु भएको एक्सपोमा नेपाल र भारतका मेडिकल व्यवसायीहरूले मेडिकल तथा ल्याब क्षेत्रका उपकरणहरू प्रदर्शन गरिरहेका छन् । तीन सयभन्दा बढी स्टल रहेको प्रदर्शनीमा व्यवसायीहरूले आ-आफ्नो क्षेत्रका सामग्रीहरू प्रदर्शनीमा राखेका छन् । जहाँ मेडिकल तथा ल्याबमा आएका नयाँ प्रविधि र उपकरणबारे मेडिकल व्यवसायी र चिकित्सक र नर्स लगायत स्वास्थ्यकर्मीले प्रत्यक्ष अवलोकन गर्न सक्ने छन् । एक्स्पोमा देशभरका चिकित्सक तथा स्वास्थ्यसँग सरोकार राख्ने व्यक्ति सहभागी भएका छन् । उनीहरूले मेडिकल उपचारमा नयाँ प्रविधिहरू बारे प्रत्यक्ष सहभागी भएर हेर्न सक्ने केमसन नेपालका अध्यक्ष भक्त बहादुर हमालले बताए । ‘यो भन्दा पहिले यस्तो एक्स्पो हुँदैन थियो, सामग्रीबारे जानकारी लिन कि अनलाइन हेर्नुपर्थ्याे, कि क्याटलग हेर्नुहेर्नुपर्थ्याे, यसरी प्रत्यक्ष सामान देख्ने-हेर्न पाइँदैन्थ्यो, यो एक्स्पोमा उहाँहरू आफै आएर उपकरणको बारेमा जानकारी लिन सक्नुहुन्छ,’ उनले भने । हमालले एक्स्पोले स्वास्थ्य क्षेत्रमा लागेकाहरूलाई नवीन प्रविधिबारे अवलोकनसँगै एक अर्का व्यवसायी बिच चिनजान तथा सम्बन्ध बढाउने अवसर समेत दिएको बताए । ९९ प्रतिशत सामग्री आयात नेपालका अस्पतालमा प्रयोग हुने अधिकांश सामाग्री आयातित हुन् । केमसन नेपालका अध्यक्ष हमालले औषधी बाहेक मेडिकल र ल्याबका ९९ प्रतिशत सामग्री आयात हुने गरेको जानकारी दिए । उनले नेपालको एक प्रतिशत कम्पनीले केही सामग्री उत्पादन गरेपनि अधिकांश सामग्री विदेशबाट आयात भइरहेको बताए । विभिन्न व्यवसायीले विश्वका अधिकांश देशबाट आयात गरेका सामग्री नेपालका मेडिकल र ल्याबमा प्रयोग भइरहेका छन् । व्यवसायीहरूले जर्मन, जापान लगायत विभिन्न देशबाट आयात गरेका नविनतम् उपकरण तथा सामग्री प्रदर्शनीमा राखेका हुन् । नेपालमा यस्ता सामग्री किन उत्पादन हुन सकेको छैन भन्ने प्रश्नमा हमालले भने,‘ नेपालमा ठूलो मार्केट छैन, हामीले नेपालमै उत्पादन गर्नुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठाउँदै आएका हौं, तर यहाँ वातावरण नै छैन ।’ अहिले नेपालमा सिरिञ्ज लगायत केही सामग्री उत्पादन हुँदै आएका छन् । हमाल अब नेपालमै ३०/४० प्रतिशत पुर्याउन सक्नुपर्ने बताउँदै यसका लागि सरकारले त्यो खालको वातावरण बनाउनुपर्ने बताउँछन् । उनले राम्रो वातावरण नहुँदा व्यवसायीहरू लगानी गर्न इच्छुक नरहेको बताए । ‘अहिले देशमा लगानी नभइरहेको अवस्था छ,’ उनी भन्छन्,‘ बैंकमा पैसा छ ब्याज पनि कम छ, तर लगानी गर्न कोही पनि व्यवसायी उत्साहित छैनन्, यो उत्साहित हुने वातावरण बनाउन नेपाल सरकारले सक्नुपर्छ ।’
काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौं शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । बिहीबार यहाँ आयोजित पत्रकार सम्मलेनमा कामपाका प्रवक्ता नविन मानन्धरले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचिका साथै अभिभावकको चाहनाअनुरुप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको उनले बताए । मेलामा महानगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रम समावेश गरिने छ । साथै मेलामा महानगरको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्ने छन् । विभिन्न ३५ वटा शैक्षिक उपसमूहका स्टल रहने मेलामा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने जनाइएको छ । नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायनलगायत प्रस्तुति समावेश गरिनेछ । विद्यार्थी नमूना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, ‘बुक फ्री फ्राइडे’को बाबा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी ‘स्केचिङ’को नमूना प्रदर्शनी, नतिजा सुधारका असल अभ्यासको आदानप्रदान तथा महानगरका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्रको व्यवस्था गरिने प्रवक्ता मानन्धरले जानकारी दिए । उनका अनुसार मेलामा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच छलफल गरिनेछ । महानगरभित्र ८७ सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ विद्यार्थी अध्ययनरत छन् । महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको बताए । उनका अनुसार यसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सीप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रम सञ्चालन भइरहेका छन् । विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् । यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य छ । महानगरपालिकाले सञ्चालन गरेका यी कार्यक्रमलाई लक्षित समुदाय, वर्ग र व्यक्तिसम्म पुर्याउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।