एकै विद्यालयका ८ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए । विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा २ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए ।  कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा पेप्सोडेन्ट नेपालले देशभर गर्‍यो विभिन्न कार्यक्रम

काठमाडौं । पेप्सोडेन्ट नेपालले विभिन्न समुदाय र वर्गहरूमा दन्त स्वास्थ्यसम्बन्धी चेतना जगाउने विभिन्न कार्यक्रमहरू देशभर सञ्चालन गरेको छ । कम्पनीले विश्व मौखिक दिवस २०२५ को अवसर पारेर ती कार्यक्रम सञ्चालन गरेको हो । पेप्सोडेन्ट नेपालले डेन्टल स्टुडेन्ट्स सोसाइटी नेपाल (डीएसएन) सँगको सहकार्यमा गुहेश्वरी मावि सिनामंगल, बीआइए इन्स्टिच्युट जोरपाटी र चितवन मेडिकल कलेजमा मुखको स्वास्थ्यका लागि सचेतना कार्यक्रम र निःशुल्क दन्त शिविर सञ्चालन गरेको हो । त्यस्तै, बिहीबार विश्व मौखिक दिवसका दिन डीएसएसएन र नेपाल डेन्टल एसोसिएसनसँगको सहकार्यमा बसन्तपुरबाट नक्सालसम्म २५० दन्त चिकित्सक र विद्यार्थीहरूको सहभागितामा ‘रन फर ओरल हेल्थ’ म्याराथन आयोजना गरिएको छ । यसका साथै यो सहकार्यले ‘स्माइल गार्जियन प्रोजेक्ट’ मा पनि योगदान गर्ने कम्पनीले विश्वास लिएको छ । यो कार्यक्रमअन्तर्गत नेपालका अनाथ आश्रममा रहेका १ हजार ५ सय अनाथ र विपन्न बालबालिकालाई दन्त उपचार प्रदान गरिने कम्पनीको भनाइ छ । त्यस्तै, डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपाल (डीएस्एचएएन) सँगको सहकार्यमा १ हजार ८ सयभन्दा बढी ट्राफिक प्रहरीलाई निःशुल्क दन्त जाँच सेवा प्रदान गरेको छ । त्यसैगरी, कम्पनीले पोखरामा ‘तेस्रो अन्तर्राष्ट्रिय ओरल हेल्थ समिट २०२५’ आयोजना गरेको छ । कम्पनीले विभिन्न प्रदेशका दुर्गम क्षेत्रहरूमा रहेका मुसहर, राउटे र चेपाङ जस्ता विपन्न आदिवासी समुदायलाई निःशुल्क दन्त परीक्षणका साथै दन्त स्वास्थ्य किट पनि वितरण गरेको छ ।

‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक

काठमाडौं ।  नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ आगामी चैत १६ देखि वैशाख १३ सम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५’ का लागि धनगढी एफसीको मुख्य प्रायोजक बनेको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे सम्झौता गरिएको हो । सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरे । यस प्रायोजनमार्फत माईसेकेन्ड टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड्ने लक्ष्य राखेको छ । सहकार्यबारे जानकारी दिँदै माईसेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले आगामी नेपाल सुपर लिगमा धनगढी एफसीसँग सहकार्यले, नेपालको शिक्षा सँगसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । ‘माई सेकेन्ड टिचर नपालले प्रविधिको माध्यमबाट नेपालले शिक्षाको रूपान्तरणमा कार्य गर्दै आएको छ,’ भट्टराईले भनिन्, ‘यो सहकार्य प्रविधि र नवप्रवर्तनसहितको शिक्षालाई खेलकुदसँग जोड्ने महत्त्वपूर्ण कदम हो ।’ यसै गरी धनगढी एफसीका अध्यक्ष सुवास शाहीले माईसेकेन्ड टिचरसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै यस सहकार्यले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावनाको उजागार गरेको विचार व्यक्त गरे। यसबाट फुटबलको व्यवसायीकरणमा सहयोग पुग्ने विश्वास शाहीको छ । माई सेकेन्ड टिचर नेपाल र धनगढी एफसीबिच आगामी दिनमा ग्रासरुटदेखि राष्ट्रिय स्तरसम्म शिक्षा र खेलकुदको विकासमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी पनि भएको कार्यक्रममा जानकारी दिइएको थियो ।