स्वास्थ्य मन्त्री भन्छन् : अबदेखि अस्पतालमा स्वास्थ्य बीमाको औषधी छैन भनेर बिरामीलाई फर्काउन पाइन्नँ
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आइतबार अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो, तोकिएका औषधि अनिवार्य राख्नुपर्छ, सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्नुपर्छ,’ उनले भने । उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ । बीमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ । इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे । सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेको बताए । ब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि बताए । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए । अस्पताल तथा स्वास्थ्य चौकीहरूले समेत आफूले गर्न सक्ने मात्र काम गर्नेगरी मन्त्रालयमा माग गर्नुपर्ने बताए । पूर्वाधार र औजारका विषयमा समेत जिल्ला अस्पतालले माग गर्नुपर्ने उनको भनाइ छ । आवश्यकतानुसार माग भए सम्बोधन गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने भन्दै उनले आवश्यकतानुसार माग हुनुपर्ने धारणा राखे । तीनै तहका सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले फरक–फरक नीति बनाएर काम हुन नसक्ने भन्दै उहाँले एउटै नीति अवलम्बन गरिनुपर्ने उनले धारणा राखे । इलाम अस्पतालले स्वास्थ्यमन्त्री पौडेललाई लिखित ज्ञापनपत्र बुझाउँदै अस्पतालको भौतिक संरचनाका विषयमा जानकारीसहित थप गर्नुपर्ने विषयमा माग गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।
सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी भइन् । उनी भारतीय विद्यालयमा पढ्छिन् । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आएकी छन् । नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताए । कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त कतिपयले भारतमै कोठा भाडामा लिएर पढाउने गरेका छन् । नेपालतर्फ विद्याल विद्यार्थी अभावले बन्द भएका कारण समस्या भएको छ । मानेभन्ज्याङका विभिन्न विद्यालयमा सो क्षेत्रका धेरै विद्यार्थी पढ्ने गरेका छन् । उच्च शिक्षा हासिल गर्न पनि भारतीय विद्यालयकै भर पर्नुपरेको छ । प्राथमिक तहमा स–साना बालबालिका भारतमा पढाउनुपर्दा अभिभावक पिरोलिएका छन् । यता विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालय बन्द भएका छन् । सो क्षेत्रमा नेपालमा निजी विद्यालय छैनन् । भारतसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा गाउँगाउँमा भएका सामुदायिक विद्यालय बन्द भएका कारण उतै पढ्नुपर्ने बाध्यता छ । कम जनसङ्ख्या भएको सो क्षेत्रमा बालबालिकाको समेत कमी छ । उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिका सीमा क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएको छ । जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट नै पढाउन भारतीय क्षेत्रमा अभिभावकसँगै गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए । लेकाली क्षेत्र भएका कारण बस्ती पातलो छ । जनघनत्व पनि कम छ । नौ वर्षअघि सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको स्थानीय डोमा शेर्पाले बताइन् । कक्षा ५ सम्मसम्म अध्यापन हुने सो विद्यालय विद्यार्थी अभावका कारण २०७२ सालमा बन्द भएको हो । जौबारीबाट मात्र हाल १४ विद्यार्थी भारत अध्ययनका लागि जाने गरेका छन् । भित्तेमा रहेको विद्यालयसमेत तीन वर्षअघि अन्यत्र सारिएको छ । सो विद्यालय बन्द भएपछि झन समस्या भएको स्थानीयको भनाइ छ । सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, माईजोगमाई–२ मेग्मामा सञ्चालित सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कै मजुवामा रहेको प्राथमिक विद्यालय बन्द छन् । नेपालतर्फ नजिक विद्यालय नभएको स्थानीय बताउँछन् । माईजोगमाई–२ स्थित ज्योति विद्यालय पुग्न चार घण्टा लाग्छ । अन्य गाउँपालिकाको केन्द्र नयाँ बजारमा जानुपर्ने बाध्यता छ । नयाँबजारको विद्यालय पुग्न पनि तीनदेखि चार घण्टा लाग्छ । लामो समय धाएर बालबालिकालाई विद्यालय पुर्याउँदा अभिभावकले काम गर्न भ्याउँदैनन् । घरका एक जना बालबालिकालाई विद्यालय पुर्याउन र घरसम्म ल्याउन खटिनुपर्ने उनीहरूको भनाइ छ । जौबारी, गुराँसे, मेग्मालगायतबाट करिब ३५ विद्यार्थी नेपालको विद्यालय जानबाट वञ्चित भएका माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीले बताउनुभयो । सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाले समेत नेपालमा पढ्न पाउँदैनन् । उनीहरू पनि नजिकको भारतीय विद्यालय नै जानुपर्ने बाध्यता छ । ‘एउटै विद्यार्थीलाई पढाउन पनि धेरै खर्च हुन्छ । छात्रावास राख्नुपर्छ । नभए कोठा भाडामा लिएर बस्नुपर्छ’, स्थानीय फुर्वा शेर्पाले भने । सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै विद्यालय जाने गरेका छन् । कतिपयले बसमा विद्यार्थी पठाउने गरेका छन् । मानेभन्ज्याङ तुमलिङबाट ११ किलोमिटरको दूरीमा छ । केही अभिभावकले सो दूरीमा अन्य सवारीसाधन प्रयोग गरेर पनि विद्यालय पठाउने गरेका छन् । रासस
एनसेलको नयाँ स्किम ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, ८ जीबीसम्म बोनस डेटा
काठमाडौं । एनसेलले कुनै पनि प्याक किन्दा निःशुल्क बोनस रिसोर्स-डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्ने नयाँ स्किम सार्वजनिक गरेको छ । ‘म्याजिक रिसोर्सेस’ बोनस अफर अन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्ट खरिद गर्दा ८ जीबीसम्म डेटा वा दुई सय मिनेटसम्म अन-नेट टक टाइम बोनस दिने भएको छ । कम्पनीका अनुसार यो अफर बिहीबार (फागुन १५) देखि लागू भइसकेको छ । कम्पनीले हालै अन लिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्न सधैँ अन रिन्यूअल प्याक सञ्चालनमा ल्याएको थियो । शुक्रवार सार्वजनिक नयाँ स्किम प्याक खरिद गर्ने ग्राहकहरूको लागि मात्र मान्य हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ‘म्याजिक रिसोर्सेज’बोनस अफर अन्तर्गत, सधैँ अन रिन्यूअल प्याक, होम एन्ड अवे प्याक, अन लिमिटेड भ्वाइस, अन लिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्नेछन् । नयाँ अफरमा सधैँ अन रिन्यूअल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन-नेट टक टाइम, वा १० देखि २ सय अन–नेट एसएमएस बोनसका रूपमा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।सात दिन समयसीमा रहेको दुई सयको कम्बो प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अन लिमिटेड डेटासँगै बोनस बापत २ जीवी डेटा वा ५० मिनेट अन–नेट टक टाइम, वा १० अन–नेट एसएमएस प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै, ४ सय ९९ को अन लिमिटेड भ्वाइस रिन्यूअल प्याकमा ग्राहकहरूले ५ जीवी डेटा वा एक सय मिनेट अल नेट टक टाइम, वा एक सय अन-नेट एसएमएस बोनस प्राप्त गर्न सक्नेछन् ।